नक्कली नोटसहित एकजना पक्राउ

शुक्रबार, २४ कार्तिक, २०८०
डिजिटल संस्करण

मकवानपुरको हेटौँडाबाट प्रहरीले नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार दिउँसो हेटौँडा– १५ बाट नक्कली नोटसहित हेटौँडा– ६ का एक युवक पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका– ६ का ३० वर्षीय देवराज चौलागाईं रहेको प्रहरीले जनाएको छ। उनलाई पाँच सय दरका २० थान नक्कली नोटसहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । 

उनलाई हेटौँडा– १५ नयाँबस्तीस्थित भित्री सडकखण्डबाट प्रदेश २–०३–००९ प ३८९८ नम्बरको स्कुटरमा नक्कली नोट राखेको अवस्थामा उक्त परिमाणको नक्कली नोटसहित पक्राउ गरेको प्रवक्ता भण्डारीले बताए। प्रवक्ता भण्डारीले नक्कली नोटसहित पक्राउ परेका चौलागाईंलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीका अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधित) अनुसार जाली नोटको कारोबार गरेमा बिगो जफत गरेर तीन गुणासम्म जरिवाना वा तीन वर्ष कैद अथवा दुवै सजाय हुने व्यवस्था छ । यस्तै मुलुकी अपराध संहिता, २०७४ अनुसार पाँच वर्षदेखि १० वर्ष कैद र ५० हजारदेखि एक लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

सुझावित समाचार