शारीरिक असक्षमता कसैको रहर हुँदैन। यो जसलाई र जुनसुकै वेला पनि हुन सक्छ। यो एउटा अवस्था हो, यसले न हैसियतमा फरक पार्न मिल्छ न अधिकारमा। तर, व्यावहारिक, शारीरिक रूपमा अपांगता भएका व्यक्तिलाई आधारभूत अधिकारबाटै वञ्चित हुनुपरेको अवस्था छ।
यस्तै, आधारभूत अधिकारभित्र पर्ने शिक्षामा पनि समान अवसर पाउन कठिन छ। सरकारले अपांग विशेष विद्यालय घोषणा गरे पनि भौतिक संरचना अपांगमैत्री बन्न सकेको छैनन्। यसैको एउटा उदाहरण हो खगेन्द्र नवजीवन विद्यालय।

यस विद्यालयमै पठनपाठन गर्ने विद्यार्थीका लागि भौतिक संरचना अपांगमैत्री छन्। कक्षा कोठामा पस्नेबित्तिकै व्हिलचियर देखिन्छन् भने कतै बैसाखी। सबै ठाउँ व्हिलचियरमै घुम्न सकिन्छ। कक्षाकोठा, शौचालय खेल मैदानसम्म अपांगमैत्री छ, तर स्कुलको आफ्नै होस्टेल नहुँदा भने यो ‘विशेष स्कुल’को भूमिका निर्वाह गर्नबाट चुक्दै गएको त्यहाँ अध्यापनरत शिक्षकहरू बताउँछन्।
नेपाल सरकारले कक्षा १ देखि कक्षा १२ सम्मका अपांगता भएका बालबालिकाहरूलाई प्रत्येक महिनामा प्रतिविद्यार्थी ४ हजारका दरले (वार्षिक १० महिनाको ४० हजार) आवास सुविधा उपलब्ध गराउँदै आएको छ। तर, काठमाडौंमा मासिक चार हजारले कोठा भाडामा बस्न पुग्छ न यहाँका घर अपांगमैत्री नै छन्।

विद्यालयका प्रधानाध्यापक राघव दवाडीले भने, ‘हाम्रो स्कुल मात्रा होइन, हामी हिँड्ने बाटो बस्ने घर जबसम्म अपांगमैत्री हुँदैन तबसम्म अपांगता भएका व्यक्तिहरू स्कुलको पहुँचबाट टाढा रहन्छन्।’
विद्यालयनजिकै अपांगता भएकालाई उपचार गर्ने विशेष अस्पताल पनि छ। उनले थपे, ‘लामो समयसम्म उपचार गराइहरनुपर्ने स्कुल जाने उमेरका धेरै बालबालिका आउँछन् त, र हाम्रो स्कुलको आफ्नै होस्टेल नहुँनाले विद्यार्थी भर्ना गर्न अविभावक मान्दैनन्। टाढाबाट सधैँ स्कुल ल्याउन पुर्याउन सक्ने अवस्था पनि हुँदैन।

राजधानीमै अपांगमैत्री स्कुलको अवस्था यस्तो छ भने बाहिर रहेका विद्यालयको अवस्था कस्तो होला? उनका अनुसार यो स्कुललाई होस्टेल बनाइदिने दाता नआएको होइन, तर विद्यालयसँग जोडिएको जागा विवादले दाता होस्टेल निर्माण हुन सकेको छैन।
अदालतले जग्गा भोगचलन गर्न पाउने भनेर अधिकार दिए पनि प्रयोगको अधिकार दिएको छैन। दवाडीले भने, ‘यदि स्कुलको होस्टेल हुने हो भने उपत्यकाका र आसपासका सबै अपांगता भएका र पढ्न चाहनेहरूले पढ्न पाउने वातावरण भन्ने थियो।’

२०३२ सालमा स्थापित यस स्कुल विभिन्न आरोह अवरोहलाई पार गर्दै अहिले नेपालभरिबाट ६ सयभन्दा बढी विद्यार्थी छन्। यसमध्ये अपांगता भएकाको १०२ जना छन्।
यस विद्यालयले खुट्टाले लेख्नेदेखि दुवै हातका औँला नभएकासम्मलाई पढ्न लेख्न प्रेरत गर्दै आएको छ। विद्यालयले यस्ता विद्यार्थीलाई १२ सम्म पास गराएको छ।

विद्यालयमा पठनपाठन प्रविधिमैत्री बाउनसमेत शिक्षकहरू सक्रिय छन्। विद्यालयसम्म आउन नसक्ने विद्यार्थीका लागि घरमै बसेर पढ्नका लागि अनलाइन कक्षादेखि डिजिटल कोर्स निर्माणमा उनीहरू साटिएको दवाडीले बताए।