स्थानीय संस्कृति, भाषा र संस्कारको सम्मान गर्नुस् । समुदायअनुसार फरक–फरक धर्म, संस्कृति हुन्छन् । हामीले उनीहरूको सम्मान गर्नुपर्ने हुन्छ । स्थानीयसँग सम्बन्ध राम्रो नभए यात्रा फिक्का हुन सक्छ ।
यात्राका क्रममा कहिलेकाहीँ स्वास्थ्य समस्या पनि देखिन्छ । यात्रालाई एकै दिन असीमित बनाउन खोज्ने अर्थात् सकेसम्म यात्रालाई छिटो सकाउने हतारोमा कतिपय मानिस रहन्छन् । यो राम्रो होइन । यात्रालाई छिटो सकाउने हतारो गर्नुभन्दा पनि दृश्यावलोकनको मज्जा लिँदै बिस्तारै हिँड्नुपर्छ । मन परेका ठाउँमा उभिएर तस्बिर कैद गर्न नबिर्सनुस् । ती तस्बिरले यात्रापछि पनि तपाईंलाई यात्राको सम्झना गराइरहन्छन् ।
पहिलो दिनमै अति धेरै हिँड्दा भोलिपल्टै थाक्ने हुन्छ । दुई हजार मिटरभन्दा कम उचाइमा बसेका मानिसहरू एकै दिनमा तीन–चार हजार मिटर उचाइमा पुग्न खोज्छन्, जसकारण वातावरणमा घुलमिल हुन नसकेर बिरामी पनि पर्छन् । भौगोलिक अवस्था र वातावरणले गर्दा पनि थकान र स्वास्थ्य समस्या देखिन्छ । त्यही कारण यात्रामा हतारो गर्नुहुँदैन । एक दिनमा एक हजार मिटरको उचाइ पार नगर्ने भन्ने नियम नै छ । १३ समय मिटरको उचाइमा बसेको मान्छे एकै दिनमा २५ सय मिटरको उचाइमा जानुहुँदैन । दिनको अधिकतम एक हजार मिटर उचाइ पार गर्ने तरिकाले यात्राको योजना बनाउनुपर्छ । जसले गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्दैन ।
कतिपय ग्रामीण क्षेत्रमा इन्टरनेटको सुविधा नहुन सक्छ । मोबाइल नेटवर्क पनि नटिप्न सक्छ । बत्तीको पहुँच पनि नहुन सक्छ । डिभाइसहरू चार्ज गर्न सकिँदैन । यात्रा गर्ने ठाउँको जानकारी लिन असहज हुन सक्छ । त्यसैले डाटा केबल, टर्च, पावर बैंकलगायत उपकरण यात्रामा हिँड्दा आफूसँग बोक्नुपर्छ ।
मौसमअनुसार झोलामा डाउन ज्याकेट, पन्जा, प्राथमिक उपचारका सामग्रीलगायत बोक्नुपर्छ ।
खानेकुरा
ग्रामीण क्षेत्रमा विशेष गरी लामो ट्रेकमा जाँदा भनेकै ठाउँमा होटेल उपलब्ध नहुन सक्छ । तसर्थ, तपाईंले आफ्नो झोलामा केही खानेकुरा बोक्नु राम्रो हुन्छ । इनर्जी दिने चकलेट, कुकिज, काजु, बदामलगायत ड्राई फ्रुट झोलामा बोक्नु राम्रो हुन्छ ।
ब्रेकफास्टमा लामो समयसम्म अडिलो हुने खाजा लिनुपर्छ । किनकि, दिउँसोको खान खाने ठाउँ निश्चित नहुन सक्छ । दुई–चार घन्टा छिटो पनि हुन सक्छ, ढिलो पनि हुन सक्छ । डिनरमा झोलिलो खानेकुरा खानुपर्छ । त्यसले पानीको मात्रा पुर्याउन पनि सहयोग पुग्छ ।