प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनका पक्षमा वर्तमान सरकारले महत्वपूर्ण कदम चालेको बताएका छन् । आइतबार रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका– १ मैकोटमा आयोजित मइँ छिउँ सकराँत उत्सवमा उनले सरकार सुशासन कायम गर्ने सवालमा निर्मम तरिकाले लागेको बताए ।
‘चाहे मधेशका मिटरब्याजी, नक्कली भुटानी शरणार्थी काण्ड हुन् वा सुनकाण्ड सरकारले सुशासन प्रवद्र्धन र भ्रष्टाचार निर्मूल पार्न दह्रोसँग संघर्ष गरिरहेको छ,’ उनले भने, ‘सुशासन कायम गर्ने सवालमा वर्तमान सरकार इतिहासकै सफल हो ।’ प्रचण्डले सरकारको काम गर्ने शैली देखेर भ्रष्टाचारी र दलालहरू आत्तिएको बताए । उनीहरू यो गठनबन्धनलाई कमजोर बनाएर सरकारलाई ढाल्न सकिन्छ कि भनेर लागिपरेको बताउँदै प्रचण्डले सपना पूरा नहुने बताए । अन्तर्राष्ट्रिय सम्बन्ध सुधार, सीमा विवाद समाधान, सुशासन, सामाजिक सुरक्षा, मिटरब्याजीको चंगुलबाट गरिबलाई मुक्त गर्नेलगायत पक्षबाट यो सरकार सफल रहेको उनले दाबी गरे ।
प्रधानमन्त्री प्रचण्डले गठबन्धन पाँचै वर्ष टिक्नेसमेत दाबी गरे । ‘गठनबन्धनका विषयमा अब कुनै समस्या छैन, वेला–वेलामा प्रतिगामीहरू गठबन्धन भत्काउन लागिपर्छन्, तर गठबन्धनको उद्देश्य र लक्ष्य स्पष्ट भएका कारण गठबन्धन झन् मजबुत बन्दै गइरहेको छ,’ उनले भने । गठबन्धन बीचमै नटुट्ने र सत्ता समीकरणमा समेत फेरबदल हुने कुनै संकेत नरहेको उनले बताए । समाजवादी मोर्चासमेत बलियो बन्दै गएको उनको भनाइ थियो ।