सगरमाथा क्षेत्रबाट विश्व समुदायलाई राष्ट्रसंघका महासचिव गुटेरेसको आह्वान
विश्वलाई सन्देश दिन नेपालमा छु । जलवायु परिवर्तनका सन्दर्भमा दुई चरणको खतरनाक अध्यायबाट दुःखद घटना हुन लागेको छ । पहिलो चरण हिमनदी र बरफ पग्लने कथा हो । उल्लेख्य तापमान भनेको उल्लेख्य ग्लेसियर पग्लनु हो । नेपालले ३० वर्षको अवधिमा झन्डै एकतिहाइ बरफ (हिउँ) गुमाएको छ । अन्टार्कटिका र ग्रिनल्यान्डले हरेक वर्ष अर्बौँ टन बरफ गुमाइरहेका छन् । बरफहरू पग्लिनुको अर्थ सुगन्धित तालहरू र नदीहरूमा बाढी आउनु, सम्पूर्ण समुदायलाई बगाउनु हो । विश्वभर तटीय समुदायलाई खतरामा पार्ने गरी तीव्र रूपमा समुद्र बढेर गएका छन् । संकटले गति लिइरहेको छ । यसको मतलब यो त्रासदीको दोस्रो चरण अझ ठूलो हुन्छ– हिमनदीहरू पूर्ण रूपमा हराउनेछन् । हिमतालहरू बरफका जलाशय हुन् । यहाँ हिमालयमा रहेका जलाशयले एक अर्बभन्दा बढी मानिसलाई ताजा पानी आपूर्ति गर्छन् । जब तिनीहरू संकुचित हुन्छन्, त्यसरी नै नदीहरू बग्दछन् । भविष्यमा सिन्धु, गंगा र ब्रह्मपुत्रजस्ता प्रमुख हिमाली नदीको बहावमा ठूलो मात्रामा कमी आउन सक्छ । तल्लो तटीय देश र समुदायहरू सदाका लागि मेटाइँदै छ । पानी र जमिनका लागि लाखौँ मानिस भयंकर प्रतिस्पर्धाको चालमा छन् । र, विश्वव्यापी रूपमा बाढी, खडेरी र पहिरोको गति बढ्दै गएको छ । म आज संसारको छानाबाट कराउन यहाँ आएको छु । पागलपन रोक्नुहोस् । हामीले जीवाश्म इन्धन युगको अन्त्य गर्नुपर्छ । हामीले अग्रपंक्तिमा रहेका मानिसलाई जोगाउन अब प्रयास गर्नुपर्छ । सबैभन्दा खराब जलवायु परिवर्तनको अराजकताबाट बच्न विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्न प्रयास गरिहाल्नुपर्छ । संसारले पर्खन सक्दैन ।
- महासचिव गुटेरेस पोखरामा, आज अन्नपूर्ण आधार शिविर जाँदै
- आजै लुम्बिनीबाट विश्वशान्तिको सन्देश दिने, प्रधानमन्त्रीले स्वागत गर्ने
- काठमाडौं फर्किएर आजै संघीय संसद्को संयुक्त सभालाई सम्बोधन गर्ने
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वको शिखर सगरमाथा क्षेत्रबाट जलवायु परिवर्तनको भयावह असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । नेपालको चारदिने औपचारिक भ्रमणमा आइतबार काठमाडौं आएका महासचिव गुटेरेसले हिमनदी पूर्ण रूपमा हराउने खतराबाट विश्वलाई जोगाउन नसकिए संसारले नपर्खिने र भयावह स्थितिको सामना गर्नुपर्नेतर्फ विश्व समुदायलाई सचेत गराएका हुन् । सगरमाथा क्षेत्रबाट सन्देश जारी गर्ने उनी पहिलो संयुक्त राष्ट्रसंघीय महासचिव हुन् ।
सोमबार बिहान सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ का स्थानीयसँग छलफलपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस । तस्बिर : रासस
आइतबार विश्वशान्तिका लागि आह्वान गरेका महासचिव गुटेरेसले सोमबार हिमाल, हिउँ र हिमनदी बचाउन जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न विश्व समुदायमा आह्वान गरेका हुन् । ‘विश्वलाई सन्देश दिन नेपालमा छु,’ सगरमाथाको स्याङ्बोचे क्षेत्र पुगेका गुटेरेसले त्यहीँबाट जारी गरेको दुई मिनेट पाँच सेकेन्ड लामो भिडियो सन्देशमा उल्लेख छ ।
समुद्री सतहबाट १३ हजार फिट उचाइबाट महासचिव गुटेरेसले सन्देश जारी गरेका हुन् । ‘संसारका छानाहरू गुफाभित्र छन्,’ उनले हिउँ रित्तिँदै गरेका हिमाललाई लक्षित गर्दै भने । आगामी १४ देखि २६ मंसिरमा दुबईमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनको पूर्वसन्ध्यामा महासचिव गुटेरेसले सन्देश जारी गरेका छन् । युनेस्कोको विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जमा रहेको होटेल एभरेस्ट भ्युमा उनले स्थानीयसँग पनि अन्तरक्रिया गरेका थिए ।
उनले जलवायु परिवर्तनका सन्दर्भमा दुई चरणको खतरनाक अध्यायबाट दुःखद घटना हुन लागेको भन्दै सबैलाई सचेत गराएका छन् । ‘पहिलो चरण हिमनदी र बरफ पग्लने कथा हो । उल्लेख्य तापमान भनेको उल्लेख्य ग्लेसियर पग्लनु हो,’ उनले भनेका छन्, ‘नेपालले ३० वर्षको अवधिमा झन्डै एकतिहाइ बरफ (हिउँ) गुमाएको छ । अन्टार्कटिका र ग्रिनल्यान्डले हरेक वर्ष अर्बौँ टन बरफ गुमाइरहेका छन् । बरफहरू पग्लिनुको अर्थ सुगन्धित तालहरू र नदीहरूमा बाढी आउनु, सम्पूर्ण समुदायलाई बगाउनु हो । विश्वभर तटीय समुदायलाई खतरामा पार्ने गरी तीव्र रूपमा समुद्र बढेर गएका छन् । संकटले गति लिइरहेको छ ।’
महासचिव गुटेरेसले नेपालको हिमनदी अघिल्लो दशकको तुलनामा ६५ प्रतिशत छिटो पग्लिएको तथ्यांक प्रस्तुत गरे । ‘यसको मतलब यो त्रासदीको दोस्रो चरण अझ ठूलो हुन्छ– हिमनदीहरू पूर्ण रूपमा हराउनेछन्,’ उनले भनेका छन्, ‘हिमतालहरू बरफका जलाशय हुन् । यहाँ हिमालयमा रहेका जलाशयले एक अर्बभन्दा बढी मानिसलाई ताजा पानी आपूर्ति गर्छन् । जब तिनीहरू संकुचित हुन्छन्, त्यसरी नै नदीहरू बग्दछन् । भविष्यमा, सिन्धु, गंगा र ब्रह्मपुत्रजस्ता प्रमुख हिमाली नदीको बहावमा ठूलो मात्रामा कमी आउन सक्छ ।’
अहिलेको परिस्थितिले विपत्तिको मन्त्रणा गरेको पनि उनले बताए । ‘तल्लो तटीय देश र समुदायहरू सदाका लागि मेटाइँदै छ । पानी र जमिनका लागि लाखौँ मानिस भयंकर प्रतिस्पर्धाको चालमा छन् । र, विश्वव्यापी रूपमा बाढी, खडेरी र पहिरोको गति बढ्दै गएको छ,’ गुटेरेसले भने, ‘म आज संसारको छानाबाट कराउन यहाँ आएको छु । पागलपन रोक्नुहोस् ।’
महासचिव गुटेरेसले हिमनदी हराउँदै गरेकोतर्फ पटक–पटक सचेत गराए । ‘हामीले जीवाश्म इन्धन युगको अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘हामीले अग्रपंक्तिमा रहेका मानिसलाई जोगाउन अब प्रयास गर्नुपर्छ । सबैभन्दा खराब जलवायु परिवर्तनको अराजकताबाट बच्न विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्न प्रयास गरिहाल्नुपर्छ । संसारले पर्खन सक्दैन ।’
महासचिव गुटेरेससँगै परराष्ट्रसचिव भरतराज पौड्याल, राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा, परराष्ट्रको संयुक्त राष्ट्रसंघ हेर्ने महाशाखा प्रमुख सेवा लम्साल तथा राष्ट्रसंघका नेपालस्थित उच्च अधिकारी सगरमाथा क्षेत्र पुगेका थिए । उनी बिहानै नेपाली सेनाको हेलिकोप्टरमा सगरमाथा क्षेत्र गएका थिए ।
महासचिव गुटेरेसले सगरमाथा क्षेत्रबाट फर्केपछि नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालय पुल्चोक पुगेका थिए । उनले नेपालमा कार्यरत राष्ट्रसंघीय अधिकारी तथा अवकाशप्राप्त उच्च अधिकारीसँग सामूहिक भेट गरेका थिए ।
महासचिवको सन्देशले नेपाललाई थप बल मिलेको छ : मञ्जित ढकाल, जलवायु परिवर्तन न्यूनीकरण विज्ञ
आसन्न कोप–२८ का वेला उहाँले बढी कार्बन उत्सर्जन गर्ने शक्तिराष्ट्रलाई ‘कार्बन घटाऊ, हिउँ बचाऔँ’ भन्नुभएको छ । जलवायु परिवर्तन न्यूनीकरणका सवालमा अतिकम विकसित राष्ट्रको समन्वय समितिको नेतृत्व गरिरहेको देश नेपालमा आएर संयुक्त राष्ट्रसंघका महासचिवले जुन सन्देश दिनुभएको छ, यसले हामीलाई अझ बल मिलेको छ ।
जलवायु परिवर्तनको सबैभन्दा बढी असर हिमाली क्षेत्रमा परेको छ । उच्च तापक्रम वृद्धि भएर हिउँ पग्लिँदा नेपालमा बाढीपहिरोका घटना बढेका छन् । यसले कृषिमा ठूलो असर पारेको छ ।
विश्वका १० अग्लामध्ये आठ हिमाल नेपालमा छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा बढी परेको अध्ययनहरूले पनि देखाइसकेको छ । अन्तर्राष्ट्रियस्तरमा जलवायु परिवर्तन न्यूनीकरणका नीति बनाउनेमा हामी अगाडि छौँ । कार्बन उत्सर्जन नगन्य भए पनि विद्युतीय गाडीलाई प्रवद्र्धन गरिरहेका छौँ । सन् २०४५ मा नेट जिरोमा जाने प्रतिबद्धता जनाइसकेका छौँ ।
महासचिव गुटेरेस पोखरामा, आज अन्नपूर्ण आधार शिविर जाँदै
चारदिने नेपाल भ्रमणका लागि आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस सोमबार पोखरा आएका छन् । उनी मंगलबार बिहान अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ ।
महासचिव गुटेरेसले पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोट पुगेर अवलोकन गरे । करिब आधा घन्टा पुम्दीकोटमा बिताएका उनले महादेवको विशाल मूर्तिसँगै यहाँबाट देखिने हिमाली दृश्यावलोकन गरे भने फेवातालसहित पोखराको अवलोकन गरेका थिए । साथै, महासचिव गुटेरेसले फेवातालमा नौका विहार गरेका छन् ।
नेपाली सेनाको जहाजबाट आएका उनलाई पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र जिल्लास्थित सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाहिर महासचिव गुटेरेसलाई पञ्चेबाजा र विभिन्न सांस्कृतिक झाँकीसहित स्वागत गरिएको थियो । विमानस्थलबाट उनी सीधै फिस्टेल लज पुगेका थिए । उनी त्यहीँ बसेका छन् । फिस्टेल लजदेखि तालबाराही मन्दिरसम्म पुगेर उनले दृश्यावलोकनसँगै ताल र हिमालबारे जानकारी लिएका थिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार मंगलबार बिहान गुटेरेस नेपाली सेनाको हेलिकोप्टरबाट ४,१३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर जानेछन् । उनले आधार शिविरमा करिब ३० मिनेट समय बिताउनेछन् । महासचिव गुटेरेसले त्यहाँ स्थानीय बासिन्दासँग जलवायु परिवर्तन र त्यसका असरबारे कुराकानी गर्नेछन् ।
आधार शिविरबाट पोखरा फर्केर उनी बिहानै लुम्बिनी जाने कार्यक्रम छ । त्यसपछि महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी बुधबार कतारको दोहा भएर लन्डन हुँदै न्युयोर्क फर्किने कार्यक्रम छ ।
महासचिवका रूपमा पहिलोपटक आए पनि गुटेरेस यसअघि पनि नेपाल आएका थिए । उनको यो दोस्रो भ्रमण हो । उनी यसअघि सन १९७८ मा पोखरा आएका थिए ।
उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका थिए । उनले पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए । आइतबार साँझ उनको सम्मानमा प्रधानमन्त्री प्रचण्डले रात्रिभोज आयोजना गरेका थिए ।
लुम्बिनीबाट विश्वशान्तिको सन्देश दिने, प्रधानमन्त्रीले स्वागत गर्ने
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउँदै छन् । महासचिव गुटेरेसलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वागत गर्दै छन् । उनको भ्रमणका लागि सुरक्षालगायत सबै तयारी पूरा भएको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ ।
उनी मंगलबार बिहान पोखराबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि त्यहाँबाट हेलिकोप्टरमा लुम्बिनी पुग्नेछन् । महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहानै भैरहवा आउने कार्यक्रम छ । उनी पनि विमानस्थलबाट हेलिकोप्टरमा लुम्बिनी पुग्ने कार्यक्रम रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
महासचिवको भ्रमण अवधिभरका लागि सबै सुरक्षा निकाय परिचालन गरिएको छ । बिहान साढे ८ बजे लुम्बिनी पुग्ने महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्ड, पर्यटनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री दानबहादुर चौधरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्ह्यारक्याल लामालगायतको टोलीले स्वागत गर्नेछन् ।
हेलिप्याडदेखि शान्तिदीपसम्म महासचिव गुटेरेसलाई गाडीमा लगिनेछ, जहाँ उनलाई लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीसहितका पदाधिकारी, स्थानीय आमा समूहहरू, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर, उपमेयरलगायतले स्वागत गर्नेछन् । शान्तिदीपदेखि मायादेवी मन्दिरसम्म उनलाई बौद्ध लामाहरूले स्वागत गर्नेछन् ।
उनी शान्तिदीपदेखि मायादेवी मन्दिरसम्मको करिब ६ सय मिटर पैदल जानेछन् । त्यसक्रममा पुरातत्वविद् वसन्त बिडारी र हरि राईले लुम्बिनीको पुरातात्विक महत्वका विषयमा जानकारी गराउनेछन् । मायादेवी मन्दिर परिसरमा उनलाई ज्ञानिन राईले थप जानकारी दिनेछन् ।
महासचिव गुटेरेसले मायादेवी मन्दिरमा फूल र खादा चढाउनेछन् । त्यसपछि उनले विश्वशान्तिका लागि सन्देश जारी गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्ह्यारक्याल लामा (खेन्पो छिमे)जानकारी दिए ।
उपाध्यक्ष लामाले महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनीबाट विश्वशान्तिको सन्देश दिने बताए । यसअघि सन् २००८ संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुनले लुम्बिनी भ्रमण गरेका थिए ।
गुटेरेसले आज संसदमा सम्बोधन गर्ने, तयारी पूरा
गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सभालाई सम्बोधन गर्ने कार्यतालिका पनि छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले महासचिव गुटेरेसको सम्बोधनको सूचना सुनाएका थिए ।
सूचनाअनुसार उनले अपराह्न ४ बजे संयुक्त सभालाई सम्बोधन गर्नेछन् । सांसदहरूलाई औपचारिक पोसाकमा सम्बोधनको १५ मिनेटअगाडि सदनमा उपस्थित हुन भनिएको छ । उनी बुधबार कतारको दोहा भएर लन्डन हुँदै न्युयोर्क फर्किने कार्यक्रम छ ।