प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन्।
नेपाल सरकारको मन्त्रिपरिषद्ले सरकारी लिखतहरूमा नेपाल संवतसमेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
‘आजको परिवर्तन साना दुःखले आएको होइन। यो व्यवस्थाका निम्ति हजारौँले रगत बगाएका छन्, हजारौँले जेलनेल भोगेका छन्। लाखौँ जनताले संघर्ष गरेका छन्। यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन,’ प्रधानमन्त्रीले भने, ‘संसारकै नियम हो– पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोज्छन्। अहिले पनि त्यही कोसिस हुँदै छ।’
प्रधानमन्त्रीले नेपाल संवत् नेपालको मौलिक संवत् भएको उल्लेख गरे।