प्रहरीहरू नै वेलाबखत अपराधमा संलग्न हुनुले के संकेत गर्छ ?
प्रहरी संगठनमा पनि समाजको ‘रिफ्लेक्सन’ हुन्छ । सामान्यतः हामीले राजनीतिक संरक्षण पाएपछि आफ्नो हैसियत बिर्सने गरेको देखिन्छ । हाम्रो प्रहरी संगठन देशका कुना–कुनासम्म फैलिएको छ । यसरी सबैतिर फैलिएका कर्मचारीमाथि निगरानी गर्ने कार्यबाट संगठन पनि चुकिरहेकाले यस्तो भएको हुन सक्छ । प्रहरीको आन्तरिक अध्ययनले तल्लो तहका ६० प्रतिशत सिपाही र हवल्दार ऋणमा डुबेको देखिएको छ । फिल्डमा खटिने यिनै हुन् । यिनको समस्याको निराकरणमा संगठनको नेतृत्व र सरकारको ध्यान जान सकेन भने पनि यस्ता अपराध कर्ममा उनीहरूको संलग्नता बढ्न सक्छ ।
यस्ता कार्यले संगठनप्रतिको विश्वासमा कमी ल्याउने सम्भावना हुन्छ कि हुँदैन ?
किन नहुनु, पक्कै हुन्छ । निजामतीतर्फ कुनै एउटा कर्मचारीले गल्ती गरेमा त्यो उसको व्यक्तिगत गल्ती ठहरिन्छ । सिंगो संगठनमाथि प्रश्न उठ्दैन । तर, फौजी संगठनभित्र चाहिँ बर्दीका कारण एउटा कुनै कर्मचारीले गल्ती गरेमा सिंगो संगठनमाथि नै प्रश्न उठ्छ, संगठनप्रतिको विश्वास धूमिल हुन्छ । यस तथ्यलाई आत्मसात् गरेर संगठनले आन्तरिक अनुगमन, निगरानी र शुद्धीकरणमा ध्यान दिनुपर्छ ।
प्रहरी कर्मचारीलाई अनुशासित बनाउन के गर्नुपर्ला ?
यसका लागि सबैभन्दा पहिले भर्ना प्रक्रियादेखि नै ध्यान दिनुपर्छ । आपराधिक मनोवृत्तिका मानिस पनि संगठनमा छिर्न सक्छन् । साथै, संगठनभित्रको बदमासीमा आफ्नो र अर्काको भनेर कसैलाई च्याप्ने र कसैलाई फ्याँक्ने कार्य कुनै हालतमा गरिनु हुँदैन । सांगठनिक सुधारका लागि आन्तरिक अध्ययनको निष्कर्षलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्छ ।