चारदिने भ्रमणका लागि नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पोखरा आइपुगेका छन्। नेपाली सेनाको विमानमार्फत उनी पोखरा आएका हुन्।
गुटेरेसलाई पोखराको पुरानो विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरू, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए।
विमानस्थल भवनबाहिर उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो। उनको स्वागतका लागि विभिन्न संघसंस्था, आमा समूहलगायत विमानस्थल पुगेका थिए।
विमानस्थलबाट उनी सीधै फिस्टेल लज पुगेका थिए। सोमबार उनी सोही लजमा बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।
प्रजिअ घिमिरेका अनुसार मंगलबार बिहान ६ः३० बजे गुटेरेस नेपाली सेनाको हेलिकाेप्टरमार्फत चार हजार एक सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर जानेछन्। आधार शिविरमा करिब ३० मिनेट समय बिताउने गुटेरेसले त्यहाँका स्थानीयसँग जलवायु परिवर्तन र त्यसका असरका सम्बन्धमा कुराकानी गर्नेछन्।
आधार शिविरबाट उनी लजमा आउने र पोखराको पुरानो विमानस्थलमा पत्रकारहरूसँग कुरा गरी लुम्बिनी जाने कार्यक्रम रहेको छ।