आइसिसी टी–२० विश्वकप एसियन छनोट
नेपालका तीव्रगतिका बलर सोमपाल कामीले ५० विकेट पूरा गरे गरेका छन् । उनले ओमानविरुद्ध दुई विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् । नेपालको तर्फबाट ५० विकेट पूरा गर्ने उनी चौथो खेलाडी बनेका छन् । यसअघि सन्दीप लामिछाने, करण केसी, अभिनाश बोहाेराले ५० विकेट पूरा गरेका थिए ।
नेपाल ओमानविरुद्ध फिल्डिङ गर्दै
आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत नेपाल अहिले ओमानविरुद्धको खेलमा फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा केहीबेर अघि नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
ओमानले अहिले ब्याटिङ गरिरहेको छ । समूह चरणका यसअघिका दुवै खेलमा दुवै टोलीले अपराजित रहँदै समान चार अंक जोडेका छन् । ओमान नेटरनरेटका आधारमा समूह ‘ए’को शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा दुवै टोली एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आजको खेलबाट समूह ‘ए’ को विजेता र उपविजेताको टुंगाे लाग्नेछ ।
नेपालले आजको खेलमा पनि अघिल्लो खेलकै खेलाडीलाई निरन्तरता दिएको छ । नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र अभिनाश बोहाेरा छन् ।