पाँच वर्षपछि तेजाब आक्रमण मुद्दाको फैसला

मंगलबार, २१ कार्तिक, २०८०
डिजिटल संस्करण

तेजाब आक्रमण घटनाको पाँच वर्षपछि जिल्ला अदालत रौतहटले फैसला सुनाएको छ । २७ भदौ ०७५ मा रौतहटको चन्द्रपुर नगरपालिका– ६ की १८ वर्षीया सम्झना दास र उनकी बहिनी १५ वर्षीया सुस्मिता दासमाथि भएको तेजाब आक्रमणको मुद्दाको सोमबार फैसला सुनाएको हो । जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीले मुद्दालाई किनारा लगाउँदै रौतहट नगरपालिका– ६ का ५० वर्षीय रामबाबु पासमानलाई १२ वर्ष कैद र एक लाख २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएका हुन् । अदालतले पीडित परिवारलाई ५०–५० हजार गरी एक लाख क्षतिपूर्ति पनि प्रदान गर्न आदेश गरेको हो ।

जिल्ला न्यायाधिवक्ता कार्यालयका सहायक न्यायाधिवक्ता विजय महतोले सो घटनामा एकजनाको मृत्यु र अर्का एकजना घाइते भएकाले मृतकको पक्षमा कर्तव्य ज्यान मुद्दा भएकाले मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा १७७ बमोजिम १० देखि १५ वर्ष सजाय माग गरिएको र घाइतेको पक्षमा तीनदेखि पाँच वर्ष सजाय माग गरिएको बताए । जिल्ला न्यायाधीश मरासिनीले मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा १७९ अनुसार फैसला गरेको बताए ।

एउटै वारदातमा एकजना मृत्यु र अर्को एकजना घाइते भएकाले ‘एकीकृत कसुर’अन्तर्गत तल्लो तहको चार वर्षको आधा दुई वर्ष र मृत्यु भएको घटनामा १० वर्ष गरी १२ वर्ष कैदसजाय, एक लाख २५ हजार जरिवाना र पीडित परिवारलाई क्षतिपूर्तिमा एक लाख दिने आदेश अदालतले सुनाएको छ । अदालतमा पाँच वर्षदेखि विचाराधीन मुद्दामा न्यायाधीश मरासिनीले गत १२ कात्तिकमा कसुर कायम गर्ने आदेश सुनाएका थिए । 

जिल्ला अदालत रौतहटका श्रेस्तेदार उद्धव ढोडारीले प्रमाण बुझ्न समय लाग्दा फैसला ढिला आएको बताए । वेलामा सरकारी साथीहरू नआइदिँदा र कानुनी प्रक्रियाले फैसला ढिला आएको उनको भनाइ छ । एसिड आक्रमणवाट गम्भीर घाइते रहेकी सम्झनाको ८ असोज ०७५ मा वर्न अस्पताल कीर्तिपुरमा मृत्यु भएको थियो ।

 चन्द्रपुर नगरपालिका– ६ का जादोलाल दासकी दुई छोरी सम्झना दास र सुस्मितामाथि २७ भदौ ०७५ सुतिरहेका वेला एसिड प्रहार भएको थियो । ‘प्रेम प्रस्ताव’ अस्वीकार गरेको भन्दै ५० वर्षीय रामबाबु पासमानले तेजाब आक्रमण गरेका थिए । तेजाबले सम्झनाको अनुहारसहित शरीरको अधिकांश भाग जलेको थियो । सम्झना र सुस्मितालाई चपुर अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । त्यसपछि थप उपचारका लागि कीर्तिपुर लगियो । 

कीर्तिपुर अस्पतालमा उपचाररत सम्झना र सुस्मिताको आमाबाबुसँगै रामबाबु पनि कुरुवा बसेका थिए । चपुर अस्पतालमा पनि कुरुवा बसेका रामबाबु कीर्तिपुरमा कुरुवा बसेकै बेला पक्राउ परेका थिए । रामबाबु पक्राउ परेपछि प्रहरीले रौतहटमा पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएको थियो । त्यसक्रममा रामबाबुले सम्झनालाई घटनाको १५ दिनको अवधिमा ११५ पटक मोबाइलमा फोन गरेको र दुई महिनामा तीन सयपटक फोन गरेको कल डिटेलको अनुसन्धानबाट खुलेको थियो ।

सुझावित समाचार