नेपाल सुपर लिग : बराबरीले झापा र वीरगन्ज दुवैलाई दबाब

शनिबार, २३ मंसिर, २०८०
डिजिटल संस्करण

आधा दर्जनभन्दा बढी आक्रमण विफल हुँदा पहिलोपटक नेपाल सुपर लिग खेलिरहेका झापा एफसी र वीरगन्ज युनाइटेडबीचको पहिलो भेट नै गोलरहित बराबरीमा भएको छ । दशरथ रंगशालामा शुक्रबार नयाँ दुई टोलीबीच प्रतिस्पर्धा उत्कृष्ट रहे पनि एउटा पनि गोल भएन । यी दुवै टोलीको एकै समान रह्यो । झापा र वीरगन्जका विदेशी र स्वदेशी नेपाली खेलाडीले खेल अवधिभरि उत्कृष्ट प्रदर्शन गरेका थिए । खेलको ७३औँ मिनेटमा योगेश गुरुङले रातो कार्ड पाएपछि झापा १० खेलाडीमा सीमित भएको थियो । यद्यपि, १० खेलाडीमा प्रतिस्पर्धा गरिरहेको वीरगन्जले त्यसको फाइदा उठाउन सकेन । 

काउन्टर अट्याकमा रहेका विलियम ओपुकुलाई पछाडिबाट तानेपछि भारतीय रेफ्री राम दसनले योगेशलाई सोझै रातो कार्ड देखाए । दुवै टोलीका खेलाडी फिनिसिङमा चुकिरहे । नौ टोली सहभागी नेपाल सुपर लिगमा झापा र वीरगन्जका प्ले अफ सम्भावना निकै कमजोर बनेका छन् । यी दुवै टोली अझै जितविहीन छन् । बराबरीसँगै चार खेलबाट तीन अंक जोडेको झापा सातौँ स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको वीरगन्ज तालिकाको पुछारमा रह्यो । खेलपछि झापाका स्पेनिस प्रशिक्षक ओरिओल मेहदानो सेगुराले खेल राम्रो रहे पनि स्कोर गर्न चुकेको बताए । 

‘साँच्चै खेल राम्रो थियो । सबैले राम्रो खेले । सबैले चाहेको जित थियो । तर, हामी अलि टाढा रह्यौँ,’ सेगुराले भने, ‘हामीले खेलमा धेरै युवालाई मौका दिएका छौँ । लगातार खेल्दा सबैलाई विश्रामको खाँचो छ ।’ पहिलो खेलमा स्पोर्टिङ इलामसँग पराजित भएको झापाले दोस्रो खेलमा पोखरा थन्डर्ससँग १–१ गोलको बराबरी तथा तेस्रो खेलमा काठमाडौं रेजर्ससँग गोलरहित बराबरी खेलेको थियो । 

वीरगन्जका प्रशिक्षक सनोज श्रेष्ठले पहिलो हाफमा खेलाडीबीच तालमेल नमिल्दा कमजोर प्रदर्शन भएको बताए । उनले पहिलोभन्दा दोस्रो हाफमा राम्रो प्रदर्शन भएको जनाए । ‘तालिकाको मध्यम टोलीको फाइटमा हामी पहिलो हाफमा चुक्यौँ । खेलाडीबीच तालमेल नै भएन,’ श्रेष्ठले भने, ‘दोस्रो हाफमा आक्रामक खेल खेले पनि गोलमा चुक्यौँ । प्ले अफ पुग्न अझै बलियो प्रदर्शन गर्नुपर्छ ।’ यता, वीरगन्ज पहिलो खेलमा धनगढी एफसी र दोस्रो खेलमा एफसी चितवनसँग समान २–१ ले पराजित भयो । तेस्रो खेलमा वीरगन्जले ललितपुर सिटीविरुद्ध २–२ को बराबरी खेल्दै अंक बटुलेको थियो । 

खेलको म्यान अफ दी म्याच वीरगन्जका गोलरक्षक तथा मार्की दीप कार्की घोषित भए । उनले सोचेजस्तो खेल हुन नसकेको बताए । उनी पहिलो ‘क्लिन सिट’ राख्न सफल भए पनि अग्रपंक्तिमा कमजोर प्रदर्शन हुँदा दुःखित देखिए । ‘खेल निकै दबाबपूर्ण रह्यो । सोचेको जस्तो हुन सकेन,’ राष्ट्रिय टोलीको गोलकिपरसमेत रहेका दीपले भने, ‘दोस्रो हाफ राम्रो भयो । तर, खुसी हुने स्थान छैन ।’

फिनिसिङमा समस्या 
खेलभर निकै अवसर बनाएपछि झापा र वीरगन्जमा अग्रपंक्तिमै ठूलो समस्या देखिएको थियो । विदेशी खेलाडीलाई अग्रपंक्तिमा जिम्मेवारी दिए पनि यसपटक दुवै टोलीको फिनिसिङ कमजोर रह्यो । केही प्रहार बारमा ठोकिएको थियो । ११औँ मिनेटमा झापाका समन्दर ओकिलोभको प्रहार गोलरक्षक दीपले बचाए । लगत्तै ओकिलोभको प्रहार सेकेन्ड बारमा लागेर फर्कियो । खेलको ३२औँ मिनेटमा कप्तान लक्ष्मण रुचाल वान भर्सेज वानमा दीपलाई बिट गर्न सकेनन् । नियमित कप्तान अञ्जन विष्ट घाइते भएपछि झापाको आर्म ब्यान्ड रुचालले लगाए । 

सुझावित समाचार