एमेच्योर युवा गल्फर सद्भाव आचार्यले मंगलबार सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन ३ स्ट्रोकको अग्रता लिँदै शीर्ष स्थानमाथि कब्जा जमाएका छन् । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगितामा राष्ट्रिय गल्फ टोलीका सदस्य सद्भावले गोकर्ण गल्फ क्लबमा ४ अन्डर ६८ स्कोर गरे । उनले समग्रमा १०–अन्डर १ सय ३४ कार्ड लेखाए ।
दोस्रो स्थानमा रहेका प्रोफेसनल गल्फर दिनेश प्रजापति सद्भावभन्दा ३ स्ट्रोकले पछि पारेका छन् । दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा दिनेशले ७ अन्डर ६५ खेलेका थिए । उनले समग्रमा ७ अन्डर १ सय ३७ सहित उनी दोस्रो स्थानमा उक्लिएका हुन् ।
तेस्रो स्थानमा प्रोफेसनल गल्फर जयराम श्रेष्ठ रहे । उनले समग्रमा ५ अन्डर १ सय ३९ को स्कोर गरेका थिए । पहिलो दिन शीर्ष स्थानमा रहेका एमेच्योर टासी छिरिङ २ अन्डर १ सय ४२ को कार्डका साथ चौथो स्थानमा झरेका छन् । दोस्रो दिन उनले ५ ओभर ७७ को बिर्सनलायक प्रदर्शन गरेका थिए ।
३ अन्डर ६९ स्कोर गरेका धनबहादुर थापा समग्रमा १ अन्डर १ सय ४३ सहित पाँचाैँ स्थानमा छन् । इभन पार १ सय ४४ सहित भुवन नगरकोटी छैटौँ स्थानमा छन् । उनले १ अन्डर ७१ को कार्ड लेखाएका थिए । समग्रमा १ ओभर १ सय ४५ स्कोरका साथ सञ्जय लामा र नीरज तामाङले संयुक्त रूपमा सातौँ स्थान छन् ।
फ्रन्ट र ब्याक नाइनमा सद्भाव बलियो
शीर्ष स्थानमा उक्लने क्रममा सद्भावले चौथो, छैटौँ र सातौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३ अन्डर ३३ को कार्ड खेलाएका थिए । उनले ब्याक नाइन १ अन्डर ३५ को कार्डसहित होल पूरा गरे । दोस्रो स्थानमा रहेका दिनेशले उत्कृष्ट प्रदर्शन गर्दै फ्रन्ट नाइन ५ अन्डर ३१ खेलेका थिए । उनले पहिलो, तेस्रो, चौथो, छैटौँ र सातौँ होलमा बर्डी निकाल्न सफल भए । यसपछि दिनेशले ११औँ, १५औँ, १६औँ र १७ औँ होलमा चार बर्डी प्रहार गरेका थिए । यस नतिाजामा उनी ब्याक नाइन २ अन्डर ३४ को कार्डमा परे । उनी प्रोफेसनलतर्फ सबैभन्दा अगाडि रहेका छन् ।
जयरामले पहिलो, तेस्रो, चौथो, छैटौँ र सातौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ५ अन्डर ३१ को कार्डमा फ्रन्ट नाइन सकाए । उनले ब्याक नाइनमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । ब्याक नाइनमा उनले ११औँ र १६औँ होलमा बर्डी प्रहार गरेका थिए । उनले १३औँ र १७औँ होलमा बोगी र १४औँ होलमा डबल बोगीको सामना गरे ।