युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा रियल म्याड्रिडले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । समूह ‘सी’मा म्याड्रिडले ६ खेलबाट सर्वाधिक १८ अंक बटुल्दै प्रिक्वार्टरफाइनल स्थान पक्का गरेको हो । प्रतियोगिताको मंगलबार राति भएको खेलमा जर्मनी क्लब युनियन बर्लिनले अग्रता लिएको थियो । तर, सर्वाधिक १४ पटकको च्याम्पियन्स लिग विजेता म्याड्रिडले खेलमा उत्कृष्ट कमब्याक गरेको थियो । खेलमा म्याड्रिडले ३–२ को रोमाञ्चक जित निकाल्यो । म्याड्रिडले ६ खेलमै उत्कृष्ट फिनिसिङ नमुना प्रस्तुत गरेको थियो ।
यस समूहमा इटालियन क्लब नेपोली १० अंकका साथ दोस्रो स्थानमा छ । स्पोर्टिङ ब्रागा ४ र युनियन बर्लिन २ अंकका साथ चौथो स्थानमा छ । खेलको पहिलो हाफको इन्जुरी समयमा युनिय बर्लिनले १–० को अग्रता लिएको थियो । भालान्डले डिबक्सनजिकबाट बर्लिनलाई अग्रता दिलाएका थिए । खेलको ६१औँ मिनेटमा म्याड्रिडले १–१ को बराबरी गोल फर्कायो । म्याड्रिडका जोसेलुले बराबरी गोल गरेका हुन् । खेलको ७२औँ मिनेटमा जोसेलुले पहिलोपटक म्याड्रिडलाई अग्रता दिलाए ।
खेलको ८५औँ मिनेटमा करालले बर्लिनलाई २–२ को स्थितिमा राखे । खेल सकिन एक मिनेटअघि सेवालासले म्याड्रिडलाई ३–२ को रोमाञ्चक जित दिलाए । यसैगरी समूह ‘ए’मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बार्यन म्युनिखसँग १–० ले पराजित भएको छ । बार्यनको जितमा एक मात्र गोल कोमानले खेलको ७१औँ मिनेटमा गरेका थिए । समूह ‘ए’मा युनाइटेड ४ अंकका साथ पुछारमा छ । बायर्नले ६ खेलमा १६ अंक बटुलेको छ । बायर्नले शीर्ष स्थानमा रहँदै प्रिक्वार्टरफाइनल स्थान पक्का गरेको छ । कोपेनहेगन ८ अंकका साथ दोस्रो स्थानमा छ ।
युनाइटेडको खराब प्रदर्शन
गत साता मात्र युनाइटेड घरेलु मैदानमा बर्नमाउथसँग ३–० ले पराजित भएको थियो । प्रशिक्षक एरिक टेन हागको प्रशिक्षणमा रहेको युनाइटेडले च्याम्पियन्स लिगमा गतिलो प्रदर्शन गर्ने अपेक्षा थियो । पूर्वविजेता बायर्नसँग युनाइटेडको केही सीप लागेन । युनाइटेडले आफ्नो समूहमा एक जित मात्र निकालेको छ । यस नतिजासँगै युनाइटेडको च्याम्पियन्स लिगको नकआउट र युरोपा लिगमा स्थान बनाउने सम्भावना समाप्त भएको छ ।
च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको आर्सनल र पिएसभी १–१ को खेल बराबरीमा रोकिएको छ । नेपोलीले स्पोर्टिङलाई २–० ले हरायो । बेनिफिकाले साल्जबर्गमाथि ३–१ को जित निकाल्यो । इन्टरमिलान र रियल सोसिडाडबीच गोलरहित बराबरी भयो ।