हुम्लाका बाढी–पहिरोपीडितलाई कांग्रेसले गर्‍यो राहत सहयोग

आइतबार, १७ मंसिर, २०८०
डिजिटल संस्करण
हुम्लाका बाढी–पहिरोपीडितलाई कांग्रेसले गर्‍यो राहत सहयोग

तस्बिर सौजन्य : पवित्रा देवकोटा

गत भदौ ३ र ४ गते परेको अविरल वर्षासँगै गएको बाढीपहिरोबाट पीडितलाई नेपाली कांग्रेसले १० लाख रुपैयाँबराबरको खाद्यान्न राहत सहयोग गरेको छ।

बाढीपहिरोबाट पीडितलाई मलमपट्टी लगाउने उद्देश्यले पार्टीले केन्द्रबाट उपलब्ध गराएको राहत पीडितलाई गाउँगाउँ पुगेर प्रदान गरिएको हुम्ला कांग्रेसले जनाएको छ।

नेपाली कांग्रेस हुम्लाका सभापति एवं अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले पार्टी केन्द्रबाट प्राप्त भएको १० लाख रुपैयाँबाट खाद्यान्न खरिद गरेर बाढी–पहिरोपीडितलाई वितरण गरिएको जानकारी दिए।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको पहलमा कांग्रेस सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कांग्रेस केन्द्रीय कार्यसमितिको तर्फबाट उक्त सहयोग प्रदान गरेका हुन्।

बाढीपहिरोमा एकजनाको मृत्यु भएको र पाँच सय ७५ घरधुरीको पाक्नै लागेको बालीनालीमा क्षति पुगेको थियो। पीडित सबै घरधुरीलाई ३० केजीको एक–एक बोरा खाद्यान्न सहयोग प्रदान गरेको शाहीले बताए।

सुझावित समाचार