आजियाटाले एनसेल छोड्ने

मलेसियाको स्टक एक्सचेन्ज कम्पनी बर्सा मलेसिया सेक्युरिटिजका अनुसार गत १२ असोजमा नै आजियाटाका सञ्चालकले एनसेलबाट बाहिरिने प्रस्तावलाई स्वीकृत गरेको थियो

बिहिबार, १४ मंसिर, २०८०
डिजिटल संस्करण

मलेसियन कम्पनी आजियाटाले दूरसञ्चार सेवा प्रदायक एनसेल कम्पनी छोड्ने निर्णय गरेको छ । नेपालमा व्यावसायिक वातावरण चुनौतीपूर्ण बन्दै गएको र व्यवसाय खस्कँदै गएको भन्दै आजियाटाले एनसेलमा रहेको आफ्नो सेयर बिक्री गर्ने निर्णय गरेको हो । आजियाटाले बुधबार सूचना जारी गरी एनसेलमा रहेको सेयर बिक्री गर्ने प्रस्ताव बोर्डबाट नै पारित भएको जनाएको छ । 

आजियाटा ग्रुपले एनसेलबाट तेस्रो त्रैमासमा २२ अर्ब ७३ करोड ८५ लाखको खुद नोक्सानी व्यहोरेको छ । मलेसियाको स्टक एक्सचेन्ज कम्पनी बर्सा मलेसिया सेक्युरिटिजका अनुसार गत १२ असोजमा नै आजियाटाका सञ्चालकले एनसेलबाट बाहिरिने प्रस्तावलाई स्वीकृत गरेको थियो । स्वीकृत भएको मितिले १२ महिनाभित्र सबै कारोबार टुंगो लगाइसक्ने जानकारी आजियाटाले गराएको थियो । मलेसियाली वित्तीय प्रतिवेदन मापदण्ड (एमएफआरएस) बमोजिम सञ्चालकले एनसेलबाट बाहिरिने निष्कर्ष निकालेको उल्लेख छ । 

आजियाटाले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार एनसेलको प्रतिफल घट्दै गएको छ । यसले आजियाटाको समग्र वित्तीय विवरण प्रभावित भएको उल्लेख गरिएको छ । विवरणअनुसार सन् २०१७ को तुलनामा सन् २०२३ मा आइपुग्दा व्यवसाय २० अर्बले घटेको छ । 

आजियाटाले नेपालमा टेलिकमको लाइसेन्स नवीकरणका लागि करिब १४ अर्ब आठ करोड रुपैयाँ सरकारलाई तिरिसकेको थियो । त्यस्तै, पुँजीगत लाभकर ११ अर्ब ३४ करोड राइट अफ गरेकोसमेत जानकारी गराएको छ । सम्पत्तिको क्षयीकरणबापत एनसेलले झन्डै २९ अर्ब दुई करोडको नोक्सानी व्यहोर्नुपरेको उल्लेख गरेको छ । एनसेलले सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । जब कि कम्पनीले सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।

त्यस्तै, सन् २०१७ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले २०१८ मा भने ५९ अर्ब ८१ करोड ७० लाख रुपैयाँ कारोबार गरेको थियो । सन् २०१९ मा ५५ अर्ब ३९ करोड ८० लाख रुपैयाँ कारोबार गरेको एनसेलले सन् २०२० मा ४६ अर्ब ८७ करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा ४० अर्ब ४२ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको विवरणमा उल्लेख छ । 

एनसेलले पछिल्लो समय आफ्नो बजार गुमाउँदै गएको आजियाटा समूहका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेद सुदले जनाएका छन् । यसैका कारण कम्पनीले आफ्नो सम्पत्ति बिक्री गर्ने निर्णय गरेको जनाएको छ । एनसेलमा आजियाटा समूहको ८० प्रतिशत लगानी छ भने २० प्रतिशत नेपाली व्यवसायी सतीशलाल आचार्यको सुनिभेरा क्यापिटलको नाममा छ । आजियाटा जारी गरेको विज्ञप्तिमा नेपालमा व्यावसायिक अवस्था चुनौतीपूर्ण रहेकाले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको हो । सोही निर्णयअनुसार बिक्रीका लागि राखिएको सम्पत्तिको रूपमा पुनः वर्गीकरण गरिएको जनाएको छ । 

आजियाटा समूहले ०७२ चैत ३० देखि एनसेलसँग व्यावसायिक गाठ जोडेको थियो । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार आजियाटा र एनसेलबीच व्यवसायिक समझदारी सुुरु भएको आव ०७२/७३ मा ५७ अर्ब ७२ करोड रुपैयाँको कारोबार गरेको थियो । तर, आव ०७९/८० मा एनसेलको कारोबार घटेर ३७ अर्ब ४४ करोडमा सीमित भएको छ । आजियाटाले एनसेलबाट आफ्नो लगानी बिक्री गर्ने विषयमा औपचारिक रूपमा नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नआएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । ‘आजियाटाले गरेको सम्पत्ति बिक्री गर्ने निर्णयको बारेमा हामीलाई जानकारी गराउनुपर्छ भन्ने पनि छैन । तर, सेयर खरिद बिक्री गर्ने समयमा भने प्राधिकरणको पूर्वस्वीकृति भने लिनुपर्नेछ,’ उनले भने । 
 

सुझावित समाचार