भारतले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि तेस्रो खेपमा ११ टन राहत सामग्री पठाएको छ ।यसअघि दुई खेप राहत पठाएको भारतले बिहीबार त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लिपिङ ब्याग, अत्यावश्यक औषधि र चिकित्सा उपकरणसहितको ११ टन आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको हो ।
भारतीय दूतावासका प्रथम सचिव नवीन कुमारले बिहीबार साँझ राहत हस्तान्तरण गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । नेपालगन्ज विमानस्थलमा रहेको राहत जाजरकोट र रुकुम पश्चिममा पठाइनेछ ।
प्रजिअ पोखरेलका अनुसार भारतले तेस्रो खेपमा २४ थान ठूलो टेन्ट, १२ थान फिटिङ्स टेन्ट, २९ सय थान स्लिपिङ ब्याग, २८ सय थान ब्ल्यांकेट, ६० थान सानो खालको टेन्ट, ६० थान फिटिङ्स, सय किलो मेडिकल सप्लाई पठाएको छ ।
राहत सामग्रीमा ६ सय २५ थान प्लास्टिक टारपोलिन र त्रिपाल छन् । त्यसैगरी, हजार थान स्लिपिङ ब्याग, हजार थान कम्बल, ठूलो साइजको टेन्ट ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधि तथा ४८ प्रकारका अन्य सामग्री रहेको भारतीय दूतावासले जनाएको छ ।