जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस वर्ष तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ।प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न सर्वसाधारणलाई आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस वर्ष तिहारमा देउसी तथा भैलोलगायतका सांस्कृतिक मनोरञ्जनात्मक क्रियाकलाप राति ९ बजेसम्म मात्र सञ्चालन गर्न सूचित गरिएको छ।
यस्तै जिल्ला प्रशासन कार्यलय मकवानपुरले चाडपर्वको बहानामा पटका, भुइँचम्पा तथा आतिसबाजी नगर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ । पटका, भुइँचम्पा तथा आतिसबाजीजस्ता प्रज्ज्वलनशील पदार्थको प्रयोगले स्वास्थ्य एवं सुरक्षालगायतका समग्र जनजीवनमा प्रतिकूल असर पर्ने उल्लेख गर्दै सचेत रहन भनेको छ।
प्रशासनले त्यस्ता पदार्थको भण्डारण, ओसारपसार, बिक्री–वितरण तथा प्रयोगमा पूर्ण रूपमा बन्देज लगाइएको बताउँदै पटकाजन्य पदार्थ पड्काएमा वा बिक्री–वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।
यस्तै, चाडवाडको नाममा जुवा, तास खेल्ने–खेलाउनेजस्ता कानुनले निषेध गरेका क्रियाकलापहरू नगर्न–नगराउन र सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्नेजस्ता समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलापहरू पनि नगर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ।