भारतसँग दक्षिण अफ्रिकाको नमिठो हार

सोमबार, २० कार्तिक, २०८०
डिजिटल संस्करण

विराट कोहलीले आफ्नो ३५औँ जन्मदिनमा बनाएको शतकीय इनिङ्सको मद्दतमा भारतले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकालाई दुई सय ४३ रनको फराकिलो अन्तरले हराएको छ । विश्वकपमा भारतको यो लगातार आठौँ जित हो । यो भारतले एकदिवसीय विश्वकपमा लगातार आठौँ खेलमा जित निकालेको सन् २००३ पछि हो । जितसँगै भारतले अंक तालिकामा १६ अंक बटुलेको छ । हारसँगै दक्षिण अफ्रिका १२ अंकका साथ दोस्रो स्थानमा छ । अस्ट्रेलिया १० अंकका साथ तेस्रो स्थान र चौथो स्थानमा रहेको न्युजिल्यान्डको आठ अंक रहेको छ । 

सचिनको रेकर्ड बराबरी
इर्डन गार्डेन रंगशालामा भारतले पहिलो ब्याटिङ गरी ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय २६ रनको बलियो चुनौती प्रस्तुत गर्यो । प्रत्युत्तरमा उत्कृष्ट फर्ममा रहेको दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रनमा अलआउट भयो । भारतको सानदार जितमा रविन्द्र जडेजाले पाँच विकेट लिए । उनले नौ ओभरमा एक मेडन राखी ३३ रन खर्चेका थिए । यसैगरी, कुलदीप यादवले सात रनमा दुई विकेट हात पारे । 

पहिलो ब्याटिङ गरेको भारतका लागि कोहलीले सचिन तेन्दुलकरले एकदिवसीय खेलमा राखेको ४९औँ एकदिवसीय विश्वकीर्तिमानी शतक बराबरी गरेका थिए । एकदिवसीय इतिहासमा सबैभन्दा छिटो ४९औँ शतक लगाउने कोहली बनेका छन् । चालू विश्वकपमा कोहलीको यो दोस्रो शतक हो । यसअघि उनले बंगलादेशविरुद्ध पनि शतकीय इनिङ्स खेलेका थिए । 

उनले केवल दुई सय ७७ 
खेलमा सचिनको कीर्तिमान बराबरी गरेका हुन् । सचिनले ४९ शतक लगाउन चार सय ५१ इनिङ्स खेलेका थिए । एकदिवसीय खेलमा सचिन र कोहलीपछि सर्वाधिक शतक लगाउने भारतीय कप्तान रोहित शर्मा हुन् । उनले दुई सय ५१ खेलमा ३१ शतक जोडेका छन् । कोहलीले एक सय २१ बलमा एक सय एक रनमा नटआउट इनिङ्स खेले । उनले १० चौका प्रहार गरेका थिए । 

सुझावित समाचार