अनलाइन प्रणालीले श्रमिकलाई दोब्बर सास्ती

श्रम स्वीकृतिको आवेदन दिएको तीन दिनमा अनलाइनबाट प्राप्त गर्नुपर्ने व्यवस्था, तर महिना दिनसम्म पनि श्रमिकले पाएनन्

मंगलबार, १९ मंसिर, २०८०
डिजिटल संस्करण
अनलाइन प्रणालीले श्रमिकलाई दोब्बर सास्ती

अनलाइन प्रणालीमा समस्या आएपछि काठमाडौंस्थित वैदेशिक रोजगार कार्यालयमा आइतबार सेवाग्राहीको भिड

मलेसियामा रोजगारीमा रहेका बर्दिवासका जुगल र प्रवास महतो यो वर्षको दसैं–तिहार मनाउन बिदा लिएर नेपाल आएका थिए । दसैँ–तिहार सकिएसँगै उनीहरू मंसिर १९ गते बेलुका मलेसिया फर्कंदै छन् । मलेसियाका जानका लागि उनीहरूलाई कम्पनीले नै मालिन्द्रो एयरलाइन्सको टिकट दिएको छ । तर, उनीहरूले श्रम स्वीकृति भने पाएका छैनन् ।

प्रवास र जुगलले दसैंअगाडि नै बर्दिवासबाट नै पुनः श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिएका थिए । तर, एक महिनासम्ममा पनि श्रम स्वीकृति नपाएपछि उनीहरू गत १५ गते नै काठमाडौं नै आइपुगेका छन् । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीले काम नगरेपछि तीनअगाडि नै काठमाडौंमा आउनुपरेको उनीहरूले बताए ।

धनकुटाका दीपेश सिन्जाली कतारमा १० वर्षदेखि लिमोजिन कम्पनीमा ड्राइभिङ गर्दै आएका छन् । २८ वर्षीय सिन्जाली पनि दसँै–तिहार मनाउन नेपाल आएका हुन् । उनलाई कतार फर्कनका लागि कम्पनीले नै मंसिर १८ गतेकोे हिमालयन एयरलाइन्सको टिकट पठाएको छ । सिन्जालीले पुनः श्रम स्वीकृतिका लागि १५ दिनअगाडि नै धनकुटाबाट अनलाइन आवेदन दिएका थिए । तर, अनलाइनले उनको आवेदन लिएन । त्यसैले सिन्जालीले कतार उड्नुभन्दा पाँच दिनअगाडि नै काठमाडौं आइपुगेको बताए । अनलाइनबाट काम हुन्छ भनेर ढुक्कले बसेको काम नभएपछि हतारमा नै काठमाडौं आउनुपरेको उनले गुनासो गरे । 

इलामका गम्भीर राई पनि साउदीबाट दसैँ–तिहारको बिदामा नेपाल आएका थिए । उनलाई कम्पनीले १९ मंसिर बेलुका हिमालयन एयरलाइन्सको टिकट दिएको छ । इलामबाट दुई साताअगाडि नै पुनः श्रम स्वीकृतिका लागि आवेदन दिए पनि प्रणालीले काम नगरेपछि गत साता काठमाडौं आएको उनले बताए । धेरै जनाको टिकट रद्द भएको थाहा पाएर हतारिँदै काठमाडौं आइपुगेको उनको भनाइ छ । एक साताअगाडि नै काठमाडाैं आएर बस्दा थप पैसा खर्च पनि हुने परिवारसँग बिताउने समय पनि नपाएको उनले बताए । 

यी घटनाहरू प्रतिनिधि मात्रै हुन् । तीन दिनमा अनलाइन प्रणालीबाट हुनुपर्ने श्रम स्विकृतिको काम महिना बित्दा पनि नभएपछि युवाहरू काठमाडौं धाउन बाध्य भएका छन् । गत सातादेखि वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा समस्या आएपछि काठमाडा}स्थित श्रम कार्यालयमा युवाहरूको भिड लाग्न थालेको छ । विभागले श्रम स्वीकृतिसम्बन्धी सबै काम अनलाइनमार्फत हुने बताए पनि समय–समयमा आउने समस्याले युवाहरू काठमाडौं नै धाउन बाध्य छन् । काठमाडौंस्थित श्रम कार्यालयअगाडि बिहान नौ बजेदेखि नै भिड लाग्न थालेको छ ।   

बिहान १० बजे कार्यालयको गेट खुल्नेबित्तिकै युवाहरू एकैपटक गेटभित्र प्रवेश गरेपछि सुरक्षाकर्मीले आज टिकट हुने यता र भोलि टिकट हुने उता भन्दै लाइन लाग्न आदेश दिए । सुरक्षाकर्मीको आदेशअनुसार छुटाछुट्टै लाइन लागे पनि ११ बज्दासमेत ताहाचल कार्यालयको झ्याल भने खुलेको थिएन । लाइनमा बसेका युवाहरू भने झ्यालमा लागेको पर्दा हेर्दै आक्रोशित भए । ‘म बिहान सात बजेदेखि लाइनमा आएर बसेको, तर यहाँका कर्मचारीलाई ११ बज्दा पनि अफिस खुल्दैन,’ एक युवाले आक्रोशित हुँदै भने ।  

 विभागको सफ्टवेयरमा सधैँ समस्या
२५ कात्तिक ०७३ मा वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा समस्या आएपछि श्रम स्वीकृतिको काम बन्द भयो । जसका कारण सयौँ श्रमिकले वदेशिक रोजगारीमा जानका लागि काटिसकेको एयरलाइन्सको टिकट गुमाउनुपर्‍यो । त्यस्तै, ५ माघ ०७६ मा पनि विभागको अनलाइन प्रणालीमा समस्या भयो । श्रम स्वीकृतिको काम नहुँदा धेरै श्रमिक अलपत्र परे । २३ कात्तिक ०७७ मा पनि विभागको अनलाइन प्रणालीमा समस्या देखिएपछि श्रम स्वीकृतिको काम ठप्प भयो । पछिल्लो २४ साउन र १४ कात्तिक ०८० मा पनि विभागको अनलाइन प्रणालीमा समस्या देखियो ।

जसका कारण श्रम स्वीकृतिको कार्य प्रभावित भयो । फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेसनबाट हुने श्रमिकको ओरेन्टेसन र बायोमेट्रिकको कनेक्सनमा समस्या आएको विभागले जानकारी दियो । पछिल्लो समय ८ मंसिरमा पुनः विभागले अनलाइन प्रणालीमा समस्या भएको सूचना जारी गर्दै डकुमेन्ट अपलोड नगर्न आग्रह गर्‍यो । विभागका अनुसार गत १० मंसिरमा अनलाइन प्रणालीले पुनः काम गरेन । गत मंगलबारदेखि प्रणालीमा सुधार आए पनि काम भने सुस्त गतिमा भइरहेको छ । 

विभागको अनलाइन प्रणालीमा समस्या देखिएका यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् । विभागको तथ्यांक केलाउने हो भने सयाैंपटक अनलाइन प्रणालीमा समस्या हुने गरेको छ । पछिल्लो समय त महिनैपिच्छे समस्या देखिन थालेको छ । गत साउन, कात्तिक र मंसिर महिनामा पनि पटक–पटक अनलाइन प्रणालीमा समस्या भयो । 

अनलाइन प्रयोगकर्ताको संख्या अधिक भएपछि प्रणालीमा समस्या देखिएको विभागका सूचना अधिकारी कविराज उप्रेतीको जिकिर छ । ‘चाडपर्वको समयमा बिदामा नेपाल आउने–फर्कने घुइँचो छ । सबैले एकैपटक अनलाइन प्रयोग गर्दा प्रणालीले धान्न नसकेर सुस्त भएको हो,’ उनले भने ।  

 अनलाइनले झनै समस्यामा श्रमिक 
वैदेशिक रोजगार विभागले ०७९ सालमा विभाग पूर्ण रूपमा अनलाइनमा गएको घोषणा गर्‍यो । तत्कालीन वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मराज चालिसेले विभागले दिने सबै सुविधा अब अनलाइनमार्फत हुने पनि बताए । तर, वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाइन व्यवस्थाकै कारण दोब्बर सास्ती भोग्नुपरेको गुनासो छ । 

विभागले ०६४ मा श्रम स्वीकृतिको प्रक्रियालाई सहज बनाउन वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) नामक सफ्टवेयर खरिद गर्‍यो । बे्रनडिजिट नामक कम्पनीबाट विभागले सफ्टवेयर खरिद गरेको हो । त्यतिवेलामा श्रम स्वीकृति प्रिन्ट गर्न सफ्टवेयर खरिद गरिएको थियो । विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार सफ्टवेयर ०६९ मा अपडेट गर्नुपर्ने थियो । तर, अपडेट नगरेपछि सफ्टवेयरमा समय–समयमा समस्या देखिन थालेको उनले दाबी गरे । 

प्रणालीको क्षमता भने वृद्धि गरिएन । सोही कारण सफ्टवेयरमा समस्या आउने गरेको विभागका सूचना अधिकारी उप्रेतीको भनाइ छ । विभागले २ माघ ०७८ देखि पुनः श्रम स्वीकृति पनि अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरेको थियो । ५ जेठ ०७९ देखि भने श्रम कार्यालयले सबै सेवा अनलाइनबाट नै लिन सकिने व्यवस्था गरेको हो । 

जसमा श्रम स्वीकृतिका लागि भिसा, करारपत्र, स्वास्थ्य परीक्षण प्रमाणपत्र, परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र, अभिमुखीकरण तालिमबाट प्राप्त प्रमाणापत्र, सीपमूलक रोजगारमा जान सीप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, जीवन बिमाशुल्क भुक्तानी र कल्याणकारी कोषको शुल्क पनि अनलाइन माध्यमबाट नै भुक्तानी गर्न सकिन्छ । 
विभागका सूचना अधिकारी उप्रेतीका अनुसार श्रमिकले श्रम स्वीकृतिका लागि आवेदन गरेको अधिकतम तीन दिनभित्रमा श्रम स्वीकृति अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ । तर, श्रमिकले भने महिनौँ दिनअगाडि आवेदन दिँदा पनि श्रम स्वीकृति प्राप्त नभएको गुनासो गरेका छन् । 

अनलाइन श्रम स्वीकृति नपाएपछि श्रमिक उड्ने मितिभन्दा नै अगावै काठमाडौं आउनुपर्ने बाध्यता छ । जसले श्रमिकलाई आर्थिक भार थपिएको छ । त्यति मात्रै होइन, समयमा नै श्रम स्वीकृति नपाउँदा कतिपय श्रमिकको एयरलाइन्स टिकट नै गुमेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

गत साता १५० श्रमिकको टिकट रद्द 
राजेन्द्र भण्डारी, अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघ

अनलाइन श्रम स्वीकृति नपाएपछि श्रमिक उड्ने मितिभन्दा साताअगावै काठमाडौं आउनुपर्ने बाध्यता छ । जसले श्रमिकलाई आर्थिक भार थपिएको छ ।  समयमा नै श्रम स्वीकृति नपाउँदा कतिपय श्रमिकले एयरलाइन्स टिकट नै गुमाएका छन् । गत साता पनि एक सय ५० जना श्रमिकको टिकट रद्द भयो । उड्ने दिनसम्म पनि श्रम स्वीकृति नपाउँदा मानसिक तनाव खेप्नुपरेको छ । 

प्रणालीको क्षमता अभिवृद्धि नगर्दा समस्या
कविराज उप्रेती, सूचना अधिकारी, वैदेशिक रोजगार विभाग 

श्रम स्वीकृतिका लागि भनेर मात्रै सञ्चालन गरिएको प्रणालीमा अहिले वैदेशिक रोजगारीमा सबै काम हुन्छन् । श्रम स्वीकृतिदेखि प्रमाणीकरणको काम पनि प्रणालीबाट नै हुन्छ । तर, प्रणालीको क्षमता भने वृद्धि गरिएन । सोही कारण सफ्टवेयरमा समस्या आउने गरेको छ । अनलाइन प्रयोगकर्ताको संख्या अधिक भएपछि प्रणालीमा समस्या देखिएको छ । 

सुझावित समाचार