संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन्। महासचिव गुटेरेज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि हेलिकाेप्टरमार्फत लुम्बिनी आइपुगेका हुन्।
मंगलबार बिहान लुम्बिनी आइपुगेका महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति पर्यटनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री दानबहादुर चौधरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामालगायतको टोलीले स्वागत गरेकाे थियाे।
हेलिप्याडदेखि ४ नम्बर गेट हुँदै शान्तिदीप पुगेका गुटेरेसलाई लुम्बिनी होटेल संघका पदाधिकारीहरू, स्थानीय आमा समूहहरू, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर, उपमेयरलगायत जनप्रतिनिधिहरूको टोलीले स्वागत गरेकाे थियाे।
गुटेरेसले लुम्बिनीमा एक घन्टा ३० मिनेट बिताउनेछन्। महासचिव गुटेरेसले मायादेवी मन्दिरमा फूल र खादा चढाउने कार्यक्रम छ। त्यसपछि पत्रकारहरूसमक्ष विश्वशान्तिको कामनासँगै आफ्नाे भ्रमणको औपचारिक सन्देश दिने कार्यक्रम छ।
गुटेरेसको सुरक्षालाई मध्यनजर गर्दै लुम्बिनी विकास कोषले चार र पाँच नम्बर गेटदेखि भित्र प्रवेश गर्न, मायादेवी मन्दिर, कपाल मुण्डन क्षेत्र र शान्तिदीपवरपर बिहान ६ बजेदेखि ११ बजेसम्म सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ।