फागुनमा ‘सी’ डिभिजन लिगको तयारीमा एन्फा

बिहिबार, २१ मंसिर, २०८०
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी फागुनमा गर्ने तयारी गरेको छ । एन्फा केन्द्रीय कार्यालयमा बुधबार बसेको क्लब र एन्फा पदाधिकारीबीचको छलफलमा लिग फागुनमा गर्ने सहमति भएको हो । एन्फाले यस बर्षको वैशाखमा नै ‘सी’ डिभिजन लिग गर्ने भनेको थियो । तर, एन्फा र क्लबबीचको आन्तरिक द्वन्द्वका कारण ‘सी’ डिभिजन हुन सकेन ।

लिग आयोजना गर्न एन्फाले एक महिनाभित्र ‘सी’ डिभिजन क्लबको बक्यौता रकम चुक्ता गर्नुपर्नेछ । छलफलमा बक्यौता चुक्ता गर्नुपर्ने र लिग तयारीका लागि पहिलो किस्ताको रकम एक महिनाभित्र उपलब्ध गराउनुपर्ने सहभागी क्लबले माग राखेको ‘सी’ डिभिजन लिगका संयोजक दिवाकर घलेले नयाँ पत्रिकालाई बताएका छन् । ‘एन्फाले दिइएको समयमा लिग हुन्छ तर, क्लबको अहिलेसम्म बाँकी रहेका बक्यौता रकम र तयारी खर्च उपलब्ध हुनुपर्छ,’ घलेले भने, ‘एन्फाले हाम्रो माग पुरा गरेको अवस्थामा लिग निर्धारित समयमै हुन्छ ।’

सहमतिअनुसार यसपटक ‘सी’ डिभिजन लिग उपत्यकाबाहिर हुनेछ । छलफलमा ‘सी’ डिभिजन लिग हेटौँडामा गर्ने प्रस्ताव गरिएको छ । हेटौँडामा भए खाने–बस्ने व्यवस्था एन्फाले गर्नुपर्ने क्लबहरूको माग छ । एन्फाले खाने–बस्ने व्यवस्थाका लागि हेटौँडा उपमहानगरसँग कुरा गर्ने भएको छ । बैठकमा ‘सी’ डिभिजनका १४ मध्ये १३ क्लबका पदाधिकारी तथा एन्फाबाट महासचिव किरण राई उपस्थित थिए । छलफलमा आरसी ३२ क्बलको अनुपस्थिति रह्यो ।

एन्फाले ‘सी’ डिभिजन क्लबलाई दिनुपर्ने नौ लाखमध्ये चार लाख ५० हजार रुपैयाँ बक्यौता बाँकी छ । एन्फाले अहिलेसम्म ६ क्लबलाई सबै रकम उपलब्ध गराइसकेको छ । आठ क्लबको बक्यौता रकम दिने तयारीमा एन्फा रहेको छ । ‘एन्फाले दिनुपर्ने रकम छिट्टै उपलब्ध गराउनेछ,’ बैठकमा सहभागी पदाधिकारीले भने । 

छलफलमा ‘सी’ डिभिजन लिगमा रहेका क्लबलाई पनि क्लब लाइसेन्सिङ प्रक्रियामा अघि बढाउन छलफल भएको छ । घरेलु फुटबलको महत्वपूर्ण प्रतियोगिताका रूपमा रहेको ‘सी’ डिभिजन लिगअघि एन्टी डोपिङ र इन्टिग्रेटी कार्यशाला आयोजना गरिनेछ । क्लब लाइसेन्सिङका लागि एन्फाले आन्तरिक मापदण्ड तयारी गरिरहेको छ । 

बक्यौता भुक्तानीपछि ‘बी’ डिभिजन लिग
एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ आफूमाथिको अविश्वास प्रस्ताव विफल भएपछि फुटबलका विवादित विषय समाधान गर्नेतर्फ लागेका देखिन्छन् । गत महिना हेटौँडामा भएको एन्फाको विशेष साधारण सभामा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव विफल भएको थियो । करिब एक महिनपछि क्लबलाई दिनुपर्ने बक्यौता र हुन नसकेका प्रतियोगिता आयोजना गर्ने तत्खरमा एन्फा देखिएको छ । यसैबीच ‘बी’ डिभिजन लिगमा आबद्ध क्लबहरूले बाँकी रकम चुक्ता गरेपछि मात्र लिगमा सहभागी हुने सहमति गरेका छन् । 

‘बी डिभिजनको मिति तय गर्ने विषयमा छलफल अघि बढाइएको छ,’ बैठकमा सहभागी एक सदस्यले भने, ‘एन्फा र हामीबीच सहमति भएको छ, त्यसपछि मात्र ‘बी’ डिभिजन लिगमा सहभागी हुन्छौँ, रकम प्राप्त नहुँदासम्म भाग लिन्नौँ ।’ दुई वर्षअघि भएको ‘बी’ डिभिजन लिगको तयारी खर्चमध्ये एन्फाले ६ लाख ५० हजार रुपैयाँ भुक्तानी दिन बाँकी छ । ‘बी’ डिभिजनमा रहेका १४ मध्ये दुई क्लबले रकम लिइसकेका छन् । रानीपोखरी कर्नर टिम (आरसिटी) र श्रीकुमारी क्लबले एन्फाबाट रकम पाइसकेका छन् । 

एन्फाले बक्यौता रकमका लागि प्रक्रिया अघि बढाएको छ । यसैबीच, ‘बी’ डिभिजन लिगका संयोजक कुमार राजभण्डारीले क्लबहरूको भुक्तानी नभएसम्म नयाँ मिति तय नहुने जनाएका छन् । ‘सबैको बक्यौता भुक्तानी नभएसम्म बी डिभिजन लिग हुन सक्दैन,’ उनले भने, ‘सबै क्लबको बक्यौता चुक्ता हुनुपर्छ । यसपटकको लिगको तयारीका लागि एन्फाले प्रत्येक क्लबलाई १४ लाख ५० हजार रुपैयाँ दिने जनाएको छ ।

सुझावित समाचार