पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएको समस्या र समाधानबारे नेपाल राष्ट्र बैंकले मंगलबार मात्र अध्ययन प्रतिवेदन प्रकाशित गरेको छ । उक्त प्रतिवेदनले लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधान गर्न विभिन्न सिफारिस गरेको छ । अब आवश्यक प्रक्रिया पूरा गरेर उक्त सुझावअनुसार नीतिगत निर्णय होलान् । साथै, त्यसको कार्यान्वयन पनि हुँदै जाला । त्यसले लघुवित्त क्षेत्रको समस्या पक्कै पनि समाधान गर्छ ।
अब भने हामीले लघुवित्त क्षेत्रको समस्या समाधान दीर्घकालीन रूपमा नै गर्नुपर्छ । त्यसका लागि लघुवित्त संस्थालाई नाफामूलक तथा कमर्सियल बैंकिङभन्दा पनि सामाजिक बैंकिङका रूपमा अघि बढाउनुपर्छ । समग्रमा लघुवित्त वित्तीय संस्थाहरूलाई लघुवित्तको परिभाषाअनुसार नै अघि बढाउनुपर्छ ।
समाजमा ब्यांकएबल र गैरब्यांकएबल गरी दुई प्रकारका समुदाय हुन्छन् । एक, ब्यांकएबल समुदायसँग उद्यम, धितो, व्यावसायिक योजना हुन्छन् । जसले गर्दा उनीहरूले प्रत्यक्ष रूपमा कमर्सियल बैंकबाटै कर्जाजस्ता वित्तीय सेवा लिन सक्छन् । तर, समाजमा कुनै पनि अचल सम्पत्ति नभएका, व्यवसाय नभएका व्यक्ति पनि हुन्छन्, जोसँग बैंकमा राख्ने धितोसमेत हुँदैन । तर, उनीहरूलाई कर्जाजस्तो वित्तीय सेवा भने चाहिन्छ । बैंकमा राख्न धितो नहुँदा उनीहरू कमर्सियल बैंकको कर्जाजस्ता वित्तीय सेवाबाट वञ्चित हुन्छन् । साथै, उनीहरू जोखिम पनि लिन सक्दैनन् । त्यो अवस्थामा विपन्न वर्गका समुदायलाई समेत वित्तीय सेवा दिने उद्देश्यअनुसार सामाजिक बैंकिङको अवधारणामा विश्वबजारमै लघुवित्त आएको हो ।
नेपालमा पनि सामाजिक बैंकिङ अर्थात् गरिब, सीमान्तकृत, निम्नवर्गका समुदायमा वित्तीय सेवा पुर्याउने उद्देश्यअनुसार नै लघुवित्त वित्तीय संस्थाको स्थापना गरिएको हो । त्यस्ता समुदायमा वित्तीय पहुँच पुर्याउने, कर्जा विस्तार गर्ने उद्देश्यअनुसार नै राष्ट्र बैंकले लघुवित्तलाई सञ्चालनको अनुमति दिएको हो । सोही कारण नेपालमा वित्तीय पहुँच बढेको पनि छ, यो राम्रो पक्ष हो । तर, राष्ट्र बैंक कहाँ चुक्यो भने लघुवित्तलाई सामाजिक बैंकिङको मोडेलमा अघि बढाउन सकेन । लघुवित्तहरू सामाजिक बैंकिङभन्दा पनि कमर्सियल बैंकिङकै मोडेलमा अघि गए, उनीहरू नाफामै केन्द्रित भए । त्यसैले गर्दा अहिले यस्तो समस्या आएको हो ।
स्रोतको अभाव हुँदा पनि अहिले लघुवित्तमा समस्या आएको हो । तसर्थ, अब लघुवित्तका लागि छुट्टै विशेष कोष स्थापना गर्नुपर्छ र त्यसकै पैसामार्फत लघुवित्तले विपन्न वर्गमा कर्जाजस्ता वित्तीय सेवा प्रवाह गर्नुपर्छ ।
राष्ट्र बैंकले सुरुमै लघुवित्तका प्रमोटर (लगानीकर्ता)लाई तपाईंहरू नाफामा केन्द्रित हुने होइन, थोरै नाफामा सामाजिक बैंकिङ विस्तार गर्ने (गरिब, सीमान्तकृतलगायतका समुदायलाई वित्तीय सेवा दिने) भनेर तालिम नै दिनुपर्ने हो । तर, त्यो कुरा राष्ट्र बैंकले प्रमोटरलाई बुझाउन सकेन । स्थापित हुनका लागि लघुवित्त सुरुका केही समय कमर्सियल मोडेलमा अघि बढ्न आवश्यक थियो होला । तर, सधैँभरि नै त्यो मोडेल आवश्यक होइन । तर, लघुवित्तहरू वित्तीय रूपमै बलियोसँग स्थापित हुँदा पनि राष्ट्र बैंकले लघुवित्तलाई सामाजिक बैंकिङको मोडेलमा अघि बढाउन सकेन । लघुवित्त पनि ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंकजस्तै कमर्सियल मोडेलमै सञ्चालन भए । राष्ट्र बैंकले सामाजिक बैंकिङको रूपमा लघुवित्तलाई अघि बढाएको भए यो समस्या नै आउने थिएन ।
साथै, स्वयं लघुवित्त वित्तीय संस्था पनि सामाजिक बैंकिङ मोडेलमा अघि बढेनन् । सञ्चालकले प्रमुख कार्यकारी अधिकृत (सिइओ)लगायतका व्यवस्थापन समूह, शाखा प्रमुखलगायतका उच्चपदस्थ कर्मचारीलाई व्यवसाय तथा नाफा कमाउने टारगेट दिने प्रवृत्ति पनि देखियो । त्यसले गर्दा पनि लघुवित्त क्षेत्रमा समस्या देखिएको हो ।
सुरु–सुरुमा लघुवित्त क्षेत्रमा समस्या आएन । कमर्सियल बैंकको तुलनामा लघुवित्तको ब्याजदर यसै पनि बढी हुन्छ । त्यसमाथि नाफा कमाउने नाममा पहिला लघुवित्तले २३–२४ प्रतिशतसम्म ब्याज लिए । यद्यपि, राष्ट्र बैंकले पछि त्यसलाई नियन्त्रण गर्यो । तर पनि लघुवित्तको ब्याजदर उच्च नै छ । तर, उता ऋणीको कर्जा तिर्ने क्षमता कम भयो ।
उनीहरूले कर्जा लगेर उत्पादनमा लगानी गरेनन् । अधिकांश ऋण घरखर्चमै प्रयोग भयो । त्यसले गर्दा ऋणीहरूको ऋण तिर्ने क्षमता बढ्न सकेन । त्यसपछि उनीहरूले अर्काे लघुवित्तबाट ऋण लिएर लघुवित्तकै ऋण तिर्न थाले । बिस्तारै–बिस्तारै मल्टिपल बैंकिङको समस्या व्यापक भयो । लघुवित्तहरू अल्पकालीन नाफामा केन्द्रित भए । त्यसले गर्दा समस्या देखिएको छ ।
लघुवित्त सामाजिक बैंकिङ हो भन्ने, गरिबी निवारण गर्न स्थापना गरिएको भनेर तर्क पनि गर्ने, तर कार्यसम्पादन भने कमर्सियल बैंकको जस्तै छ । नाफामा केन्द्रित हुने, सेयरबजारमा सूचीकृत हुने, कर्मचारीलाई व्यवसायको टारगेट दिने विषय लघुवित्तको अवधारणामै पर्दैन, जुन नेपालका लघुवित्तले गर्दै आएका छन् । त्यसमाथि राष्ट्र बैंकको नियमन पनि बलियो तथा प्रभावकारी देखिएन । अनि कहाँबाट समस्या समाधान हुन्छ ?
कुनै एक ग्राहकलाई लघुवित्तको सेवाबाट निश्चित अवधिमा आर्थिक रूपमा बलियो बनाएर निजलाई कर्जा लगानी गर्न छोड्नुपर्छ । अथवा, ग्राहकलाई वाणिज्य बैंकबाट कर्जा पाउन योग्य बनाएर लघुवित्तले आफ्नो सेवा दिन छोड्नुपर्छ ।
लघुवित्तहरू बलियो हुन सुरुमा केही समय कमर्सियल हुनुपथ्र्याे होला । तर, सदावहार त्यो आवश्यक होइन । कमर्सियल बैंकिङ गर्ने कि सामाजिक बैंकिङ गर्ने भनेर लघुवित्तहरूले छुट्याउनुपर्ने थियो, जुन गरिएन । लघुवित्त पनि एउटै ग्राहकलाई सधैँभरि लुट्ने रणनीतिमा गए । वास्तवमा लघुवित्तको ग्राहक स्थायी हुनुहुँदैन । कुनै एक ग्राहकलाई लघुवित्तको सेवाबाट निश्चित अवधिमा आर्थिक रूपमा बलियो बनाएर निजलाई कर्जा लगानी गर्न छोड्नुपर्छ । अथवा, ग्राहकलाई वाणिज्य बैंकबाट कर्जा पाउन योग्य बनाएर लघुवित्तले आफ्नो सेवा दिन छोड्नुपर्छ । तर, लघुवित्तहरू ग्राहकलाई सधैँभरि आफैँ कर्जा दिएर लुट्ने रणनीतिमा अघि बढे । उनीहरूको क्षमता विकासमा सहयोग गरेनन् । यस कारण पनि समस्या आएको हो ।
यसैगरी, स्रोतको अभावले पनि यस्तो समस्या आएको हो । लघुवित्तका लागि वित्तीय स्रोत भनेको कमर्सियल बैंकलगायतका दातृ निकाय हुन् । उनीहरूले वाणिज्य बैंकहरूबाट कर्जा ल्याएर ग्राहकलाई कर्जा प्रवाह गर्ने हो । त्यस्तो कर्जा ल्याउँदा लेयर (तह) बढी हुन्छ । त्यसले स्वतः ब्याजदर बढाउँछ । त्यसको भार ग्राहकलाई परेको छ ।
मुख्यतः लघुवित्तको मुख्य जड समस्या नै यिनै हुन् । तसर्थ, यसकै आधारमा समाधानको बाटो खोज्नुपर्छ । स्रोतको अभाव हुँदा पनि अहिले लघुवित्तमा समस्या आएको हो । तसर्थ, अब लघुवित्तका लागि छुट्टै विशेष कोष स्थापना गर्नुपर्छ र त्यसकै पैसामार्फत लघुवित्तले विपन्न वर्गमा कर्जाजस्ता वित्तीय सेवा प्रवाह गर्नुपर्छ ।
अहिले कमर्सियल बैंकहरूले विपन्न क्षेत्रमा ५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने प्रावधान छ । तर पनि नेपालमा गरिबी निवारण भएको छैन । तसर्थ, अब त्यस्तो पैसा, सरकारका विभिन्न कोष भएको पैसा एकै ठाउँमा जम्मा गरेर एउटा विशेष कोष बनाउनुपर्छ र त्यही पैसामार्फत नै लघुवित्तले विपन्न क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्छ । त्यसो गर्दा लघुवित्तहरूमा तरलता अभावको समस्या हुँदैन । साथै, कर्जाको ब्याजदर सस्तो बनाउन पनि ठूलो सहयोग पुग्छ । साथै, लघुवित्तको मोडेल नै सामाजिक बैंकिङ बनाउनुपर्छ । लगानीकर्तालाई नै तिमीहरू नाफामूलक होइन, थोरै नाफामा विपन्न वर्गमा वित्तीय सेवा विस्तार गर्न कन्भिन्स गराउनुपर्छ ।
(पोखरेल लघुवित्त विज्ञ हुन्)