भित्तामा वालपेपर टाँस्दा घरका भित्ता सुन्दर देखिन्छ । आफ्नो मुड र कोठाको हिसाबले जुनसुकै डिजाइन रोज्न सकिन्छ । वालपेपर छान्दा घरको लोकेसन र लाइटलाई ख्याल गर्नुपर्छ । बच्चा बस्ने कोठामा कार्टुन प्रिन्ट भएको ‘वालपेपर’ टाँस्न सकिन्छ ।
उनीहरूलाई मन पर्ने जनावर तथा रूख–बिरुवाका चित्रअंकित वालपेपर राख्दा हुन्छ । विभिन्न पुतली, चरालगायतका चित्र पनि कोर्दा हुन्छ । यस्ता चित्र हेरेर उनीहरू खुसी हुन्छन् र प्रकृतिसँग आफूलाई नजिक पाउँछन् । उनीहरूको कोठालाई धेरै साधारणभन्दा पनि रंगिचंगी वालपेपरले सजाउनु राम्रो हुन्छ । उनीहरूको कोठामा नक्साअंकित वालपेपर पनि टाँस्न सकिन्छ । यसले उनीहरूलाई भूगोलबारे जानकारी दिन्छ ।
त्यसैगरी, बच्चाको कोठामा तारामण्डल, ग्रह, उपग्रहलगायतका तस्बिर पनि राख्न सकिन्छ । यसले उनीहरूलाई उत्सुक गराउने काम गर्छ । त्यस्तै, उनीहरूको कल्पनाशक्ति पनि बढाउने काम गर्छ ।
बच्चाको कोठालाई सिँगार्दा उनीहरूको मनोविज्ञानलाई पनि ख्याल गर्न जरुरी छ । उनीहरूलाई के मन पर्छ र के मन पर्दैन भनेर पनि सोध्नु राम्रो हुन्छ । उनीहरूको कोठा उनीहरूकै इच्छाअनुसार सजाउनु राम्रो हुन्छ । त्यस्तै, वालपेपरको डिजाइनको गुणस्तरमा पनि ध्यान दिन जरुरी छ । टिकाउ खाले डिजाइन हेर्नुपर्छ ।