ठेकेदार र सरकारी कर्मचारीबीचको लेनदेन अनि राजनीतिक तथा सामाजिक अवरोधले विकासका कामले गति नलिएको हामी सबैलाई थाहै छ । चालू खर्च बढी हुने र विकास खर्च कम हुने परम्परागत लतले कहीँकतै छोडेको छैन । तर, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले ठेक्का सम्झौता गरेको वर्ष दिनमा अस्पताल निर्माण गरेको छ ।
संघीय सरकारको एक पालिका एक अस्पताल स्थापना गर्ने कार्यक्रमअनुरूप हेलम्बुमा १५ शय्याको अस्पताल बनेको हो । १९ करोड ४३ लाख खर्च गरेर अस्पताल बनेको गाउँपालिकाले जनाएको छ । कम्पाउन्डसहित २२ करोडको ठेक्का हो । वर्ष दिनमा ९५ प्रतिशत काम पूरा भएको र माघमा ठेकेदार कम्पनीले पालिकालाई हस्तान्तरण गर्ने तयारी छ ।
पालिकाको केन्द्र किउलमा ठडिएको हेलम्बु अस्पताललाई सुविधासम्पन्न बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । ‘ठेक्का सम्झौता १ मंसिर ०७९ मा गरिएको हो । काम सुरु पुस १ बाट भयो । माघ नसकिँदै सबै काम सम्पन्न हुँदै छ,’ उनले भने ।
जुगल हिमशृंखला कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएको हेलम्बु अस्पताल स्थानीय सरकारको नियमित निगरानीले समयमै सम्पन्न हुने अवस्थामा रहेको छ । ठेकेदार कम्पनी र कर्मचारी संयन्त्रबीच विनास्वार्थ काम गर्ने वातावरण र सहमति बनेमा कुनै पनि काम समयमै सकिने अनुभव प्राप्त भएको अध्यक्ष शेर्पाले बताए । मेलम्ची खोलाको बाढीले सडक बन्द हुँदा बर्खामा दुई महिनाजस्तो काम अवरुद्ध भएको थियो ।
हेलम्बु गाउँपालिकाले गत पाँच वर्षदेखि एम्बुलेन्स सेवा र दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । अरू ११ स्थानीय तहमा पनि काम जारी रहेको छ । भोटेकोशी, जुगल, बलेफी गाउँपालिकामा अस्पताल निर्माण धमाधम भइरहेको छ । लिसंखुपाखर र सुनकोसीमा भवन बने पनि स्वास्थ्यकर्मी र उपकरण नभएकोले उपचार सेवा प्रभावकारी छैन ।
चौतारा साँगाचोकगढी नगरपालिकामा चीन सरकारको सहयोगमा चौतारा अस्पताल निर्माण लगभग सकिएको छ । बाह्रबिसे र मेलम्ची नगरमा पुरानै भवनबाट उपचार सेवा प्रदान गरिएको छ । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले घोषणा गरे पनि काम सुरु गरिएको छैन । त्रिपुरासुन्दरी गाउँपालिकाले भवन बनाउन थालेको छैन । यता पाँचपोखरी थांपाल गाउँपालिकामा तिपेनीस्थितत रहेको स्वास्थ्य चौकीले प्रभावकारी स्वास्थ्य सेवा दिन सकेको छैन । स्थानीय गोपाल स्याङ्बोका अनुसार विकट गाउँहरू भोताङ र बरुवामा स्वास्थ्य सेवा छैन । उनीहरू दिनभर हिँडेर तिपेनी आउनुपर्ने बाध्यता छ ।