श्रीलंकाका विदेशमन्त्री बुधबार आउँदै

सोमबार, २ पुष, २०८०
डिजिटल संस्करण

श्रीलंकाका विदेशमन्त्री अली साब्री तीनदिने भ्रमणका क्रममा बुधबार काठमाडौं आउने भएका छन्। 

नेपाल श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन अली काठमाडौं आउन लागेका हुन्। श्रीलंकाको विदेश मन्त्रालयले सोमबार विज्ञप्तिमा जनाएअनुसार परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो। 

‘संयुक्त आयोगको उद्घाटन सत्रमा सहभागी हुन विदेशमन्त्री साब्री नेपालको भ्रमणमा जान लागेका हुन्,’ श्रीलंकाको विदेश मन्त्रालयले भनेको छ। श्रीलंकाको प्रतिनिधिमण्डलसहित उनी आउन लागेका हुन्। 

नेपालका लागि श्रीलंकाली राजदूत जनरल सुदर्शना पाथीरानाले सोमबार परराट्रमन्त्री एनपी साउदसँग भेटेर भ्रमणबारे छलफल गरेका छन्।

संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत दुई देशका द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने श्रीलंकाली विदेश मन्त्रालयले जनाएको छ। 

बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी-पत्रमा हस्ताक्षरसमेत हुने कार्यक्रम छ। श्रीलंकाली विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उनी शुक्रबार स्वदेश फर्किनेछन्। 

सुझावित समाचार