अढाई महिना ग्राउन्डेड भएर उडेको दुई महिनामै निगमको न्यारोबडी फेरि ग्राउन्डेड

दिनकै सवा करोडसम्म आम्दानी गुम्ने

शुक्रबार, १५ मंसिर, २०८०
डिजिटल संस्करण

अढाई महिना ग्राउन्डेड भएर नियमित उडान सुरु गरेको दुई महिनामै नेपाल वायुसेवा निगम (नेवानि)को न्यारोबडी जहाज पुनः ग्राउन्डेड भएको छ । बायाँ इन्जिनमा समस्या आएपछि बुधबार राति बैंककबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरको ९एन–एकेएक्स कलसाइनको जहाज ग्राउन्डेड गरिएको हो । 

सो जहाजमा अब तीन साइकल (उडान–अवतरण) मात्र बाँकी छ, जुन इन्जिन मर्मत तथा फेरबदलका लागि राखिएको हो । १० मंसिरमा भारतको मुम्बईबाट काठमाडौंमा आएलगत्तै इन्जिनको बोरोस्कोप गरिएको थियो । बोरोस्कोप रिपोर्ट हेरेर इन्जिन निर्माता कम्पनीले जहाज १० साइकल मात्र उडाउन मिल्ने सुझाव दिएको थियो । त्यसयता जहाज हङकङ, दोहा र बैंककमा ६ साइकल उडान गरिसकेको छ । अब इन्जिन फेरेर मात्र जहाज उडाउन मिल्ने निगम स्रोतको भनाइ छ । ग्राउन्डेड एकेएक्सको दायाँ इन्जिन इजरायली कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई)बाट भाडामा ल्याइएको हो ।

यसअघि इन्जिनमै समस्या आएर ३१ असार ०८० मा ग्राउन्डेड भएको एकेएक्स जहाजलाई साढे दुई महिनापछि ११ असोजमा भाडाको इन्जिन राखेर नियमित उडान गरेको थियो । बिग्रिएको इन्जिन मर्मतका लागि इजरायली कम्पनी आइएआईलाई दिएर सोही कम्पनीबाट इन्जिन भाडामा ल्याइएको हो । निगम व्यवस्थापनले १७ सेप्टेम्बर (३१ भदौ)मा इन्जिन मर्मत तथा फेरबदलका लागि जहाज इजरायल पठाएको थियो । साढे दुई महिनासम्म आइएआईले एकेएक्सको इन्जिन मर्मत गरेर हस्तान्तरण गरेको छैन । त्यसअघि आइएआईले नै निगमको अर्को न्यारोबडी ९एन–एकेडब्लूको इन्जिन तीन महिनामा मर्मत सक्नुपर्ने भए पनि नौ महिना लगाएको थियो ।

निगम व्यवस्थापनको लापरबाहीले दुई महिनाअघि ७५ दिन जहाज ग्राउन्डेड हुँदा करिब ७९ करोड आम्दानी गुमेको थियो । साथै, अन्तर्राष्ट्रिय उडान पनि अस्तव्यस्त बनेको थियो । न्यारोबडी जहाज एक दिन ग्राउन्डेड हुँदा एक करोड पाँच लाख आम्दानी गुम्ने निगम स्रोत बताउँछ । अहिले ग्राउन्डेड भएको जहाजको इन्जिनमै समस्या आएको हुँदा कति दिनसम्म ग्राउन्डेड हुने पत्तो छैन ।

यस्तै, सन् २०२१ र सन् २०२२ मा निगमकै अर्को न्यारोबडी जहाज ९एन–एकेडब्लू दोहामा ७५ दिन र काठमाडौंमा ६२ दिन ग्राउन्डेड हुँदा निगमले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको थियो । एकेडब्लूका दुईवटा इन्जिन मर्मतमा करिब ५२ करोड र ६३ करोड गरी कुल एक अर्ब १५ करोडभन्दा बढी खर्च भएको थियो । अहिले पनि निगम व्यवस्थापनले एकेएक्सको इन्जिन मर्मतका लागि आइएआईलाई नै दिएको छ । 

निगम व्यवस्थापनले न्यारोबडी जहाजको लिजसहित इन्जिन मर्मतका लागि आइएआईसँग चार वर्षको एमआरओ सम्झौता गरेको छ । इन्जिन बिग्रिएको जानकारी गराएको सात दिनभित्र भाडाको इन्जिन दिने र ६० दिनभित्र इन्जिन मर्मत गरेर दिने सम्झौतमा उल्लेख रहेको स्रोतको भनाइ छ । तर, एकेएक्सको इन्जिन जनवरीसम्म मर्मत गरेर दिन सक्ने आइएआईले बताएको स्रोतको भनाइ छ । ‘सम्झौताबमोजिम सात दिनभित्र भाडाको इन्जिन उपलब्ध गराउनुपर्छ, तर मिलेमतोमा छनोट भएको कम्पनीले समयमै इन्जिन दिनेमा शंका छ,’ स्रोत भन्छ ।

सुझावित समाचार