गर्मी मौसममै विश्वकप गर्ने योजनामा साउदी अरेबिया

शनिबार, २३ मंसिर, २०८०
डिजिटल संस्करण

साउदी अरेबियाले विश्वकपमा प्रयोग हुने सबै रंगशालालाई चिसो बनाउने जनाएको छ, जुन ठ्याक्कै कतारले अपनाएजस्तै हो 

सन् २०३४ को विश्वकप फुटबल प्रतियोगिताको आयोजक राष्ट्र साउदी अरेबिया हो । चर्को गर्मी भएको स्थानमा युएईले पनि कतारले झैँ विन्टर सिजनमा गर्ने पूर्वअनुमान थियो । किनभने सन् २०२२ को विश्वकप आयोजक कतारले विन्टरमै सफलतापूर्वक प्रतियोगिता गरेको थियो । सामान्य गरी विश्वकप जुन–जुलाईमा हुन्छ । यसवेलामा पूर्वीमध्य एसियामा चर्को गर्मी हुने मौसम हो । यसकारण पनि युएईले विश्वस्तरीय रंगशाला निर्माण गरी जाडो मौसममै विश्वकप गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । तर, युएईले सबै अनुमानविपरीत फिफाले दिइएको समयमै विश्वकप निर्धारित मितिमै हुने जनाएको छ । ‘साउदी अरेबियाले मध्यगर्मीको मौसममै विश्वकप गर्ने योजनाका साथ अगाडि बढेको छ,’ गल्फ टाइम्सले उल्लेख गरेको छ । 

एक रिपोर्टअनुसार जुन–जुलाईमा साउदी अरेबियामा कम्तीमा ६० डिग्री पुगेको हुन्छ । यस्तो गर्मीको वेलामा पनि कसरी विश्वकप आयोजना गर्न सकिन्छ भन्ने प्रश्नको उत्तर साउदी अरेबियासँग छ । साउदी अरेबियाले विश्वकपमा प्रयोग हुने सबै रंगशालालाई चिसो बनाउने जनाएको छ । जुन ठ्याक्कै कतारले अपनाएको विधि हो । कतारले पनि गत वर्ष विश्वकप आयोजना गर्दा सबै विश्वकपमा अत्याधुनिक मेसिनको सहयोगमा एसी जडान गरेको थियो । जसका कारण रंगशालामा कसैले पनि गर्मीको महसुस नै गर्न पाएनन् । 

कतारको भन्दा फरक रंगशाला र त्यसमा सुविधासमेतमा आमूल परिवर्तन हुने साउदी अरेबियाले जनाएको छ । साउदी राजकुमार मोहमद विन सलामले विश्वकपमा कुनै किसिमको कमजोर नहुने दाबी गरेका छन् । ‘हामी अहिलेसम्मकै उत्कृष्ट विश्वकप गराउने योजनाका साथ अगाडि बढिरहेका छौँ,’ राजकुमार मोहमदले भने, ‘त्यसवेला फुटबल हेर्न आउनेले फरक साउदी अरेबिया र फुटबल माहोल पाउनेछन् ।’ गत अक्टोबर ३१ मा अस्ट्रेलियाले विश्वकप आयोजना गर्ने दाबी फिर्ता लिएपछि साउदी अरेबिया सन् २०३४ को एक्लो आयोजक राष्ट्र बनेको हो । 

साउदीका खेलकुदमन्त्री तथा राजकुमार विन अल फैसलले सम्बन्धित निकायसँग विश्वकप आयोजना गर्ने मितिबारे छलफल भइरहेको जानकारी दिएका छन् । ‘हामीले कुन समयमा विश्वकप गर्दा उपयुक्त हुन्छ भनी विचार र छलफल गरिरहेका छौँ, धेरैजसोले फिफाले दिएको मितिमै गर्नुपर्ने सुझाव दिएका छन्,’ खेलकुदमन्त्री अल फैसलले भने, ‘हाम्रो प्रयास पनि निर्धारित समयमै विश्वकप गराउने हो, यसमा कुनै कन्जुस्याइँ हुनेछैन ।’ 

सुझावित समाचार