वीरमा बिरामी दर्ता टिकट र भर्ना कागज अभाव, दुई दिनपछि ओपिडी सेवा बन्द हुने अवस्था

बुधबार, २७ मंसिर, २०८०
डिजिटल संस्करण

वीर अस्पतालमा बिरामी दर्ता टिकट र भर्ना कागजको अभाव भएको छ । अस्पताल प्रशासनले पूर्वतयारी नगर्दा अत्यावश्यक पर्ने टिकट र भर्ना कागज सकिन लागेको हो । 

अस्पतालको मौज्दातमा अब जम्मा चार हजार टिकट छ भने पाँच सयको हाराहारी भर्ना कागज । यसले दुई दिनलाई मात्रै पुग्छ । टिकट र भर्ना कागज सकिँदा शुक्रबारदेखि सेवा प्रभावित हुने अवस्था छ । बुधबार र बिहीबारलाई मात्रै पुग्ने टिकट स्टक रहेको अस्पतालले जनाएको छ । टिकट र भर्ना कागज सकिन लाग्दासमेत प्रशासनले खरिद प्रक्रिया अघि बढाएको छैन । टेन्डर आह्वानपछि पनि खरिदका लागि करिब १० दिन लाग्छ । पूर्वतयारी नगर्दा टिकट अभावका कारण ओपिडी सेवासमेत बन्द हुने अवस्था छ । टिकट नभए सेवा बन्द गर्नुको विकल्न नहुने अस्पतालका एक कर्मचारीले बताए । ‘वीरमा टिकट र भर्ना कागज मुस्किलले एक–दुई दिनलाई पुग्छ होला,’ ती कर्मचारीले भने, ‘सकिएपछि सेवा बन्द गर्नुपर्छ, किनभने बिरामीको विवरण त्यही टिकटमा लेखिन्छ, टिकटविना बिरामी जाँच्न समस्या हुन्छ ।’ 

ओपिडी, विशेष र आकस्मिक गरी अस्पतालले तीन प्रकारको टिकट वितरण गर्दै आइरहेको छ । तीनै प्रकारको टिकट सकिन लागेको छ । अस्पताल प्रशासनसँग मुस्किलले चार हजार प्रति टिकट स्टक छ । उक्त टिकट एक–दुई दिनमै सकिन्छ । वीरमा दैनिक दुई हजारवटा ( तीनै प्रकारका) सम्म टिकट बिक्री हुन्छ । 

वीरले ओपिडी र इमर्जेन्सी टिकटको ३० रुपैयाँ र विशेषको एक सय रुपैयाँ शुल्क लिन्छ । टेन्डर गर्दा सप्लायर्स कम्पनीले प्रतिटिकट चार रुपैयाँ मात्रै लिन्छ । अस्पतालले चार रुपैयाँमा खरिद गरेको टिकट बिमा गरेका बिरामीले दुई सय रुपैयाँ तिर्नुपर्छ । 

अस्पताल प्रशासनले ६ महिनाअघि ६ लाखप्रति टिकट तथा भर्ना कागज खरिद गरेको थियो । ‘टेन्डर प्रक्रिया अघि बढाउँदा समय लाग्छ, सरसफाइ प्याकेजमा टिकट, भर्ना कागजलगायत सबै सामान ल्याउने हो,’ अस्पतालको जनरल कक्षका एक कर्मचारीले भने, ‘नेतृत्वको लापरबाहीले कागजसमेत मौज्दात छैन, यो सबै समस्या प्रशासन खराब भएर देखिएको हो ।’ उनका अनुसार अब टिकटलगायत कागज खरिदका लागि बागमती प्रेसलाई ठेक्का दिने तयारी भएको छ, तर प्रक्रिया भने अघि बढेको छैन । अस्पताल प्रशासनले सबै प्रकारका गरेर पाँच लाख हाराहारी टिकट खरिद गर्ने तयारी गरिरहेको छ । 

टिकट अभावमा सेवा प्रभावित नहुने उपकुलपतिको दाबी
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले कागज (टिकट) अभावका कारण सेवा ठप्प नहुने दाबी गरे ।

‘यो कार्य कार्यकारी र प्रशासनले गर्नुपर्ने हो, सप्लायर्सलाई पुरानो बक्यौता तिर्न बाँकी छ, बक्यौता दियौँ भने उसले कागज ल्याउँछ,’ उनले भने, ‘हामीसँग स्टक रकम छैन, कमाउँदै तिर्ने हो ।’

उनका अनुसार सरकारले बजेट कटौती गर्दा अस्पतालका लागि चाहिने अत्यावश्यक सामग्री पनि खरिद गर्न समस्या हुने गरेको छ । वीर अस्पतालमा दैनिक एक हजार पाँच सयजनाले ओपिडी सेवा लिन्छन् । अस्पताल प्रशासनले बिहान ८ बजेदेखि नै टिकट वितरण गर्दै आइरहेको छ । तर, प्रशासनले अत्यावश्यक सामग्री मौज्दात नराख्दा बिरामीलाई मार पर्ने स्थिति छ ।

सुझावित समाचार