जोर्गे सान्चेजको एक मात्र गोलको सहयोगमा नेपाल सुपर लिग (एनएसएल)मा झापा एफसीले निकालेको छ । दशरथ रंगशालामा झापाले पाँचौँ खेलमा स्पष्ट तीन अंक बटुल्ने क्रममा बुटबल–लुम्बिनीलाई १–० ले हरायो । खेलको ३९औँ मिनेटमा सान्चेजले झापालाई १–० को अग्रता दिलाएका थिए । उनले राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टको पासमा गोल गरे । ५ खेलमा ६ अंक जोडेको झापा छैटौँ स्थानमा उक्लेको छ । एक खेलभन्दा बढी खेलेको बुटवल सात अंकका साथ पाँचौँ स्थानमा यथावत् रह्यो ।
बुटलका प्रशिक्षक विजय महर्जनले सानो गल्तीले अंक गुमाएको प्रतिक्रिया दिएका छन् । उनले जित्नुपर्ने खेलमा हारको सामना गरेपछि प्ले–अफको सम्भावना कमजोर भएको स्विकारेका छन् । ‘हामीलाई स्पष्ट तीन अंक आवश्यकता थियो, तर एउटा सानो गल्तीले हारको सामना गर्न बाध्य भएका छौँ,’ महर्जनले भने, ‘अब बाँकी खेलमा जितले पनि प्ले–अफ पुग्ने सम्भावना छैन, अन्य टोलीको नतिजा पनि निर्भर हुनुपरेको अवस्था छ ।’
पहिलो हाफको तुलनामा दोस्रो हाफमा बुटवलले बराबरी गोल फर्काउन निकै प्रयास गरेको थियो । बुटलबको फिनिसिङ कमजोर हुँदा झापाले एक मात्र अग्रता रक्षा गर्न सफल भयो । झापाका गोलरक्षक स्टेफन कुपिक र डिफेन्डरले पटक–पटक गल्ती गरेका थिए । त्यसको फाइदा बुटवलले लिन सकेन । डिबक्स नजिक प्राप्त सहज गोल अवसरसमेत बुटवलका खेलाडीले चुकाएका थिए ।
झापाका प्रशिक्षक ओरिओल सेगुराले महत्वपूर्ण अंकसँगै प्ले–अफको सम्भावना बाँकी रहेको जनाए । ‘हामीलाई जित आवश्यक थियो, यसले अब प्ले–अफ सम्भावना जीवित भएको छ,’ ओरिओलले भने, ‘आउँदो खेलमा योभन्दा राम्रो नतिजा देख्न पाउनेछ ।’ मध्यान्तरमा खेल केही बिग्रिएको उनले बताए । ‘दोस्रो हाफमा डिफेन्समा केही कमजोर देखियो, यसलाई अर्को खेलमा सुधार गर्नुपर्छ,’ उनले भने, ‘यद्यपि, हामी लक्की साबित भयौँ ।’
प्रतिस्पर्धामा झापाले चोटका कारण दुई खेल गुमाएका कप्तान अञ्जनलाई सुरुवातमै खेलाएको थियो । झापाका युवा डिफेन्डर योगेश गुरुङ रातो कार्डका कारण बुटवलविरुद्ध खेल्न पाएनन् । उनको स्थानमा विशाल बस्नेतले प्रतिस्पर्धा गरेका थिए । खेलको चौथो मिनेटमा झापाका सान्चेज बक्समा लडेपछि पेनाल्टीको अपिल गरेका थिए । तर, रेफ्री सुरोजित दासले पेनाल्टी दिएनन् । खेलको ७७औँ मिनेटमा झापाका अञ्जनको पासमा प्रदीप लामाले गोल गर्न सकेनन् । खेलको ८३औँ मिनेटमा बुटवलका गोलरक्षक मोहम्मदुले झापाको लगातार दुई उत्कृष्ट बचाउ गरेका थिए ।