हमासको आक्रमणमा मारिएका विद्यार्थीका आफन्तलाई भेटे राजदूतले

शुक्रबार, २९ मंसिर, २०८०
डिजिटल संस्करण

इजरायली नागरिकसरह बिमा सुविधा दिने

नेपालका लागि इजरायली राजदूत खनान गोदरले हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीका आफन्तलाई भेटेका छन् । उनले इजरायलमा ज्यान गुमाएका कैलाली जोशीपुर गाउँपालिका– ५ का आशिष चौधरी र घोडाघोडी नगरपालिका– ४ का नारायणप्रसाद न्यौपानेका परिवारलाई बुधबार घरमै गएर भेटेका हुन् । उनले मृतकका परिवारलाई इजरायली नागरिकसरह सेवा–सुविधा प्रदान गर्ने आश्वासन दिए । इजरायलमा ज्यान गुमाएका विद्यार्थीका प्रत्येक परिवार इजरायलका आफ्नै परिवारसरह रहेको भएको भन्दै पीडित परिवारलाई सान्त्वना दिए । 

त्यसअघि बुधबार बिहान टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान क्याम्पसमा मृतकका परिवारका सदस्यलाई भेटेर उनले आफ्नै देशका नागरिकसरह बिमा सुविधा उपलब्ध गराउने बताएका थिए । पीडित परिवारलाई इजरायली नागरिकसरह व्यवहार गरिने उनको भनाइ थियो । इजरायल सरकार पीडितको साथमा रहेको उल्लेख गर्दै उनले भोलिका दिनमा कसरी सहयोग गर्न सकिन्छ भनेर सोचिरहेको बताएका थिए । 

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययनरत १० जना विद्यार्थीको दुई महिनाअघि हमासको आक्रमणबाट मारिएका थिए । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुरस्थित कृषि विज्ञान संकायले इजरायलमा ज्यान गुमाएका विद्यार्थीको सम्झनामा बुधबार आयोजना गरेको शोक सभामा राजदूत गोदर सहभागी भएका थिए ।

सो क्रममा उनले इजरायली सरकार पीडित परिवारको साथमा रहेको बताए । इजरायलमा हमासको आक्रमणमा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीका आफन्तसँग टीकापुरमा कुरा गर्दै राजदूत गोदरले उनको सकुशल उद्धार गर्ने प्रयास भइरहेको बताए । राजदूतसँगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि पीडितका परिवारलाई भेटेका थिए । प्रदेश सरकारले मृतकका परिवारलाई राहतस्वरूप प्रतिपरिवार दुई लाख रुपैयाँ प्रदान गरेको छ ।

See More On

सुझावित समाचार