युवा एमेच्योर गल्फर सद्भाव आचार्यले करिअरको दोस्रो उपाधि जितेका छन् । उनले सूर्य नेपाल गल्फ टुर– २०२३/२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि हात पारेका हुन् । सद्भाव प्रोफेसनल खेलाडी दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराउँदै करिअरको दोस्रो उपाधि जिते । उनले आफ्नो पहिलो उपाधिका रूपमा गत सिजन सूर्य नेपाल च्यालेन्ज जितेका थिए ।
अन्तिम दिन बिहीबार सद्भावले ३ अन्डर ६९ स्कोर गरे । च्याम्पियन बन्ने क्रममा उनले समग्रमा १७ अन्डर २७१ को उत्कृष्ट नतिजा निकाले । ३३ प्रोफेसनल गल्फरलाई माथ दिँदै प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि उनले जिते । इभन पार ७२ खेल्दै समग्रमा १० अन्डर २७८ सहित दिनेश दोस्रो भए । प्रोफेसनलतर्फ पहिलो हुँदा उनले १ लाख ४५ हजार पुरस्कार प्राप्त गरे । समग्रमा ७ अन्डर २८१ कार्ड लेखाएका भुवन नगरकोटी तेस्रो भए । उनले अन्तिम दिन इभन पार ७२ खेल्दै खेल सकाए ।
प्रोफेसनलतर्फ दोस्रो हुँदा उनले ९४ हजार रुपैयाँ पाए । सञ्जय लामाले समग्रमा इभन पार २८८ प्रदर्शन गर्दै चौथो स्थान हात पारे । प्रोफेसनलतर्फ तेस्रो भएका उनलाई ७० हजार प्रदान गरियो । समग्रमा २ ओभर २९० को स्कोर गरेका नीरज तामाङ पाँचौँ भए । उनले अन्तिम १८ होलको खेल इभन पार ७२ मा सकाउँदै ५८ हजार रुपैयाँ जिते । प्रतियोगिताको शीर्ष स्थानमा रहेका टासी छिरिङ एमेच्योरतर्फ दोस्रो भएका छन् । उनले समग्रमा ३ ओभर २९१ को कार्ड लेखाए । उनी समग्रमा उनी छैटौँ भए ।
लगातार दोस्रो दिनदेखि उपाधितर्फ लम्केका सद्भावले अन्तिम १८ होलको सुरुमा ४ स्ट्रोकको अग्रता लिएका थिए । उनले पहिलो र दोस्रो होलमा लगातार दुई बोगी प्रहार गर । दिनेशले पहिलो दुई होलमा पार बचाउँदा ५ पारको तेस्रो होलमा इगल निकाले ।