नेपालको स्वास्थ्य क्षेत्र सुधार्न विश्व बैंकले १३ अर्ब ८० करोड दिने

शुक्रबार, १७ कार्तिक, २०८०
डिजिटल संस्करण

 विश्व बैंकले नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि करिब १३ अर्ब ८० करोड रुपैयाँ (१०३.८४ मिलियन अमेरिकी डलर) वैदेशिक सहायता दिने भएको छ । जसमध्ये एक सय मिलियन डलर सहुलियतपूर्ण ऋण अन्तर्राष्ट्रिय विकास संगठन (आइडिए)मार्फत र ३.८४ मिलियन डलर हेल्थ इमर्जेन्सी प्रिपेडनेस एन्ड रेस्पोन्स ट्रस्टमार्फत अनुदान दिने उल्लेख छ । बिहीबार विश्व बैंक र नेपाल सरकारबीच डिजिटल रूपमा हस्ताक्षर भएको वित्तीय सम्झौता आदान–प्रदान भएको छ । डिजिटल रूपमा हस्ताक्षर भएको विश्व बैंक सहायताको पहिलो परियोजना हो ।  

नेपालको तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर र विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जर्भाेसबीच सम्झौता भएको छ । यो सम्झौतापत्र आदान–प्रदान अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंकका व्यवस्थापकीय निर्देशक अन्ना जर्दे र बैंकको दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरको सहभागितामा भएको थियो । 

यो कार्यक्रम संघीय तहमा स्वास्थ्य बिमा बोर्ड र कोसी तथा गण्डकीका स्थानीय तहको सहकार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यान्वयन गर्नेछ । ‘गुणस्तरको स्वास्थ्य सेवा मानव पुँजी विकासको आधारशिलाका रूपमा काम गर्छ । नेपाल क्वालिटी हेल्थ सिस्टम्स प्रोग्राम अपरेसनले तय गरेको बृहत् सुधार एजेन्डा उच्च गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न निर्णायक हुनेछ,’ अर्थसचिव डा. कृष्णहरि पुष्करले भने ।नेपालमा एक लचिलो र समावेशी जनस्वास्थ्य प्रणाली निर्माण गर्न सरकारसँग काम गर्न प्रतिबद्ध रहेको फारिसले बताए । उनले भने, ‘यसले उत्पादकत्व र मानव पुँजी विकासमा योगदान पु¥याउँछ, जुन दिगो आर्थिक वृद्धिका लागि आधारभूत विषय हो ।’ 

सुझावित समाचार