सर्बियन गोलरक्षक स्टेफन कुपिज दोस्रो नेपाल सुपर लिगका लागि झापा एफसीसँग आबद्ध हुने पहिलो विदेशी खेलाडी बनेका छन् । झापाले मंगलबार सोसल मिडियाबाट कुपिजलाई अनुबन्ध गरेको जानकारी दिएको हो । सर्बियाको यू–१७, यू–१९, यू–२१, यू–२३ राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका कुपिजसँग सर्बियन सुपर लिगा, अर्मेनियन प्रिमियर लिगका साथै युरोपियन च्याम्पियन्स लिग क्वालिफायरको अनुभव छ । यसैगरी, उनले युरोपा लिग क्वालिफायरसँगै चर्चित युरोपियन लिगमा खेलेका छन् । २९ वर्षीय सर्बियन गोलरक्षक कुपिजको एसियन फुटबलमा पहिलो अनुभव हुनेछ ।
झापा एफसीसँग जोडिन पाउँदा निकै खुसी रहेको बताउँदै उनले नेपाल सुपर लिगलाई चुनौतीको रूपमा पनि लिएको बताए । ‘झापासँग जोडिन पाउँदा निकै खुसी छु, यो मेरो लागि नयाँ चुनौती हुनेछ,’ कुपिजले भने, ‘एसियाली फुटबलमा यो मेरो पहिलो यात्रा हो । अन्य युरोपियन खेलाडीहरू पनि आउने सुनेको छु ।’ उनले नेपाली फुटबलका लागि यस वर्ष महŒवपूर्ण हुने उनले बताए । ‘यो वर्ष नेपालको फुटबललाई महत्वपूर्ण रूपमा लिएको छु, नेपाल सुपर लिगको बाहनामा यहाँ युरोपियन खेलाडी आउने सम्भावना छ,’ उनले भने, ‘म आफू आबद्ध टोलीलाई च्याम्पियन बनाउन क्षमताले भ्याएसम्म सबै कुरामा योगदान गर्नेछु ।’
झापामा थप युरोपियन खेलाडी आउने
झापाले युरोपियन फुटबलमा लामो समय खेलेर अनुभव बटुलिसकेका खेलाडीलाई अनुबन्ध गर्न पाउँदा खुसी लागेको बताएको छ । ‘युरोपको लिग खेलेका खेलाडीलाई हामीले अनुबन्ध गरेका छौँ, यसले छुट्टै ऊर्जा मिल्ने आशा लिएका छौँ, उनको अनुभव टिमका लागि महत्वपूर्ण हुनेछ,’ झापाका प्रवक्ता तथा महासचिव सुजन गौतमले बताए, ‘हामी नेपाली फुटबलको स्तर उकास्न हरसम्भव प्रयास गरिरहेका छौँ, स्टेफनको आगमनले टिम बलियो भएको छ ।’ सुजनका अनुसार कुपिजसँगै थुप्रै युरोपियन खेलाडी नेपाल आउन सक्नेछन् । ‘अनुभवी खेलाडीहरू नेपाल आउँदा नेपाली फुटबलको उचाइ पक्कै बढ्नेछ,’ उनले भने ।
क्लबका अध्यक्ष अर्पणविक्रम खड्काले झापालाई उपाधि दाबेदारका रूपमा अगाडि राख्न नै अनुभवी खेलाडी अनुबन्ध गरेको बताए । यस क्लबले मुख्य प्रशिक्षकका रूपमा स्पेनिस ओरिओल मोहेडानो सेगुरालाई नियुक्त गरिसकेको छ । झापा दोस्रो नेपाल सुपर लिगका लागि थपिएको तीन नयाँ टोलीमध्ये एक हो । लिग ८ मंसिरदेखि काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदै छ ।