फूलमा आत्मनिर्भर बन्दै मकवानपुर

मंगलबार, २८ कार्तिक, २०८०
डिजिटल संस्करण

भारतीय फूल र प्लास्टिकका माला विस्थापित हुँदै, स्थानीय उत्पादन बजारभरि

केही वर्षअघिसम्म भारतीय फूल र प्लास्टिकका फूलले ओगटेको मकवानपुरको बजार अहिले जिल्लामै उत्पादित सयपत्री फूलले लिन थालेको छ। स्थानीयस्तरमै व्यावसायिक रूपमा फूलखेती बढ्न थालेपछि मकवानपुरमा पनि फूलको आयात प्रतिस्थापन हुन थालेको फूल उत्पादक किसान र व्यवसायीको अनुभव छ।

केही वर्षअघिसम्म घरआँगनको डिल र खेतबारीका आलीमा थोरै मात्रामा फूल्ने सयपत्री र भारतीय बजारबाट आयातीत फूलले धान्दै आएको मकवानपुरको बजार अहिले जिल्लाकै उत्पादनले धान्न थालेको हेटौँडा उपमहानगरपालिका– ६ चौघडाका किसान बालकृष्ण चौलागाईं बताउँछन्। ‘मैले सात–आठ वर्षदेखि फूलखेती गर्दै आएको छु। सुरुसुरुमा फूलखेती पनि गर्ने पेसा हो र भन्ने सुनिन्थ्यो। हामी करेसाबारीमा फुलेको फूल र भारतीय बजारबाट ल्याइएको फूलमा निर्भर थियौँ, तर अहिले परिस्थिति बदलिएको छ। यहाँ आवश्यक पर्ने फूल हामी आफैँ पुर्याउन सक्ने भएका छौँ,’ उनले भने।

फूलखेती सुरु गर्दा तिहारलक्षित खेती गरेको अनुभव सुनाउने चौलागाईं अहिले भने वर्षैभरि फूल उत्पादनसँग सम्बन्धित क्रियाकलापमा व्यस्त हुने गरेको बताउँछन्। नेपाल फूलमा आत्मनिर्भर हुने बाटोमा रहेको भन्दै उनले सयपत्री खेतीमा प्रेरित गरेर युवालाई बिदेसिनबाट रोक्न सकिने बताए। ‘सुरुवातमा तिहारलक्षित खेती मात्रै गरेको अनुभव छ। तर, वर्षैभरि हुने विभिन्न कार्यक्रम र शुभकार्यमा फूल र फूलको मालाको माग बढेपछि अहिले ३६५ दिन नै फूलखेती र यससँग सम्बन्धित काममा व्यस्त छु,’ चौलागाईंले भने, ‘पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन।’

सयपत्री फूल रोपेको ८० देखि ९० दिनमा बिक्रीका लागि बजारमा लानयोग्य हुन्छ। छोटो समयमा राम्रो आम्दानी गर्न सकिने भएकाले सयपत्री फूलखेतीतर्फ किसानको आकर्षण बढ्दो छ। चार वर्षदेखि सयपत्रीको व्यावसायिक खेती गर्दै आएकी हेटौँडा– १२ की सुमित्रा घलान अहिले सयपत्रीले राम्रो बजार पाइरहेको बताउँछिन्। 

जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्षसमेत रहेका ललित घलानले पनि फूलखेती थालेको सात–आठ वर्ष भयो। व्यावसायिक रूपमा उत्पादन गर्ने हो भने फूलखेतीबाट मनग्य आम्दानी लिन सक्ने उनको अनुभव छ। ‘दसैँ–तिहार र विभिन्न चाडपर्व मात्र होइन, गाउँघरमा समय समयमा हुने शुभकार्य, मेला–महोत्सव र विभिन्न संघसंस्थाका कार्यक्रममा फूलको माग हुन्छ। नियमित उत्पादन गर्ने हो भने कहिल्यै खाली बस्नुपर्दैन। सिजनमा खेती गर्नेले ५–६ लाख र बाह्रै महिना खेती गर्नेले १० देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्छन्,’ घलानले भने।

मकवानपुरमा मात्रै करिब २० देखि २५ बिघा क्षेत्रफलमा सयपत्री फूलको खेती हुने गरेको किसानहरू बताउँछन्। विशेष गरी मकवानपुरको उत्तरी क्षेत्र दामनपालुङ, भीमफेदी गाउँपालिकाको नामटार, भैँसे, इन्द्रसरोवर गाउँपालिकाको हुमाने भञ्ज्याङ, मकवानपुरगढीको बुढीचौर, बकैयाको ठिंगन, हेटौँडाको वडा नम्बर ६, १२, १३, १४, १५, १६ लगायतका क्षेत्रमा व्यावसायिक रूपमा फूलखेती हुने गरेको छ।

चाडपर्वमा अझै बढी खपत हुने सयपत्री फूल प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारले यस वर्षदेखि सयपत्री फूल प्रवर्द्धन कार्यक्रम ल्याउन लागेको कृषि विकास निर्देशनालय हेटौँडाका निर्देशक तेजप्रसाद दवाडीले बताए। उनले जन्मदेखि मृत्युसम्मका विभिन्न कार्यमा प्रयोग हुने फूलखेतीमा आफैँ निर्भर हुन सके बर्सेनि बिदेसिने करोडौँ रुपैयाँ देशमै रोक्न सकिने भएकाले फूलखेतीमा लगानी गर्न प्रदेश सरकारले नीति नै बनाएर अगाडि बढ्न सके युवाले स्वदेशमै रोजगारी पाउन सक्ने जानकारी दिए।

See More On

सुझावित समाचार