हिन्दू नेपालीहरूको पर्व दीपावलीको अवसरमा यही कात्तिक २५, २६ र २७ गते बुटवलमा दीपावली महोत्सव हुने भएको छ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको बिहीबार बसेको कार्यसमिति बैठकले दीपावली महोत्सव गर्ने निर्णयसहित तयारी समिति र मातहतका उपसमितिहरूसमेत गठन गरेको संघका महासचिव मुक्ति अधिकारीले जानकारी दिए। बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा हुने महोत्सवका लागि बुटवल उपमहानगरपालिका संरक्षक तथा उपमहानगरपालिकाका वडा नं. ४, ५ र ६ प्रवर्द्धकको रूपमा रहेका छन्।
संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेलाई महोत्सव व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी प्रदान गरेकोे छ। उक्त समितिमा संघका पदाधिकारी, कार्यसमितिका सदस्यहरू, तीनवटै वडाका एक–एकजना सदस्य र कार्यक्रम सञ्चालन हुने क्षेत्रका टोल विकास संस्थाका अध्यक्षहरू सदस्य छन् भने सदस्यसचिवको रूपमा महासचिव मुक्ति अधिकारी रहेका छन्। दीपावली महोत्सव सञ्चालनका लागि ६ वटा विभिन्न उपसमिति गठन गरिएको छ।
बुटवल उद्योग वाणिज्य संघले पहिलोपटक सञ्चालन गर्न लागेको दीपावली महोत्सव महेन्द्रपार्कदेखि काठेपुलसम्म (अमरपथ लाइन) र नेपालगन्ज रोडको कार्की मिनीमार्केटदेखि ट्राफिक चोकसम्म सञ्चालन गरिनेछ। बुटवलको खस्किँदो व्यापारलाई प्रवर्द्धन गर्न र आर्थिक गतिविधिलाई थप चलायमान गराउन दीपावली महोत्सव गर्न लागिएको संघका अध्यक्ष अर्यालले बताए।