श्रमदान गर्न जाजरकोट पुगेका कांग्रेस नेता प्रदीप पौडेलले जे देखे

मंगलबार, १२ मंसिर, २०८०
डिजिटल संस्करण
श्रमदान गर्न जाजरकोट पुगेका कांग्रेस नेता प्रदीप पौडेलले जे देखे

जाजरकोटमा भूकम्पपीडितलाई अस्थायी टहरा बनाउन सघाउँदै कांग्रेस नेता प्रदीप पौडेल

त्रिपालभित्र बालबालिका रोइरहेका छन्, वृद्धवृद्धा खोकिरहेका छन्, सुत्केरी चिसोले ग्रसित छन्

महामन्त्रीद्वय (गगन थापा र विश्वप्रकाश शर्मा) प्रभावित क्षेत्र पुगेर आएपछि पार्टीबाट टोली नै खटिएर श्रमदान गर्ने छलफल चल्यो । श्रमदानबाटै हजार अस्थायी घरटहरा बनाउने घोषणा पनि गर्‍यो । जिम्मेवारीपूर्ण ढंगले काम गर्दा राजनीतिक र सामाजिक रूपमा सकारात्मक सन्देश जाने पार्टीको विधिवत् निर्णयसँगै तिहारको भोलिपल्ट मेरो नेतृत्वमा टोली जाजरकोटका लागि हिँड्यो । 

भूकम्पको प्रभावबारे सञ्चारमाध्यमबाट जति जानकारी पाएको थिएँ, त्यहाँ पुग्दा झन् बढी प्रभावित भएको पाएँ । बाहिर ठीकठाक देखिएका घर पनि भित्र बस्नै नहुने गरी भत्किएका छन् । पूर्ण रूपमा भत्किएका घरमा त अन्नबाली सबै नष्ट छन् । प्रभावितहरू भोलि के खाने, राति के ओढ्ने भन्ने चिन्तामा छन् । चर्किएका घरबाट संकलन गरिएका लत्ताकपडा र अन्न बाँकी छन् । भग्नावशेष बनेका घरहरूको दृश्य असाध्यै डरलाग्दो छ । मान्छे तंग्रिनै नसकेको अवस्था छ । 

कोही पनि सहयोग गर्न नआएजस्तो, पीडितहरू असहायजस्तो देखियो । काम कसरी सुरु गर्ने भन्ने अन्योल भयो । किनभने, अधकल्चा घरबाट कुनै ढुंगा बज्रियो भने ज्यान जान सक्ने असुरक्षित अवस्था देखिन्छ । मान्छेहरू एउटै त्रिपालमुनि ६–७ जनासम्म सुत्नुपर्ने, कसैको ओछ्याउने नभएको, कसैको ओढ्ने नभएको अवस्था छ । 

कांग्रेस नेता प्रदीप पौडेल

जाजरकोटको तापक्रम ७ डिग्रीमा झरिसकेको छ । अब केही दिनमा हिउँ पर्छ, शीतलहर चल्छ । त्यसैले प्रभावितलाई न्यानो बनाउन जे–जे उपलब्ध गराउन सकिन्छ, तत्काल गर्नुपर्छ । अस्थायी घरटहरा बनाइहाल्नुपर्छ । यसका लागि राज्यले सुरक्षा संयन्त्र वा  दलहरूका संयन्त्रलाई स्वयंसेवकको भूमिकामा सक्रिय बनाउनुपर्छ । नत्र भूकम्पबाट जोगिएकाहरू जाडोबाट जोगिन नसक्ने अवस्था आयो भने राज्यले सहयोग गरेको ठहरिँदैन ।

त्रिपालमुनि बालबालिकाहरू रोइरहेका छन्, वृद्धवृद्धा खोकिरहेका छन्, सुत्केरीहरू चिसोले ग्रसित छन् । प्रभावित क्षेत्र गरिबीसँगै चेतनाको पक्षबाट पनि धेरै पछाडि देखिन्छ । छरिएका बस्तीहरूमा कम समयमा धेरै योगदान गर्न सक्ने अवस्था थिएन । तर, जति सकिन्छ, प्रयोग गर्नुपर्छ भन्ने लाग्यो । 

सुरुमा राज्यले आफ्नो उपस्थिति देखाएको महसुुस गर्न सकिन्थ्यो । पछिल्लो समय प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेपछि झन् विश्वास बढाएको थियो । तर, अहिलेसम्म पनि रकम कसैले पाउन सकेका छैनन् । स्थानीय  प्रशासनसँग बुझ्दा घोषणा भए पनि अझै दुई हप्ता लाग्ने बुझियो । खाता खोलेपछि पैसा जाने र तथ्यांक तयार गरेर सरकारलाई पठाउने, अनि सरकारले व्यक्तिगत खातामा रकम पठाएपछि निकालेर प्रयोग गर्न पाउने प्रक्रिया नै लामो भयो । विनियोजन भएको रकम पनि तथ्यांक नहुँदा पुगेन भन्ने अवस्था छ । रकम ठ्याक्कै व्यक्तिले प्राप्त नगरेसम्म त राज्यको उपस्थिति महसुस गर्न सक्दैन । जुन कुरा आवश्यक पर्दा पाइँदैन, समय सकिएपछि पाएर के अर्थ ? 

हामी पुग्दा त्यहाँको तापक्रम १५ डिग्री सेल्सियस थियो, फर्किँदा ७ डिग्रीमा झरिसकेको थियो । अब केही दिनमा हिउँ पर्छ, शीतलहर चल्छ । आज (सोमबार) बिहान मात्रै सुत्केरी महिलाको मृत्यु भएको सुनेँ । यो घटनाले त्यहाँ राज्यको भूमिका प्रभावकारी बन्न नसकेको देखाउँछ । राज्यले गरेको कोसिस कामयाब (सफल) नहुने स्थिति बन्ने हो कि ? यसमा राज्यले ध्यान दिन आवश्यक छ । 

आजका दिनमा प्रभावितलाई जाडोमा न्यानो बनाउन लत्ताकपडा, ब्ल्यांकेट, कम्बल, जे–जे उपलब्ध गराउन सकिन्छ, तत्काल गर्नुपर्छ । अस्थायी घरटहरा बनाइहाल्नुपर्छ । यसका लागि राज्यले सुरक्षा संयन्त्र वा राजनीतिक दलको संयन्त्रलाई स्वयंसेवकको भूमिकामा सक्रिय बनाउनुपर्छ । नत्र भूकम्पबाट जोगिएकाहरू जाडोबाट जोगिन नसक्ने अवस्था आयो भने राज्यले सहयोग गरेको ठहरिँदैन । 

पुगेको दिन साँझ परिसकेको थियो । टेन्टमा बसेका केही परिवारसँग राहत पाए–नपाएको विषयमा सोधपुछ मात्रै गरियो । भूकम्पले १० महिने बच्चा गुमाएको घरमा पनि पुग्यौँ । भोलिपल्ट हामीले ‘घर बनाउने सहयोगका लागि आएको, तपाईंहरूसँग भएको निर्माण दिनुहोस्’ भन्यौँ । तर, धेरैले यस्ता सुकिला मान्छेहरूले के गर्लान् ? फोटो खिचाउन आएका हुन् भन्ने ठाने । मिर्गौलासम्बन्धी औषधि सेवन गर्दै आउनुभएका एकजना वृद्ध बाले तपाईंहरूका सुकिला हातले यस्तो काम गर्दैन होला भनेर मुखै फोरेर भन्नुभयो । एकजना वृद्ध बाले मिर्गौलाको औषधि खाइरहनुभएको रहेछ । ३५ सयमा पाउने त्यो औषधि १० हजार पुगेको रहेछ । उहाँले मेरो जीवन अब ३–४ महिना त हो, मैले अर्को घर बनेको देख्न पाउँदिन होला भनेर दर्दनाक पीडा व्यक्त गर्नुभयो । 

तर, काम थालेपछि साथ दिने हातहरू जुट्दै जाने रहेछन् । हामीले जानीनजानी काँटी ठोकेको देखेपछि सीप भएका मिस्त्रीहरू सहयोग गर्न आइपुग्नुभयो । हामीले जुन घरमा काम गथ्र्यौँ, त्यो घरमा जे छ त्यही ल्याएर हामीलाई खुवाउनुहुन्थ्यो । हामी पनि पीडित जसरी टेन्टमा बसेका थियौँ । उहाँहरू आफू नओढेर पनि हामीलाई ओढ्ने–ओछ्याउने ल्याइदिनुहुन्थ्यो । खाजामा मुलाको पात खाँदा मुला पनि खानुस् न भन्नुहुन्थ्यो । फलेका अम्बा टिपेर खानुहोस् भन्नुहुन्थ्यो, काँचा मेवा काटेर खुवाउनुहुन्थ्यो । बिचरा ! उहाँहरू आफैँ के खाऊँ भन्ने अवस्थामा हुनुहुन्थ्यो । हामी हिँड्ने वेलासम्म यति सामीप्यता बढेको रहेछ कि उहाँहरूले रुँदै हामीलाई बिदा गर्नुभएको थियो ।

काम थालेको पहिलो दिन बेलुकासम्म दुई घर बनाएर देखाएपछि उहाँहरूले हामीलाई विश्वास गर्नुभयो । कतिले तपाईंहरूले घर बनाइदिँदा हामीले सरकारले दिएको रकम पनि नपाउने हो कि भनेर पनि सोध्नुभयो । हामीले वडाध्यक्षलाई जमानी राखेर जस्तापाता उधारोमा ल्याएका थियौँ । जस्तापाताकोे रकम कटौती हुन सक्छ भनेर भन्यौँ । जमिन भिराला थिए, खार्न समय लाग्थ्यो, खाल्डो खन्न समय लाग्थ्यो । त्यसपछि बलो, खाँबो, भाटा हाल्न हामीजस्तो प्राविधिक ज्ञान नभएकाले जान्दैनथ्यौँ । हाम्रा मिस्त्रीले सबै खाका बनाउनुहुन्थ्यो । भत्किएका संरचनाबाट सुरक्षित रूपले ढुंगा, खाँबो र भाटाहरू झिकेर घरहरू उभ्याउँदै गयौँ । चौथो दिन त धेरैजना घर बनाइदिन भनी आउनुभयो । हामीले बाँडिएर डेढ सय जति टहरारहरू बनायौँ । संरचना अभावले केही टहरा बार्न सकिएन । त्यसको विकल्पमा टेन्ट र भाटा लगायौँ । उहाँहरूले आफ्नै तरिकाले बार्छौँ भन्नुभयो । सात दिन प्रभावित क्षेत्रमा बिताएका हामीलाई काठमाडौं–जाजरकोट आउजाउमा अरू तीन दिन लाग्यो । 

राजनीतिक दलहरूले देशको बारेमा कुरा गरेर मात्रै भएन, स्वयंसेवकहरूलाई पुर्‍याउन सक्नुपर्‍यो । हाम्रो टिमले डेढ सयको हाराहारीमा अस्थायी घरटहरा बनायो । मिहिनेत गर्दा त हुने रहेछ भन्ने यसले देखाएको छ । सुरुमा महामन्त्रीहरूले दुई अस्थायी टहरा बनाउनुभएको थियो । उहाँहरूकै मोडल र सरकारको मापदण्डअनुसार त्यसलाई निरन्तरता दिएर मेरो नेतृत्वको टोलीले नलगाढ नगरपालिका– ५ रघुनाथ टोलबाट घरटहरा निर्माण सुरु गरेका हौँ । जाजरकोटमा श्रमदानबाट अस्थायी टहरा बनाउने हामी नै पहिलो टोली थियौँ । अहिले पनि कांग्रेसका साथीहरू त्यहाँ हुनुहुन्छ । अरू पार्टीका साथीहरू पनि जानुभएको भन्ने सुनिएको छ । 

मेरो अनुभवमा ०७२ को भूकम्पमा सेना प्रहरी लगाएर छिट्टै भग्नावशेष पन्छाइएको थियो । तर, जाजरकोट भूकम्पमा यस्तो काममा सुरक्षाकर्मी प्रवेश गरेकै थिएन । जसकारण भद्रगोल संरचना देखिएको छ । यसले मानिसको मनोविज्ञानलाई त्रसित बनाएको छ । मान्छेहरू को आउलान् भनेर टुलुटुलु हेरिरहेका छन् । सरकारको अभाव महसुस गरेका छन् । तथ्यांक नबनेर रकम वितरण गर्न नसकिएको विषयमा प्रभावित क्षेत्रमै रहँदा मैले सरकारको ध्यानाकर्षण गराएको थिएँ । आवश्यक सामग्रीका लागि सरकारले सहयोग गर्न चाहनेलाई पनि आह्वान गर्न सक्थ्यो । एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिएको छ, तर प्रणाली प्रभावकारी भएको छैन । सदरमुकाम खलंगाबाट धेरै टाढा राहत पुर्‍याउन सकिएको छैन । कति त अब आफैँले गर्नुपर्ने रहेछ भनेर लाग्नुभएको छ । विद्यालयमा पढाइ सुरु हुन सकेको छैन । 

सरकारले जाजरकोट र रुकुम पश्चिममा मात्र शक्ति केन्द्रित गरेर विपत् व्यवस्थापन गर्न सक्थ्यो । राजनीतिक दलले पनि यो वेला अरू कुरा गर्नुभन्दा प्रभावित क्षेत्रका लागि योजना बनाउन सक्छन् । काठमाडौंको जुलुसभन्दा जाजरकोट र रुकुम पश्चिममा स्वयंसेवक परिचालन गरेर देखाए हुन्थ्यो । त्यसले सकारात्मक सन्देश जान्थ्यो । देशको प्राथमिकतामा जाजरकोट र रुकुम पश्चिमको समस्या परेको देखिएन । मैले विश्वासको मत दिएको प्रधानमन्त्रीको प्रशंसा सुन्न पाइयोस्, पीडितहरूले सरकारबाट हामीले धेरै सहयोग पाएका छौँ भनेको सुन्न पाइयोस् भन्ने मेरो अपेक्षा हो । अरू दललाई पनि मेरो आग्रह– यो वेला अरू कुरामा नलागौँ । दलहरूको धेरै ठूलो सञ्जाल छ, त्यसलाई श्रमदानमा परिचालन गरौँ । राजनीतिमा अविश्वास बढेको यो वेला राजनीतिक दलमा विश्वास बढाउने वातावरण पनि बनाउन सकिन्छ । 

प्रभावित क्षेत्रका ९० प्रतिशत संरचना कामै नलाग्ने छन् । सरकारले छुट्याउने भनेको तीन–चार लाखले त्यस क्षेत्रमा घर बन्ने अवस्था छैन । यही रकममा घर बनाउने हो भने सरकारले प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ । 

(भूकम्प प्रभावित जाजरकोटमा कांग्रेस टोलीको नेतृत्व गरी श्रमदान गरेर फर्किएका कांग्रेस केन्द्रीय सदस्य तथा सांसद पौडेलले नयाँ पत्रिकाका केशवप्रसाद पाण्डेसँग गरेको कुराकानीमा आधारित)
 

सुझावित समाचार