बुटवलमा दीपावली महोत्सव सुरु

आइतबार, २६ कार्तिक, २०८०
डिजिटल संस्करण

बुटवलमा शनिबारदेखि दीपावली महोत्सव सुरु भएको छ। दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा शनिबारदेखि तीनदिने ‘दीपावली महोत्सव–२०८०, बुटवल’ सुरु भएको हो।

दीपावली महोत्सवको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै बुटवलको विकास सबैको साझा विषय रहेको बताउँदै उपमहानगरपालिकाले सबैसँग सहकार्य गर्ने बताए।

संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवलको खस्किँदो व्यापारलाई उठाउनका लागि बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा दीपावली महोत्सव आयोजना गरिएको र यसमा साथ र सहयोग गर्न आग्रह गर्दै सहभागिताको लागि अनुरोध गरे।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीपावली महोत्सव मात्रै नभएर देउसी, भैलोलगायतका सांस्कृतिक कार्यक्रमलाई मौलिक बनाउन र भड्किलो नगराउन आग्रह गरे।

कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष जीवनप्रसाद ओझा, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष डिल्ली भण्डारीलगायतले महोत्सवका बारेमा चर्चा गरेका थिए।

दीपावली महोत्सवमा बुटवल उपमहानगरपालिका संरक्षक र बुटवलका वडा नं. ४, ५ र ६ प्रवर्द्धकको रूपमा रहेका छन्। तीन दिनसम्म सञ्चालन गरिने दीपावली महोत्सव अवधिभर विशेष छुटमा सामानको बक्री वितरण, नेपाली मौलिक तथा सांस्कृतिक खानाका परिकार र विविध सांस्कृतिक प्रस्तुतिसमेत रहने मेला महोत्सवका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले जानकारी दिए।

बुटवल उद्योग वाणिज्य संघले पहिलोपटक सञ्चालन गरेको दीपावली महोत्सव महेन्द्रपार्कदेखि काठेपुलसम्म (अमरपथ लाइन) र नेपालगन्ज रोडको कार्की मिनी मार्केटदेखि ट्राफिकचोकसम्म सञ्चालन गरिएको छ। 

बुटवलको खस्किँदो व्यापारलाई प्रवर्द्धन गर्न र आर्थिक गतिविधिलाई थप चलायमान गराउनको लागि दीपावली महोत्सव गरिएको संघका महासचिव मुक्ति अधिकारीले बताए।
 

See More On

सुझावित समाचार