झापाको दापगाछीमा निर्माणाधीन भ्युटावरको काम ९० प्रतिशत सकियो

भुक्तानी दिने पैसा नहुँदा काम सकिन केही महिना लाग्ने

आइतबार, २६ कार्तिक, २०८०
डिजिटल संस्करण
झापाको दापगाछीमा निर्माणाधीन भ्युटावरको काम ९० प्रतिशत सकियो

झापाको दमक– ३ मा निर्माणाधीन भ्युटावर

झापाको दमक– ३ स्थित दापगाछीमा डेढ अर्बमाथि लगानीमा निर्माणाधीन भ्युटावरको काम ९० प्रतिशत सकिएको छ । भ्युटावर निर्माणको काम अन्तिम चरणमा पुगेको सघन सहरी तथा भवन निर्माण कार्यालय झापाले जनाएको छ । भ्युटावरको वित्तीय प्रगति पनि करिब ९० प्रतिशत नै भएको कार्यालयले जनाएको छ । 

भ्युटावर सम्पन गर्नका लागि मंसिर अन्तिमसम्म समय थपिएको छ । यद्यपि, उक्त समयमा काम नसकिने सघन सहरी तथा भवन निर्माण कार्यालय झापाका प्रमुख सुदीप पौडेलले जानकारी दिए । ‘मंसिरसम्म सक्ने गरी म्याद थपिएको थियो । तर, सरकारले कामको भुक्तानी गर्न सक्ने अवस्था छैन । भुक्तानी गर्न सक्दा मंसिरमै सकिन्थ्यो । पैसा नभएका कारण काम रोकिन्छ भन्ने लागेको छ,’ उनले भने, ‘योजना समापन गर्न अर्थ मन्त्रालयले नै पैसा नपठाएपछि योजना सक्न एक–दुई महिना थप लाग्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एक सय मिटर अग्लो १८ तले भ्युटावर निर्माणका लागि २७ असार ०७६ मा ठेक्का लागेको थियो । २७ पुस ०७८ मा सक्ने गरी चनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा ठेक्का लिएका थिए । हाल यो योजनाको लागत बढेर एक अर्ब ६५ करोड पुगेको सघन सहरी तथा भवन निर्माण कार्यालय झापाले जनाएको छ ।

भ्युटावर निर्माणको काम समयमा नसकिएपछि तीनपटक म्याद थपियो । अब मंसिर मसान्तसम्म समय छ । भ्युटावरको भित्री काम लगभग सकिएको सघन सहरीले जनाएको छ । भ्युटावरका केही भित्री कामबाहेक बगैँचा तथा पार्क निर्माणको काम रहेको सघन सहरी तथा भवन निर्माण कार्यालय झापाका भ्युटावर हेर्ने परियोजना इन्जिनियर भूपेन्द्रकुमार यादवले जानकारी दिए । ‘भवनको मुख्य काम सकियो । अब फिनिसिङ बाँकी छ । बगैँचा तथा फुटपाथ निर्माणको काम बाँकी छ,­’ उनले भने, ‘मुख्य भवनमा इलेक्ट्रिकल सेनिटरीको काम बाँकी छ ।’

दमकको यो भ्युटावर निर्माण सुरु हुँदा स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना रहेको सघन सहरी तथा भवन निर्माण कार्यालय झापा प्रमुख सुदीप पौडेलले जानकारी दिए । तर, हाल कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि बनिनसकेकाले स्थानीय तहलाई सञ्चालनका लागि दिने–नदिने टुंगो नलागेको उनले बताए । ‘मन्त्रालयले यसलाई कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि बनाउँदै छ । योजना सुरु हुँदा स्थानीय तहलाई हस्तान्तरण गर्ने मोडालिटीमा गएको थियो,’ उनले भने, ‘बीचमा भ्युटावर र सभाहल कसरी सञ्चालन गर्नेबारे मन्त्रालयले तयारी गर्दै छ । यहाँबाट अन्तिम टुंगो नलागेसम्म केही भन्न सकिँदैन ।’यस्तै, भ्युटावरलाई केमा प्रयोग गर्ने भन्ने पनि टुंगो लागेको छैन । यद्यपि, यसलाई बिजनेस सेन्टरको रूपमा प्रयोग गर्ने चर्चा गरिँदै आएको छ ।
 

सुझावित समाचार