दोस्रो नेपाल सुपर लिग (एनएसएल) आजदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । कुल ४० खेल हुने एनएसएलको उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलामको सामना गर्नेछ । काठमाडौं र इलामका मार्की खेलाडी राष्ट्रिय फुटबल टोलीका हुन् ।
काठमाडौंका मार्की स्ट्राइकर हिसुव थपलिया भने इलामका विकेश कुथू हुन् । साबिक विजेता काठमाडौंका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले उपाधि रक्षा गर्न चुनौती रहेको बताएका छन् । उनले उपाधि रक्षा गर्ने योजनाअनुरूप टोली तयार भएको बताए । ‘हामी साबिक विजेता हौँ, यसपटक उपाधि रक्षा गर्ने लक्ष्य छ,’ प्रशिक्षक महर्जनले भने, ‘लिगमा विदेशी खेलाडी नै निर्णायक हुन सक्छन् ।’
काठमाडौंमा आबद्ध नेपाली खेलाडी लयमा रहेको उनले बताए । ‘हामीसँग भएका लोकल खेलाडी लयमा छन्, स्थानीय र विदेशी खेलाडीको भरमा लिगमा सुखद सुरुवात चाहन्छौँ,’ उनले भने । तीन वर्षअघि पहिलो संस्करणको फाइनलमा धनगढी एफसीलाई १–० ले हराउँदै काठमाडौं च्याम्पियन बनेको थियो । यामाहाको स्वामित्वमा रहेको काठमाडौंले क्यामरुनका तीन र उज्वेकिस्तानका दुई खेलाडी भित्र्याएको छ ।
टोलीमा राष्ट्रिय टोलीबाट हिसुवसँगै अभिषेक बराल र अञ्जन राई छन् । यसैगरी, राष्ट्रिय टोलीबाट खेलिसकेका प्रशान्त अवस्थी रहँदा उमेर समूहबाट खेलेका कुलदीप कार्की, एञ्जल श्रेष्ठ, मौसम सुब्बा, जियारथ शेखलाई काठमाडौंले भिœयाएको छ । प्रतियोगिताको नियमअनुसार नै दुवै टोलीले समान पाँच विदेशी खेलाडी अनुबन्ध गरेका छन् । विदेशी खेलाडी नै निर्णायक हुने हुँदा यसपटक काठमाडौं र इलामले पाँचै विदेशी खेलाडी खेलाउने योजना बनाएका छन् ।
यसपटक इलामसँगै वीरगन्ज युनाइटेड एफसी र झापा एफसी नयाँ टोली हुन् । गत सिजन निकै चर्चा कमाएको विराटनगर सिटी एफसीले आयोजकसँग असन्तुष्टि जनाउँदै नाम फिर्ता लिएको छ । प्रतियोगितामा काठमाडौं, धनगढी, इलाम, झापा, वीरगन्जसहित एफसी चितवन, बुटवल लुम्बिनी, पोखरा थन्डर्स र ललितपुर सिटी एफसी छन् ।
लुम्बिनीको जर्सी सार्वजनिक
फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले दोस्रो संस्करणका लागि आफ्नो जर्सी सावर्जनिक गरेको छ । बिहीबार बुटबलले होम एन्ड अवे जर्सी सावर्जनिक गरेको हो । एरिक विष्ट मार्की रहेको बुटवलले आशिष लामालाई आइकोनिक खेलाडीका रूपमा भित्र्याएको छ । टोलीको प्रशिक्षण विजय महर्जनले सम्हालेका छन् । बुटवलले शनिबार ललितपुर सिटी एफसीसँग खेल्नेछ । बुटवल यशोदा फुड्सको करेन्ट तयारी चाउचाउ र एमडिएसी स्पोर्टस्को स्वामित्वमा रहेको टोली हो । क्लबलाई करेन्ट चाउचाउले टाइटल स्पोन्सर गरेको छ ।
डेब्युमै जित्ने योजना
लिगमा नयाँ टोलीमध्ये इलाम एक हो । पछिल्लो संस्करणमा काठमाडौंलाई उपाधि दिलाएका विकेश कुथू अहिले इलामका मार्की तथा कप्तान बनेका छन् । इलामले आफ्नो पहिलो सहभागितामै राम्रो नतिजा निकाल्न घरेलु फुटबलकै सफल प्रशिक्षक मानिने मेघराज केसीलाई अनुबन्ध गरेको छ ।
इलामले टोली बलियो बनाउन सेनेगलका तीन खेलाडी अनुबन्ध गरेको छ । गिनी र भारतका एक–एक खेलाडी छन् । राष्ट्रिय टोलीबाट खेलेका अधिकांश खेलाडी इलाममा छन् । विकेशसँगै पूर्वकप्तान विराज महर्जन, भरत खवास, नवीन लामा, जितेन्द्र कार्की र आशिष गुरुङको साथ इलामलाई छ । उमेर समूहबाट खेलेका दीपेश घले, सन्तोष खत्री र सन्तोष महत पनि इलामै छन् ।
प्रशिक्षक केसीले प्रतियोगिताका लागि छोटो समय प्राप्त भएको बताएका छन् । उनले सबै खेलाडी फिट रहेको जनाए । ‘प्रतियोगितामा जित नै लक्ष्य हो, कम समयमा तयारी यसैअनुसार गरेका छौँ,’ केसीले भने, ‘विदेशी खेलाडीसहित राम्रो टोली बनेको छ ।’ कप्तान विकेशले पनि जितबाट प्रतियोगिताको सुरु हुने जनाए । ‘पहिलो संस्करणमा काठमाडौंलाई च्याम्पियन बनाएको थिएँ । अब इलाममा पनि यही लक्ष्यका साथ अगाडि बढ्नेछु,’ उनले भने ।