हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत घरेलु टोलीविरुद्ध नेपालले खराब प्रदर्शन गरेको छ। १८ ओभरमा अलआउट हुँदै नेपाल ५६ रनमा समेटिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक २५ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक स्कोर गर्न सकेनन्। सीता रानामगर नाै, पूजा महतो चार र संगीता राई दुई रनमा आउट हुँदा सम्झना खड्का, विन्दु रावल र कञ्चन श्रेष्ठ एक–एक रन बनाएर आउट भए। रोमा थापा सात रन बनाएर अविजित रहिन्।
नेपालले समूह चरणको अन्तिम खेल आगामी मंसिर २ गते जापानसित खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।
नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित पराजित भएको थियो। हङकङ भने पहिलो खेलमा जापानसित विजयी भएको थियो। आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्नेछ।
आइसिसी वरीयतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा रहेका छन्।