नेपाल सुपर लिग : काठमाडौंले चितवनलाई रोक्यो

बुधबार, १३ मंसिर, २०८०
डिजिटल संस्करण

साबिक विजेता काठमाडौं रेजर्सले अन्तिम इन्जुरी समयमा गोल गर्दै मंगलबार नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनलाई १–१ को बराबरीमा रोक्न सफल भएको छ । खेलको ८६औँ मिनेटमा चितवनले १–० को अग्रता लिएको थियो । चितवनले खेल लगभग आफ्नो नियन्त्रणमा राखेको थियो । तर, अन्तिम तीन मिनेटको इन्जुरी समयमा चितवनले सम्हालिएर खेल्न सकेन । यसको फाइदा काठमाडौंले उठायो ।

काठमाडौंले त्यही इन्जुरी समयमै गोल गर्दै महत्वपूर्ण एक अंक बटुल्यो । काठमाडौंले पहिलो खेलमा इलामलाई हराएको थियो । चितवन यसअघि पोखरासँग पराजित भएको थियो । दुई खेलपछि काठमाडौं चार अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । चितवनले दुई खेलबाट एक अंक हात पारेको छ । 

खेलको ८६औँ मिनेटमा चितवनले आत्मघाती गोलबाट १–० को अग्रता लियो । मैदान प्रवेश गरेलगत्तै नवयुग श्रेष्ठले डिबक्सभित्र विमल घर्तीमगरलाई क्रसपास निकालेका थिए । विमलले पोस्टनजिक दोस्रो बारमा बल प्रहार गरे । विमलले प्रहार गरेको बल सानो डिबक्सभित्र काठमाडौंका कोमिओनको खुट्टामा डिफ्लेक्ट हुँदै गोल भयो । काठमाडौंका अभिषेक बरालसँगै डिफ्लेक्ट भएको बल रोक्ने कुनै समय नहुँदा चितवनले अग्रता लियो । 

चितवनले अग्रता रक्षा गर्न सकेन
चितवनले आफ्नो अग्रता लामो समयसम्म टिकाउन सकेन । यद्यपि, लिगमा चितवन पहिलो जितको खोजीमा निकै नजिक पुगेको थियो । इन्जुरी समयमा एनकेंगे जुनियरले काठमाडौंलाई १–१ को बराबरीमा ल्याए । उनले डिबक्स भित्र तीन डिफेन्डरको बीचबाटै दोस्रो बारमा उत्कृष्ट भली गोल गरे । चितवनको गोलरक्षक विशाल श्रेष्ठसँग जुनियरको गोल प्रयास रोक्न समय नै थिएन । त्यसअघि दुवै टोलीले पहिलो तथा दोस्रो हाफमा स्पष्ट गोल अवसर चुकाएका थिए ।

 चितवनका विमलको पासमा रफिकको गोल प्रयासलाई काठमाडौंका गोलरक्षक अभिषेकले बचाए । खेलको १४औँ मिनेटमा काठमाडौंका तोजिदिनोभको २५ यार्ड टाढाबाट प्रहार गरेको बल क्रसबारनजिकबाट बाहिरिएको थियो । खेलको ४०औँ मिनेटमा चितवनका विमलको प्रहार पोस्टनजिक हुँदै बाहिरियो । खेलको ४९औँ मिनेटमा काठमाडौंका आन्द्रेस नियाको पासमा मार्की खेलाडी हिसुब थपलियाले सहज गोल अवसर चुकाए । 

सुझावित समाचार