हरिवनमा एक युवतीको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले कब्रस्तान उत्खनन गरेर शव परीक्षण गर्ने तयारी गरेको छ । हरिवन नगरपालिका– ११, बालगंगास्थित मुस्लिम टोलमा घटनाको एक सातापछि प्रहरीले युवतीको शव नियन्त्रणमा लिन लागेको हो । अन्दाजी १७ वर्षकी तबसुन खातुनले पासो लगाएर आत्महत्या गरेको विषयलाई परिवारले गुपचुप राखेर शव गाडेको थियो ।
घटना २६ कात्तिकको भए पनि प्रहरीमा शुक्रबार साँझ मात्र जानकारी प्राप्त भएको थियो । प्राप्त सूचनाअनुसार घटना शंकास्पद देखिएपछि इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीको टोली राति नै घटनास्थल पुगेको थियो । प्रहरीले गाडेको शव उत्खनन गरेर नियन्त्रणमा लिन खोजेपछि राति केहीबेर तनावको स्थिति बनेको थियो । प्रहरी जुत्तासहित कब्रस्तान प्रवेश गरेको भन्दै स्थानीयले ढुंगामुढा गरेका थिए । सोही विषयलाई लिएर शनिबार बिहान हरिवन नगरपालिका– ११, को वडा कार्यालयमा छलफल भएको थियो । छलफलमा घटनाको अनुसन्धानमा स्थानीयले प्रहरीलाई सहयोग गर्ने र प्रहरीले धार्मिक आस्थामा आँच नपुग्ने गरी कारबाही अगाडि बढाउने निष्कर्ष निकालिएको वडाध्यक्ष शेष मेहबुब रेजाले बताए ।
हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, निवर्तमान मधेश प्रदेश सभा सदस्य डिल्ली उप्रेती, मुस्लिम समुदायका धार्मिक अगुवालगायतको उपस्थितिमा छलफल भएको थियो । शव परीक्षण विज्ञ टोलीले परीक्षणका लागि अस्पताल नै पुर्याउनुपर्ने बताएपछि थप छलफल गरेर प्रहरीले शव नियन्त्रणमा लिन लागेको हो । आइतबार प्रहरीले शव परीक्षणका लागि पठाउने तयारी गरेको छ । प्रहरीले सोधपुछका लागि मृतककी सौतिनी आमा र उनको छोरालाई पक्राउ गरेको छ । मृतक युवतीका बाबु शेष इर्साद र सौतिनी भाइ शेख चादँ फरार भएका प्रहरीले जनाएको छ ।