कोप सम्मेलनमा राष्ट्रसंघीय महासचिवले उठाए नेपालको चासो

शनिबार, १६ मंसिर, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डले भने– नेपालप्रति अन्तर्राष्ट्रिय चासो बढ्यो

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) को उद्घाटन समारोहमा नेपालमा हिमनदी पग्लेको विषयलाई विश्वसामु उठाएका छन् । विश्वका एक सय ८० मुलुकका ५० हजार प्रतिनिधिमाझ दुबईमा आयोजित कोप–२८ उद्घाटन समारोहमा अन्टार्टिका र नेपालमा हिउँ पग्लेको विषय सुरुमै उठाएर विश्वको ध्यानाकर्षण गराएका हुन् । 

‘केही दिनअघि अन्टार्टिकाको बरफमा थिएँ । केही समयअघि नेपालको पग्लिरहेका हिमनदीमाझ थिएँ,’ कोप–२८ उद्घाटन सम्बोधनको सुरुवातमै महासचिव गुटेरेसले भने, ‘यी दुई ठाउँ धेरै टाढा छन्, तर संकटमा एकताबद्ध छन् । ध्रुवीय बरफ र हिमनदीहरू हाम्रो आँखाअगाडि हराउँदै छन्, जसले भूस्खलन र बाढीबाट बढ्दो समुद्रमा विनाश निम्त्याइरहेको छ ।’

महासचिव गुटेरेस एक महिनाअघि ११ देखि १५ कात्तिकसम्म नेपाल भ्रमणमा आएका थिए । त्यस क्रममा उनले एभरेस्ट र अन्नपूर्ण बेसक्याम्पको भ्रमण गरेका थिए भने जलवायु परिवर्तनबाट प्रभावित स्थानीय बासिन्दासँग पनि कुराकानी गरेका थिए । 

कोप–२८ सम्मेलनमा महासचिव गुटेरेसले हिउँ पग्लिने विषयलाई रोग भन्दै थपे, ‘यो हाम्रो मौसमलाई घुँडा टेक्ने रोगको एउटा लक्षण मात्र हो । रोग त तपाईं विश्वव्यापी नेताहरूले मात्रै निको पार्न सक्नुहुन्छ ।’

महासचिव गुटेरेसले नेपालको हिउँ र जलवायु संकटबारे सम्बोधन गरेपछि दुबईमै रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कोप–२८ का लागि शनिबार सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई नेपालले अवसरका रूपमा प्रयोग गर्ने बताएका छन् । कोप–२८ उद्घाटनपछि आयोजित अर्को कार्यक्रमलाई शुक्रबारै उनले सम्बोधन गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले कोप–२८ मा नेपाल विश्व समुदायको प्राथमिकतामा परेको जानकारी दिए । ‘उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिवले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्कटिकामा परेको भन्ने अभिव्यक्ति दिएबाट नेपाल विश्वकै नजरमा परेको पुष्टि भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । 

सरकारले जलवायु परिवर्तनको विषयलाई निकै महत्व दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । ‘वर्तमान युवा पुस्ता र भावी सन्ततिको जीवनका लागि गम्भीर छु । जलवायु परिवर्तनबाट परेको असरको क्षतिपूर्तिबापत नेपालले विशेष प्राथमिकता पाउनुपर्ने अधिकार राख्छ भन्ने कुरा बिस्तारै स्थापित हुनेछ,’ प्रधानमन्त्रीले भनेका छन् ।

प्रचण्डले जलवायु परिवर्तनको विषयलाई सरकारले निकै महत्व दिएको बताए । औद्योगिक राष्ट्रहरूले कार्बन उत्सर्जन कम गर्ने विषयमा आफ्नो धारणा राखिरहेका छन् भने औद्योगिक राष्ट्रहरूको अत्यधिक कार्बन उत्सर्जनबाट मार खेपिरहेका राष्ट्रहरूले भने क्षतिपूर्तिलाई आफ्नो मुख्य एजेन्डाका रूपमा राखिरहेका छन् । नेपालले यतिवेला जलवायु परिवर्तनमा विश्व समुदायको चुनौतीपूर्ण समस्याका रूपमा रहेको कुरा प्रस्टसँग राख्न लागेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । 

मोदी र क्युबाका राष्ट्रपतिसँग भेट
दुबईमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । साइडलाइन भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत १७ कात्तिकमा जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगबारे चासो राखेका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार भेटमा दुईपक्षीय हितबारे छलफल भएको छ । 

प्रधानमन्त्री प्रचण्ड र क्युबाका राष्ट्रपति मिगुइल म्यारियो डायज क्यानेलीबीच पनि भेटवार्ता भएको छ । भेटवार्तामा दुईपक्षीय हितबारे कुराकानी भएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल १३ मंसिरमा दुबई प्रस्थान गरेको हो । प्रधानमन्त्री आइतबार स्वदेश फर्किंदै छन् ।
 

See More On

सुझावित समाचार