‘पुस्तकविहीन शुक्रबार’मा सूचीकृत हुन संघ–संस्थालाई आह्वान

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण

‘पुस्तकरहित शुक्रबार कार्यक्रम’अन्तर्गत १ देखि ८ कक्षासम्म व्यावहारिक–प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक संघ–संस्थाले विद्यालयमा सूचीकृत हुन पाउने भएका छन् । कक्षा ९ र १० मा भने गत शुक्रबारदेखि नै ‘शिक्षामा सीप’ तालिम कार्यक्रम सञ्चालन भइसकेको छ ।

यसका लागि विद्यालयले तालिम प्रदायक संघ–संस्थालाई सूचीकृत गरेर सेवा लिन थालेका हुन् । काठमाडौं महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइराला भन्छन्, ‘यसरी सञ्चालन हुने कार्यक्रमका लागि हामीले छुट्टै बजेटको व्यवस्था गरेका छौँ । यो बजेट हामी विद्यालयमा पठाउँछौँ । विद्यालयले आफैँ कार्यक्रम सञ्चालन गर्नेछन् ।’ ‘पुस्तकरहित शुक्रबार कार्यक्रम’ गत वर्षदेखि सुरु भएको कार्यक्रम हो ।

सूचीकृत हुनेले चालू आर्थिक वर्षको अन्त्यसम्म बिदा र परीक्षाको अवधि कटाएर १५ वटा शुक्रबार लागि शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । हरेक शुक्रबार ६ घण्टाका कक्षा हुनेछन् । ‘पाठ्यक्रम, दररेटसहित खर्चको प्रस्ताव, कार्यक्रम सञ्चालनका लागि प्रयोग गरिने सामग्रीको विवरणसहित प्रस्तावकले आफूले तालिम सञ्चालन गर्न चाहेका विद्यालय सूचीकृत हुन सक्नेछन्,’ सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले भने । 

कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बाल समूहहरू गठन गरिसकिएको छ । कारागारभित्रका, फरक क्षमता भएका बालबालिकाका सञ्चालन भएका र रात्रिकालीन विद्यालयबाहेक ८१ वटा विद्यालयमा समूह गठन गरिसकिएको हो । शुक्रबारको कार्यक्रमका लागि १५ वटा विषय राखिएका छन् ।

विद्यार्थीको संख्या र रुचि, विद्यालयको परिवेश, शिक्षक, प्रधानाध्यापक र सम्बन्धित सरोकारवालाको सुझावका आधारमा यी विषय तथा उपसमूह निर्धारण गरिएका हुन् । 
 

See More On

सुझावित समाचार