घाइते नगर प्रहरीको मृत्यु, रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो

शुक्रबार, २४ कार्तिक, २०८०
डिजिटल संस्करण

कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा परी घाइते भएका रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कार्यरत नगर प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ । योसँगै जिल्लामा भूकम्पका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ । त्यस्तै, मानवीय क्षति हुने स्थानीय तहमा चौरजहारी नगरपालिका पनि थपिएको छ । 

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत चौरजहारी नगरपालिका– १ का २२ वर्षीय निरोज विष्टको आज बिहान ८ बजेतिर मृत्यु भएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए । विष्ट ०७७ भदौ ९ गतेदेखि नगर प्रहरी जवानमा कार्यरत थिए । 

वडा नम्बर ८ को गोइरी जिउलामा ढुंगा, गिटी तथा बालुवा नियन्त्रणमा खटिएका विष्ट भूकम्प आएपछि उद्धारमा जाने क्रममा गोइरी जिउलामै घाइते भएका थिए । मोटरसाइकलमा जाँदै गर्दा माथिबाट पहिरो खस्दा उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुर्खेत पठाइएको थियो ।  
 

सुझावित समाचार