भारतमा चलिरहेको १३औँ संस्करणको आइसिसी एकदिवसीय विश्वकप २०२३ को क्लाइमेक्स आइतबार हुनेछ । आयोजक भारत र अस्ट्रेलियाबीच संसारकै धेरै दर्शक अटाउने नरेन्द्र मोदी रंगशालामा उपाधि भिडन्त हुनेछ । जसले उपाधि उचाले पनि रेकर्ड बन्ने पक्का छ । अस्ट्रेलिया छैटौँ र भारत तेस्रोपटक विश्व च्याम्पियन हुने होडबाजीमा उभिएका छन् । भारत, अस्ट्रेलियाबाहेक पाकिस्तान, वेस्ट इन्डिज, श्रीलंका र इंग्ल्यान्डका खेलाडीले मात्र ट्रफी चुमेका छन् । विश्वकपमा यी राष्ट्रहरूकै बोलवाला रहेको भन्दा फरक नपर्ला । अरू पनि सहभागी राष्ट्रहरू छन्, तर उनीहरू कहिल्यै उपाधिनजिकसम्म पुग्न सकेनन् ।
विश्वकपमा सधैँ राम्रो प्रदर्शन गर्ने, तर निर्णायक खेलमा चुक्ने दक्षिण अफ्रिका र न्युजिल्यान्ड हुन् । दक्षिण अफ्रिका पाँचपटक सेमिफाइनलबाट बाहिरिएको छ । प्रतियोगिताकै साबिक उपविजेता न्युजिल्यान्ड यसपटक सेमिफाइनलभन्दा माथि उठ्न सकेन । एक महिनाभन्दा लामो समयसम्म चलेको विश्वकप दौरान खेलाडीहरूले आ–आफ्ना नाममा रेकर्ड राखेका छन् । यसबीचमा विश्वकपभरि केही घटना घटे । खेलाडी र सहभागी टोलीले राम्रो र नराम्रो रेकर्ड राखे ।
अफगानिस्तानको सनसनीपूर्ण प्रदर्शन
भारतमा चलिरहेको विश्वकपले अफगानिस्तानलाई हेर्ने दृष्टिकोण नै फेरिएको छ । अफगानिस्तान यस्तै प्रदर्शन गरी घर फर्किएको छ । अफगानी खेलाडीलाई सधैँजसो छिट्टै घर फर्कनुपरेको दुःख छैन । स्वयं आफूलाई गौरवान्वित सम्झनेछन् । अफगानिस्तानले कसैले पनि नसोचेको नतिजा निकाल्यो । प्रतियोगिताको सुरुमा यस टोलीलाई सेमिफाइनलको दाबेदार रूपमा हेरिएको थिएन । आठौँदेखि दशौँमध्ये एक स्थान पाउने अनुमान थियो । तर, प्रतियोगिता समाप्तिसँगै अफगानिस्तान पाँचौँ स्थानमा रह्यो ।
जुन स्थान क्रिकेट समर्थक तथा विश्लेषकले कल्पना पनि गरेका थिएनन् । योभन्दा पनि पूर्वविश्व च्याम्पियनलाई हराउनु नै उनीहरूको बहादुरी प्रदर्शन थियो । अझ एक नभएर तीन पूर्वविश्व विजेतालाई हराउनु चानचुने थिएन । पहिलो साबिक विजेता इंग्ल्यान्डमाथि सनसनीपूर्ण ६९ रनको जित निकाल्यो । पाकिस्तानविरुद्ध निकै संघर्ष गर्दै आठ विकेटको जित हात पार्यो । अन्तिममा सन् १९९६ को विजेता श्रीलंकालाई एकपक्षीय खेलमा ६ विकेटको हार चखाउँदै अफगानिस्तानले आफूहरू पनि विश्व क्रिकेटमा उथलपुथल नतिजा निकाल्न सक्ने टोली भन्ने सन्देश दियो ।
विश्वकप छनोटबाट स्थान बनाएको नेदरल्यान्ड्सलाई सात विकेटले हराउँदै अफगानिस्तानले चौथो जित हात पार्यो । योभन्दा पनि सर्वाधिक पाँचपटकको च्याम्पियन अस्ट्रेलियाले अफगानिस्तानलाई हराउन निकै संघर्ष गर्नुपरेको थियो । ग्लेन म्याक्सवेलको इनिङ्स बिर्सने हो भने अफगानिस्तान नै खेलमा हाबी थियो । विश्वकप अपेक्षित प्रदर्शन गरेका कारण नै अफगानिस्तानले च्याम्पियन्स ट्रफीमा समेत स्थान बनायो ।
सचिनको रेकर्ड तोडेका कोहली
सचिन तेन्दुलकरले जब एकदिवसीय खेलमा ४९ शतक लगाएका थिए, उनको यो रेकर्ड अब कसैले पनि तोड्न नसक्ने भविष्यवाणी भएको थियो । रेकर्ड तोडिनकै लागि बन्ने गर्छन् । ती भविष्यवाणीकर्ताले यसलाई भुलेका रहेछन् । कुनै समय सचिनको ४९ शतक तोड्न अर्को जुनी प्रतीक्षा गर्नुपर्ने भन्नेहरूलाई भारतकै विराट कोहलीले नराम्रोसँग जवाफ फर्काएका छन् । कोहलीले चालू विश्वकपमै सचिनले राखेको ४९ शतक तोडेका छन् । न्युजिल्यान्डविरुद्धको सेमिफाइनलमा उनले एकदिवसीय खेलमा ५० शतकको विश्वरेकर्ड आप्mनो नाममा लेखाएका छन् ।
यस विश्वकपमा उनले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध शतक ठोकेका थिए । सन् २००९ मा कोहलीले श्रीलंकाविरुद्ध पहिलो एकदिवसीय शतक लगाएका थिए । सचिनले एकदिवसीय खेलबाट सन्न्यास लिँदा कोहलीले केवल ११ शतक पूरा गरेका थिए । यो १२ वर्षभित्र उनले ५० ओभरको खेलमा थप ३९ शतक खेल्दै सचिनकै रेकर्ड पछि पारे । कुनै समय सचिनले भनेका थिए, ‘मेरो रेकर्ड केवल विराट कोहली वा रोहित शर्माले मात्र तोड्नेछन् ।’
आधुनिक क्रिकेटमा कोहली फरक किसिमका ब्याट्सम्यान हुन् । जब उनको ब्याट चलिरहेको हुन्छ, त्यसवेला जस्तोसुकै बलरले पनि उनलाई आउट गर्न सक्दैनन् । चालू विश्वकपमा उनी उत्कृष्ट फर्ममा छन् । यसै कारण एकै विश्वकप संस्करणमा सर्वाधिक रन बनाउने खेलाडी उनी बनेका छन् । उनले १० इनिङ्समा १०१.५७ को औसतमा ७११ रन जोडेका छन् । यति मात्र होइन, प्रतियोगितामै सर्वाधिक चौका लगाउने खेलाडीसमेत हुन् । उनले १० खेलमा ६४ चौका प्रहार गरिसकेका छन् ।
कपिल देवको इनिङ्स सम्झाउने म्याक्सवेल
धेरैले सन् १९८३ को विश्वकपमा जिम्बावेविरुद्धको कपिल देवको नटआउट १७५ रनको अद्भुत शतकीय बिबिसी अडियो मात्र सुनेका थिए । भनिन्छ, विश्वकपको आधिकारिक टेलिभिजनका कर्मचारी हडतालमा थिए । यसकारण भारत र जिम्बाबेबीचको खेल प्रत्यक्ष रूपमा कसैले हेर्न पाएनन् । जतिले लाइभ सुने, त्यसवेला सबैले कपिल देवको गुनगान गरे । ठयाक्कै ४० वर्षपछि अस्ट्रेलियाका दायाँहाते ब्याट्सम्यान ग्लेन म्याक्सवेलले अफगानिस्तानविरुद्ध त्यस्तै कपिल देवकै इनिङ्स पुनर्जीवित गरे । सुरुमा अफगानिस्तानी सिमर र बलर हाबी हुँदा अस्ट्रेलिया ९१–७ को स्थितिमा थियो ।
पाँचपटकको च्याम्पियन अस्ट्रेलियालाई तीन विकेट हातमा रहँदै २०१ रन चाहिएको थियो । अर्कोतिर थप तीन विकेटले अफगानिस्तानको अर्को सनसनी जित हुन्थ्यो । एकै विश्वकपमा चार फरक पूर्वविश्वकप विजेतालाई हराउने अफगानिस्तान एक्लो टोलीका रूपमा इतिहासमा दर्ज हुने थियो । तर, त्यो दिन ७ नोभेम्बरको दिन म्याक्सवेलको नाममा रह्यो ।
म्याक्सवेलको ब्याटिङ जादु यस्तो चल्यो, केवल एक खुट्टाको भरमै उनले अस्ट्रेलियालाई असम्भव जित दिलाए । इनिङ्सको बीचमा उनले तीनपटक फिजियोको सहायता लिए । उनी क्रिजमा राम्रोसँग उभिने सक्ने अवस्था थिएन । यहाँसम्म अस्ट्रेलियन प्रशिक्षक तथा कप्तानले समेत खुट्टामा ‘क्र्याम्प’ सामना गरिरहेका म्याक्सवेलको स्थानमा एडम जाम्पा ब्याटिङ गर्न मैदानभित्र प्रवेश गराउनै लागेका थिए ।
म्याक्सवेलले जाम्पालाई पेभेलियन फर्काए । उनको यस्तो निर्णयलाई धेरैले पागलपन पनि भने । पागलपनको हद सवार हुँदा व्यक्तिले जे पनि गर्न सक्छन् । अफगानिविरुद्धको खेलमा म्याक्सवेलले यस्तै पागलपन देखाए । उनले वानम्यान आर्मी सोमा दोहोरो शतक लगाउँदा अफगानिस्तानलाई निराश बनाए । उनले १२८ बलमा २१ चौका र १० छक्का लगाए । उनको यसै इनिङ्सलाई अहिले कपिल देवसँगको तुलना गरेका छन् । कतिपयले कपिल देलको भन्दा पनि म्याक्सवेलको इनिङ्स धेरै राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
नेदरल्यान्ड्सविरुद्ध भारतका नौ बलर
खेल जित्न कप्तानले सबै किसिमका रणनीति प्रयोग गर्छन् । सफल हुने र नहुने आफ्नो स्थानमा छ । महत्वपूर्ण खेलमा कप्तानले यस्तै योजना बुनिरहेका हुन्छन् । भारतका कप्तान रोहित शर्माले नेदरल्यान्ड्ससँगको प्रतिस्पर्धामा अचम्मले नौ बलरलाई प्रयोग गरे । यद्यपि, हारले भारतलाई केही नोक्सानी गर्ने थिएन । किन हो, कम महत्वपूर्ण खेलमा रोहितले नेदरल्यान्ड्सविरुद्ध आफ्ना नौ खेलाडीलाई बलिङ गर्न लगाए । नेदरल्यान्ड्सविरुद्ध विकेट किपर लोकेश राहुल र श्रेयस ऐरबाहेक अन्य सबै खेलाडीले बलिङ अवसर पाए । विश्वकप इतिहासमा तेस्रोपटक एकै खेलमा नौजना खेलाडीले बलिङ गरेका हुन् ।
इंग्ल्यान्डले सन् १९८७ मा श्रीलंका तथा न्युजिल्यान्डले १९९२ मा पाकिस्तानविरुद्ध समान नौ बलरले बलिङ गरेका थिए । एकदिवसीय खेलको तथ्यांक पल्टाउँदा १७ पटक एकै खेलमा नौजना खेलाडीले बलिङ गरेको रेकर्ड छन् । भारतले मात्र विश्वकपबाहेक तीनपटक ५० ओभरको खेलमा नौ बलर प्रयोग गरेको थियो । एकदिवसीय खेलकै चर्चा गरिरहँदा नेपालले पनि एकपटक यस्तै गरेको थियो । सन् २०२२ मा कप्तान रोहितकुमार पौडेलले युएईविरुद्ध त्रिवि क्रिकेट मैदानमा नौ बलरलाई बलिङ गराएका थिए ।
अपेक्षाविपरीत पाकिस्तान, इंग्ल्यान्ड र श्रीलंका
इंग्ल्यान्ड सानका साथ भारतमा विश्वकप रक्षा गर्न आएको थियो । पाकिस्तानको दोस्रोपटक विश्वकप उचाल्ने दाउ थियो । क्रिकेटकै शक्तिशाली यी दुवै राष्ट्र सेमिफाइनलसम्मै पुग्न सकेनन् । पाकिस्तानले अन्तिम खेलसम्म सेमिफाइनलको आशा जीवितै राखेको थियो । इंग्ल्यान्ड विश्वकपको आधा बाटोपछि नै सेमिफाइनल दौडबाट धेरै टाढा भइसकेको थियो । पाकिस्तान र इंग्ल्यान्डबीच एउटै समानता देखियो । सुरुवात उत्कृष्ट रह्यो । विश्वकपको मध्यमा उनीहरूले निकै झुर खेले । पाकिस्तान लगातार चार र इंग्ल्यान्डले पाँच खेलको हारपछि मात्र जित देख्न पायो । एक्कासी एकपछि अर्को हारसँगै दुईवटै राष्ट्रले भारतमा अनपेक्षित नतिजा निकाली घर फर्किए । लगातार चार खेलमा हार व्यहोरेपछि पाकिस्तानका प्रमुख छनोटकर्ता इन्जमाम उलहकले तत्कालै राजीनामा दिए । कप्तान बाबर अजामले यसै साता पदबाट राजीनामा दिए । पाकिस्तान र इंग्ल्यान्ड मात्र होइन, पूर्वविश्वकप विजेता श्रीलंकाको पनि यसपटक अति नै खराब प्रदर्शन भयो । इंग्ल्यान्ड र नेदरल्यान्ड्सलाई हराउनु मात्र सफलता रह्यो । हुँदाहुँदै बंगलादेश र अफगानिस्तानसँगसमेत पराजित भएको श्रीलंकाका खेलाडी घर फर्कनुअघि नै
राष्ट्रिय क्रिकेट बोर्डलाई आइसिसीले कारबाही गरेको समाचार सुन्नुपर्यो ।
खेलको मर्म बुझ्न नसकेका सकिब
भनिन्छ, क्रिकेट भलादमीहरूको खेल हो । मैदानभित्र क्रिकेटरले नियमलाई शतप्रतिशत पालना गर्छन् । बंगलादेशका कप्तान सकिब अल हसन खेलमा जसरी पनि जित्नुपर्ने भावनाका साथ मैदानमा जान्छन् । र, खेल भावनाविपरीत कार्य गरी विवादमा आफूलाई राख्ने गर्छन् । विश्वकप दौरान यस्तै एउटा घटनाले उनी निकै विवादित बने । खेल थियो श्रीलंका र बंगलादेशबीचको । श्रीलंकाका एन्जेलो म्याथ्युज क्रिकेट इतिहासमै ‘टाइम आउट’ आधारमा आउट हुने पहिलो ब्याट्सम्यान बने । त्यो पनि सकिबकै कर्तुतले ।
एन्जेलो ब्याटिङ गर्न क्रिजमा पुगेका थिए । उनको हेलमेट कस्ने बेल्ट खुकुलो थियो । एन्जेलोले तत्कालै ड्रेसिङ रुमबाट अर्को हेलमेट मगाए । त्यतिवेला एन्जेलो क्रिजमा पुगेको तीन मिनेट पार भइसकेको थियो । सकिबले अचानक अम्पायरलाई ‘टाइम आउट’का आधारमा एन्जेलो आउट भइसकेको बताए ।
अम्पायरले नियमअनुसार एन्जेलोलाई एक बल पनि सामना नगरी आउट घोषणा गरे । नियमअनुसार एक ब्याट्सम्यान आउट भएको तीन मिनेटभित्र अर्को ब्याट्सम्यानले ब्याटिङ गरिसक्नुपर्छ । तीन मिनेटभित्र ब्याटिङ गर्न सकिएन भने उनलाई टाइम आउट आधारमा आउट घोषणा गरिन्छ ।
सकिबले पनि एन्जेलोविरुद्ध यस्तै नियमका आधारमा अपिल गरेका थिए । यद्यपि, एन्जेलोले विपक्षी कप्तान सकिबसँग आग्रह गरी अर्को हेलमेट मगाएका थिए । एन्जेलोको अनुरोध सकिबले एक सुनेनन् । यस घटनासँगै विभिन्न अन्तर्राष्ट्रिय तथा सोसल मिडियामा एन्जेलोप्रति सद्भावका शब्द खर्चिए । सकिबलाई क्रिकेट इतिहासकै निर्दयी कप्तान संज्ञा दिइयो । सो खेलमा सकिबले चाहेको भए, एन्जेलो इतिहासकै पहिलो खेलाडीका रूपमा टाइम आउट सिकार हुने थिएनन् ।