‘भूतप्रेत’ हटाउन कमला नदीमा स्नान [तस्बिरहरू]

सोमबार, ११ मंसिर, २०८०
डिजिटल संस्करण

कात्तिक शुक्ल पूर्णिमाको दिन सोमबार सिराहा र धनुषाको सीमावर्ती कमला नदीमा ‘भूतप्रेत’ भगाउने दाबीसहित काम्दै, बर्बराउँदै कमला स्नान गर्न आउनेहरूको ठूलो भिड लागेको छ।   

कात्तिक शुक्ल पूर्णिमाको अवसरमा सोमबार बिहान सबेरैदेखि सिराहाको कर्जन्हा नगरपालिका– १ मा पर्ने कमलाको उत्तरवाहिनी, ब्यारेज, पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, बसबिट्टा र छिमेकी मुलुक भारत जयनगरको कमला ब्यारेजमा स्नान गर्न आउनेहरूको ठूलो भिड लागेको हो। 

हातमा धुपौरो, बेत वा बाँसको लठ्ठी समातेर काम्दै धामीले अह्राएअनुसार पूजासहित नदीमा स्नान गरे शरीरमा प्रवेश गरेको ‘भूतप्रेत’ उत्रिने र व्यक्तिगत र परिवारमा सुखशान्ति हुने मान्यतामा हजारौँको भिड लागेको हो। कमला नदीलाई साक्षी राखेर धामी–झाँक्रीको उपस्थितिमा ‘भूतप्रेत’बाट सताएका भनिएकाहरूले काम्दै नदीमा स्नान गरेपछि शरीरबाट ‘भूतप्रेत’ उत्रिने र स्वस्थ हुने मान्यता रहेको धामी–झाँक्रीहरूले दाबी गरे। 

उत्तरवाहिनीमा स्नान गरी धामी–झाँक्रीले भनेबमोजिम काम्दै पूजा गर्नेहरूमा महिलाको संख्या बढी देखिन्छ। कात्तिक शुक्ल पूर्णिमामा कमला नदी स्नानका लागि धामी–झाँक्रीसँगै सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट र भारतको बिहारसम्मका मानिस आउने गरेको कर्जन्हा– १ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले बताए। 

सुझावित समाचार