बर्दिया सदरमुकाम गुलरिया नगरपालिकाको लड्कनिया गाउँमा हालसम्म बिजुली पुग्न सकेको छैन । बिजुली नपुग्दा गुलरिया नगरपालिका– १० लड्कनियामा १६ घरधुरी अझै पनि अँध्यारोमा बस्न बाध्य छन् । खरको छाना र खरको टाटीले बारेको घर भएको सो गाउँमा आर्थिक अवस्था कमजोर भएका घरपरिवार बस्ने गर्दछन् । यो बस्ती नेपाल–भारत सीमास्तम्भबाट लगभग सय मिटरको दूरीमा छ । दिनरात देशको सिमानाको रक्षा गर्ने स्थानीयलाई तीनै तहका सरकारले बेवास्ता गरेको लड्कनियावासीको गुनासो छ ।
सदरमुकामनजिक रहेको लड्कनिया गाउँमा सामान्य आधारभूत सेवा पुग्न सकेको छैन । खानेपानी, बिजुली, सडकको राम्रो व्यवस्थापन छैन । नजिकैको गाउँमा रहेका टाठाबाठा र राजनीतिमा पहुँच भएका व्यक्तिले आफ्नो जग्गा र खेतबारीमा समेत बिजुलीको लाइन विस्तार गरेको लड्कनियाका ४१ वर्षीय बुदै गोडिया बताए । चुनावका वेला नेताहरूले भोट माग्न आउँदा बिजुली ल्याइदिने, खानेपानीको विस्तार गर्ने, सहज रूपमा मल–बिउ उपलब्ध गराउने, बाटो बनाइदिने आश्वासन दिए पनि चुनावपछि फर्केर नआउने गरेको उनको भनाइ छ । वडाध्यक्षलाई बिजुलीको पोल र तारको व्यवस्थापन गरिदिन पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको गोडियाले बताए । ‘विद्युत् कार्यालयमा गएर पोल माग गर्न आग्रह गर्दा वडाध्यक्षले आफू व्यस्त भएको बताउनुहुन्छ । त्यही भएर विद्युत् कार्यालयसम्म जान सकेको छैन,’ उनले भने ।
विद्युत्को पहुँच नहुँदा बालबालिकाको पठनपाठनमा असर परेको अर्का स्थानीय ३७ वर्षीय दयाराम गोडियाले बताए । ‘बालबालिका विद्यालयबाट आएपछि वस्तुभाउ हेर्न जान्छन्, घर फर्कंदा साँझ पर्छ । सोलारले पनि राम्रोसँग काम गर्न छाडेकाले उज्यालोमा पढ्न पाएका छैनन् । विद्युत् अभावमा बालबालिकाको पढाइमा समेत असर परेको छ,’ उनले भने ।
गुलरिया नगरपालिका– १० का वडाध्यक्ष लक्ष्मीनारायण लोधले वडा कार्यालयले पाँच लाख रकम पोल र तारका लागि बजेट विनियोजन गरेकाले चाँडै लड्कनियामा बिजुलीको लाइन विस्तार गर्ने बताए । विद्युत् प्राधिकरण वितरण केन्द्र गुलरियाका प्रमुख नारायण अर्यालले लड्कनियामा विद्युत्को लाइन विस्तारका माग गर्न कोही नआएकाले यसबारेमा कार्यालय जानकार नभएको बताए । उनले पोल, तार, ट्रान्सफार्मर र मिटर नभएका कारण कोही पनि बत्ती बाल्नबाट वञ्चित नहुने बताउँदै लड्कनियामा तिहारअघि नै सर्भे गरेर विद्युत्को लाइन विस्तार गर्ने बताए ।