मुग्लिङ सडकखण्डको मध्य भाग गाईघाटबाट ठाडै उक्लिएपछि करिब एक घण्टाको पैदल यात्रामा पुगिन्छ कमलपुर। भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा पर्ने यो स्थानमा गुरुङ, चेपाङ, दलितलगायतका जातजातिको बसोबास छ।
मुख्यतया कोदो, मकैको खेती हुने यो गाउँको भिरालो जमिन सधैँ हरियाली देखिन्छ। यही भिरालोमा छ राष्ट्रिय आधारभूत विद्यालय कमलपुर। कक्षा ५ सम्म पढाइ हुने यो विद्यालयमा २७ जना विद्यार्थी छन्। यी विद्यार्थीका प्रधानाध्यापक हुन् कर्णबहादुर गुरुङ। उनी २५ वर्षका मात्रै भए। गुरुङ सम्भवतः नेपालकै कान्छा हेडसर हुन्। उनलाई चितवनमा कान्छा हेडसरको रूपमा चिनिन्छ।
शुक्रबार बिहान १० नबज्दै हेडसर कर्णबहादुर विद्यालयबाहिरको बाटोमा बसेर विद्यार्थीलाई स्वागत गरिरहेका थिए। २५ वर्षे हेडसरले विद्यार्थीलाई छोराछोरी भनेर सम्बोधन गर्दथे। विद्यार्थीहरू पनि खुसी भएर सरलाई नमस्कार गर्थे। हेडसरले सबै विद्यार्थीलाई बाहिरै बस्न अनुरोध गरे। मंसिरको पहारिलो घाममा विद्यार्थी पनि खुसी भएर बाहिरै बसे। ठीक १० बजेतिर एसओएस बालग्राम भरतपुरका निर्देशक राजेन्द्र लम्साल र बालग्रामअन्तर्गतकै परिवार सबलीकरण कार्यक्रम प्रमुख शारदा पाण्डेसहितको टोली शैक्षिक सामग्री लिएर सोही विद्यालयमा पुगे।
लम्साल र पाण्डेले बालबालिकालाई हातैमा झोला र स्विटर थमाए। विद्यार्थीका ती सामग्रीलाई शिक्षक, शिक्षिका र अभिभावकले समाइदिन सहयोग गरे। झोलामा कापी, कलम, सिसाकलम, ज्यामिती बक्सलगायतका सामग्री थिए। जाडोमा लगाउन मिल्ने ऊनीको स्विटर र शैक्षिक सामग्री पाएर विद्यार्थी खुसी देखिए।
बालग्रामको शैक्षिक सामग्री सहयोग कार्यक्रमअन्तर्गत यी सामग्री उपलब्ध गराइएको बालग्रामका निर्देशक राजेन्द्र लम्सालले बताए। भरतपुर महानगरको विकट मानिने यस क्षेत्रमा विपन्न वर्गको बसोबास छ। ‘माध्यमिक शिक्षालाई सरकारले निःशुल्क गरे पनि पढाइका लागि चाहिने अरू खर्च जुटाउन यहाँका अभिभावकलाई समस्या छ,’ प्रधानाध्यापक कर्णबहादुर गुरुङले भने, ‘अभिभावकलाई समेत सहुलियत हुने गरी यसरी शैक्षिक सामग्री र लुगाफाटो सहयोग आउँदा आफ्ना विद्यार्थीलाई स्कुल पठाउन अभिभावकलाई सजिलो हुन जान्छ।’
विपन्न र सहयोग आवश्यक रहेको ठाउँको पहिचान गरी सहयोग जुटाउँदा सबैलाई फाइदा हुने एसओएस बालग्राम परिवार सबलीकरण कार्यक्रम प्रमुख शारदा पाण्डेले बताइन्। कमलपुरका २७ जना विद्यार्थीलाई शैक्षिक सामग्री र स्विटर गरेर ८० हजार रुपैयाँबराबरका सामग्री उपलब्ध गराइएको उनले जानकारी दिइन् ।