पश्चिम सहरका आन्तरिक पर्यटकलाई पोखरा भ्रमणका लागि बोलाउन शुक्रबारदेखि ‘जाऔँ है पोखरा’ अभियान सुरु भएको छ । होटेल संघ पोखरा र नेपाल पर्यटन बोर्डको आयोजनामा सुरु अभियान ३ पुससम्म चल्नेछ ।
अभियानअन्तर्गत शुक्रबार पोखराबाट आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघका पदाधिकारी, पर्यटन बोर्डका प्रतिनिधि, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठसहित २० जनाको टोलीले यात्रा सुरु गरको छ । टोलीले भैरहवा, नेपालगन्ज, धनगढी र महेन्द्रनगरमा पत्रकार सम्मेलनसँगै स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवाला पक्षसँग अन्तक्र्रिया गर्नेछ ।
कोरोनापछि सुस्ताएको पर्यटन क्षेत्रलाई जगाउन पश्चिमका सहरका पर्यटकलाई पोखरालगायत आसपासको क्षेत्रको भ्रमणका लागि निम्ता दिने संघका अध्यक्ष सुवेदीले जानकारी दिए । अभियानले पोखरासँगै पश्चिमका सहरमा आन्तरिक पर्यटनलाई पुनरुत्थान गर्ने दाबी सुवेदीको छ । हामीले उताका पर्यटकलाई यता आओ मात्र भन्दैनौँ, पोखरासँगै आसपासका आन्तरिक पर्यटकलाई पश्चिमका सहरमा जान प्रेरित पनि गर्छौँ भन्दै सुवेदीले अभियानलाई विगतदेखि संघले प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले अभियानले दुवैतर्फ पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने जानकारी दिँदै पोखरा आसापासका पर्यटकीय क्षेत्रको जानकारी जाने सहरहरूमा दिने र गएको टोलीले पोखरा फर्किएर पश्चिमका सहरहरूको भ्रमणमा जाऔँ भनी प्रचार गर्ने मुख्य उद्देश्य अभियानको रहेको बताए ।